सीधै सामग्रीमा जाने

के परमेश्‍वरको राज्य तपाईँको हृदयमा हुने कुरा हो?

के परमेश्‍वरको राज्य तपाईँको हृदयमा हुने कुरा हो?

बाइबलको जवाफ

 होइन, परमेश्‍वरको राज्य ख्रिष्टियनहरूको हृदयको अवस्था मात्र होइन। a बाइबलमा यस राज्यलाई “स्वर्गको राज्य” भनिएको छ। (मत्ति ४:१७) त्यसैले वास्तवमा यो राज्य स्वर्गमा अवस्थित छ। यो एउटा वास्तविक सरकार हो र अहिले स्वर्गबाट शासन गर्दै छ भनेर बाइबलले कसरी देखाउँछ, विचार गरौँ।

  •   परमेश्‍वरको राज्यमा राजा, प्रजा र नियम-कानुन छन्‌, जसमार्फत परमेश्‍वरले स्वर्ग र पृथ्वीमा आफ्नो इच्छा पूरा गर्न सक्नुहुन्छ।—मत्ति ६:१०; प्रकाश ५:१०.

  •   परमेश्‍वरको सरकार वा राज्यले “सबै राष्ट्रका र सबै भाषाका मानिसहरू”-माथि शासन गर्नेछ। (दानिएल ७:१३, १४) यस राज्यले शासन गर्ने अख्तियार आफ्नो प्रजाबाट नभई स्वयम्‌ परमेश्‍वरबाट पाएको छ।—भजन २:४-६; यसैया ९:७.

  •   येसुले आफ्ना वफादार प्रेषितहरूलाई उनीहरूले “सिंहासनहरूमा” बसेर स्वर्गको राज्यमा आफूसँगै शासन गर्नेछन्‌ भनेर बताउनुभयो।—लुका २२:२८, ३०.

  •   यस राज्यका शत्रुहरू पनि छन्‌ र यसले ती शत्रुहरूलाई नाश गर्नेछ।—भजन २:१, २, ८, ९; ११०:१, २; १ कोरिन्थी १५:२५, २६.

 बाइबलले स्वर्गको राज्य हाम्रो हृदयमा छ र यसले हाम्रो हृदयको माध्यमद्वारा हामीमाथि शासन गर्छ भनेर सिकाउँदैन। बरु “राज्यको वचन” अर्थात्‌ ‘राज्यको सुसमाचारले’ हाम्रो हृदयमा प्रभाव पार्न सक्छ भनेर चाहिँ बाइबलले सिकाउँछ।—मत्ति १३:१९; २४:१४.

“परमेश्‍वरको राज्य तिमी भित्रै छ” भन्‍नुको अर्थ के हो?

 केही बाइबल अनुवादमा लुका १७:२१ लाई जुन तरिकामा अनुवाद गरिएको छ, त्यसले गर्दा परमेश्‍वरको राज्य वास्तवमा कहाँ छ भन्‍ने कुरामा केही मानिस अलमलमा परेका छन्‌। उदाहरणको लागि, नेपाली भाषाको पढ्‌न सजिलो संस्करण बाइबलमा यस्तो लेखिएको छ: “परमेश्‍वरको राज्य तिमी भित्रै छ।” यस पदलाई सही तरिकामा बुझ्न हामीले यसको प्रसङ्‌ग केलाउनुपर्छ।

परमेश्‍वरको राज्य येसुको विरोध र हत्या गर्ने ती हठी धर्मगुरुहरूको हृदयमा थिएन

 त्यतिबेला येसु फरिसी भनिने धर्मगुरुहरूको एउटा समूहसित कुरा गर्दै हुनुहुन्थ्यो, जसले उहाँको विरोध गर्थे र उहाँलाई मृत्युदण्ड दिने षड्यन्त्र रचे। (मत्ति १२:१४; लुका १७:२०) त्यसोभए येसुले परमेश्‍वरको राज्य ती हठी धर्मगुरुहरूको हृदयको अवस्था हो भन्‍नु तर्कसङ्‌गत छ र? उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “भित्र भने तिमीहरू कपट र कुकर्मले भरिएका छौ।”—मत्ति २३:२७, २८.

 अन्य अनुवादहरूमा लुका १७:२१ मा येसुले भन्‍नुभएको कुरालाई सही र स्पष्ट रूपमा अनुवाद गरिएको छ। जस्तै: “परमेश्‍वरको राज्य तिमीहरूकै बीचमा छ।” (छड्‌के अक्षर हाम्रो; नयाँ संशोधित संस्करण) “परमेश्‍वरको राज्य तिमीहरूकै माझमा छ।” ( नयाँ संसार अनुवाद) परमेश्‍वरले आफ्नो राज्यको राजाको रूपमा रोज्नुभएको व्यक्‍ति येसु त्यतिबेला ती फरिसीहरूकै अगाडि उभिरहनुभएको थियो। यस अर्थमा स्वर्गको राज्य तिनीहरूकै “बीचमा” वा “माझमा” थियो।—लुका १:३२, ३३.

a थुप्रै ख्रिष्टियन सम्प्रदायले परमेश्‍वरको राज्य मानिसभित्र अथवा कसैको हृदयभित्र हुन्छ भनेर सिकाउँछ। उदाहरणको लागि, अमेरिकाको सदर्न ब्याप्टिस्ट कन्भेन्सन भनिने ख्रिष्टियन सम्प्रदायले परमेश्‍वरको राज्यले केही हदसम्म “एक-एक जना मानिसको हृदय र जीवनमा परमेश्‍वरले गर्नुहुने शासन”-लाई बुझाउँछ भनेर घोषणा गऱ्‍यो। त्यसैगरि पोप बेनेडिक्ट सोह्रौँले नासरतका येसु (अङ्‌ग्रेजी) विषयको आफ्नो किताबमा “जब कसैले परमेश्‍वरको आज्ञा पालन गर्छ, तब परमेश्‍वरको राज्य आउँछ” भनेर लेखे।