सीधै सामग्रीमा जाने

आफूलाई प्रेम गर्नेबारे बाइबल के भन्छ?

आफूलाई प्रेम गर्नेबारे बाइबल के भन्छ?

बाइबलको जवाफ

 आफूलाई प्रेम गर्नु उचित हो अनि त्यसो गर्नु आवश्‍यक पनि छ तर यस सन्दर्भमा सन्तुलित हुनुपर्छ भनेर बाइबल भन्छ। आफूलाई प्रेम गर्नुमा आफ्नो ख्याल राख्नु, आफूलाई आदर गर्नु र आत्मसम्मान हुनु समावेश छ। (मत्ती १०:३१) बाइबलले स्वार्थी भावनालाई बढावा दिँदैन बरु आफूलाई प्रेम गर्ने सन्दर्भमा सन्तुलित हुनुपर्छ भनेर सिकाउँछ।

हामीले सबैभन्दा पहिला कसलाई प्रेम गर्नुपर्छ?

  1.  १.सबैभन्दा पहिला हामीले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ। बाइबलले बताएअनुसार सबैभन्दा महत्त्वपूर्ण आज्ञा यो हो: “तिमीले यहोवा तिम्रा परमेश्‍वरलाई आफ्नो सारा मनले . . . प्रेम गर्नू।”—मर्कूस १२:२८-३०; व्यवस्था ६:५.

  2.  २.दोस्रो महत्त्वपूर्ण आज्ञा भनेको यो हो: “तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।”—मर्कूस १२:३१; लेवी १९:१८.

  3.  ३.बाइबलमा आफूलाई प्रेम गर्ने सन्दर्भमा तोकेरै नियम दिइएको छैन। तर “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू” भन्‍ने आज्ञाले सन्तुलित हुँदै आफूलाई प्रेम र आदर गर्नु स्वाभाविक हो र त्यसो गर्नु फाइदाजनक छ भनेर देखाउँछ।

येशूले सबैभन्दा पहिला कसलाई प्रेम गर्नुभयो?

 परमेश्‍वरलाई प्रेम गर्ने, छिमेकीलाई प्रेम गर्ने र आफूलाई प्रेम गर्ने सन्दर्भमा कसरी सन्तुलित हुन सकिन्छ भनेर येशूले देखाउनुभयो। अनि आफ्ना चेलाहरूलाई पनि आफ्नो उदाहरण पछ्याउनू भन्‍नुभयो।—यूहन्‍ना १३:३४, ३५.

  1.  १.उहाँले सबैभन्दा पहिला यहोवा परमेश्‍वरलाई प्रेम गर्नुभयो र उहाँकै काम पूरा गर्नतर्फ लाग्नुभयो। उहाँले यसो भन्‍नुभयो: “बुबाले मलाई दिनुभएको आज्ञा म पालन गर्दैछु, ताकि बुबालाई म प्रेम गर्छु भनी संसारले जानोस्‌।”—यूहन्‍ना १४:३१.

  2.  २.येशूले छिमेकीलाई प्रेम गर्नुभयो। उहाँले अरूको आवश्‍यकताको ख्याल राख्नुभयो र अरूको लागि आफ्नो ज्यान दिनसमेत पछि हट्‌नुभएन।—मत्ती २०:२८.

  3.  ३.आफूलाई प्रेम गर्ने सन्दर्भमा येशू सन्तुलित हुनुहुन्थ्यो। उहाँले आराम गर्न, खाना खान अनि आफ्ना चेलाहरू र सम्भाव्य चेलाहरूसँग रमाइलो गर्न समय निकाल्नुभयो।—मर्कूस ६:३१, ३२; लूका ५:२९; यूहन्‍ना २:१, २; १२:२.

आफूलाई भन्दा अरूलाई प्रेम गऱ्‍यौँ भने के हाम्रो आनन्द वा आत्मसम्मान कम हुन्छ?

 हुँदैन, किनभने हामी परमेश्‍वरको स्वरूपमा सृष्टि गरिएका हौँ र उहाँको प्रमुख गुण भनेको निःस्वार्थ प्रेम हो। (उत्पत्ति १:२७; १ यूहन्‍ना ४:८) यसको मतलब हामी अरूलाई प्रेम गर्न सक्ने किसिमले बनाइएका हौँ। हुनत आफूलाई पनि प्रेम गर्नु आवश्‍यक छ। तर सबैभन्दा पहिला परमेश्‍वरलाई प्रेम गऱ्‍यौँ र अरूको लागि राम्रो काम गर्नमा ध्यान दियौँ भने हामी सबैभन्दा खुसी हुन्छौँ। किनकि बाइबल यसो भन्छ: “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।”—प्रेषित २०:३५.

 आज थुप्रै मानिसहरू पहिला आफूलाई प्रेम गऱ्‍यो भने खुसी हुन सकिन्छ भनेर दाबी गर्छन्‌। तिनीहरूको लागि छिमेकीलाई प्रेम गर्नुभन्दा आफूलाई प्रेम गर्नु महत्त्वपूर्ण भएको छ। त्यसको विपरीत “हरेकले आफ्नो होइन तर अर्को मानिसको फाइदा खोज्ने गरोस्‌” भन्‍ने बाइबलको सल्लाह लागू गर्दा अझ स्वस्थ र आनन्दित भएको कुरा अहिलेका मानिसहरूले अनुभव गरेका छन्‌।—१ कोरिन्थी १०:२४.