येसुले कसरी मानिसहरूको उद्धार गर्नुहुन्छ?
बाइबलको जवाफ
येसुले फिरौतीको बलिदानको रूपमा आफ्नो जीवन अर्पण गरेर वफादार मानिसहरूको लागि उद्धार पाउने बाटो खोलिदिनुभयो। (मत्ती २०:२८) त्यसैले बाइबलमा उहाँलाई “संसारको उद्धारक” भनिएको छ। (१ यूहन्ना ४:१४) उहाँबारे यसो पनि भनिएको छ: “उहाँबाहेक अरू कसैद्वारा उद्धार हुन सक्दैन, किनकि स्वर्गमुनि मानिसहरूमध्ये कसैलाई अर्को कुनै नाम दिइएको छैन, जुन नाम लिएर हामीले उद्धार पाउन सक्छौँ।”—प्रेषित ४:१२.
येसुले उहाँमाथि विश्वास गर्ने “हरेक मानिसको लागि मृत्यु चाख्नुभयो।” (हिब्रू २:९; यूहन्ना ३:१६) त्यसपछि “परमेश्वरले उहाँलाई मृत्युबाट ब्यूँताउनुभयो” र उहाँ अदृश्य व्यक्तिको रूपमा स्वर्ग फर्कनुभयो। (प्रेषित ३:१५) येसु अहिले स्वर्गमा हुनुहुन्छ र “उहाँमार्फत परमेश्वरको नजिक आउनेहरूलाई उहाँले पूरै उद्धार गर्न सक्नुहुन्छ किनभने उनीहरूको निम्ति बिन्ती गर्न उहाँ सधैँ जीवित हुनुहुन्छ।”—हिब्रू ७:२५.
येसुले हाम्रो निम्ति बिन्ती गर्नु किन जरुरी छ?
हामी सबै पापी छौँ। (रोमी ३:२३) पापले परमेश्वर र हामीबीच एउटा पर्खाल खडा गर्छ र हामीलाई मृत्युमा पुऱ्याउँछ। (रोमी ६:२३) तर येसुको फिरौतीको बलिदानमाथि विश्वास गर्नेहरूको लागि उहाँ “मदतगार” हुनुहुन्छ अर्थात् उहाँले तिनीहरूको पक्षमा बोलिदिनुहुन्छ। (१ यूहन्ना २:१) येसुले मानिसहरूको तर्फबाट परमेश्वरलाई बिन्ती गर्नुहुन्छ; उहाँले परमेश्वरलाई तिनीहरूको प्रार्थना सुनिदिन अनि आफ्नो बलिदानको आधारमा तिनीहरूको पापको क्षमा दिन बिन्ती गर्नुहुन्छ। (मत्ती १:२१; रोमी ८:३४) येसुले चढाउनुभएका त्यस्ता बिन्तीहरू परमेश्वरले सुन्नुहुन्छ किनकि ती परमेश्वरको इच्छासित मेल खान्छन्। परमेश्वरले येसुमार्फत “संसारको उद्धार होस् भनेर” उहाँलाई पृथ्वीमा पठाउनुभयो।—यूहन्ना ३:१७.
के उद्धार पाउन येसुमा विश्वास गरे पुग्छ?
पुग्दैन। उद्धार पाउन येसुमा विश्वास गर्नुपर्छ तर त्यति गर्नु मात्र पर्याप्त छैन। (प्रेषित १६:३०, ३१) बाइबल यसो भन्छ: “जसरी सासविनाको शरीर मरेको हुन्छ, त्यसरी नै कामविनाको विश्वास पनि मरेको हुन्छ।” (याकूब २:२६) त्यसैले उद्धार पाउन हामीले निम्न कुराहरू गर्नुपर्छ:
येसु र उहाँको बुबा यहोवाबारे सिक्नुपर्छ।—यूहन्ना १७:३.
उहाँहरूमाथि विश्वास गर्नुपर्छ।—यूहन्ना १२:४४; १४:१.
विश्वास गरेको देखाउन उहाँहरूको आज्ञा पालन गर्नुपर्छ। (लूका ६:४६; १ यूहन्ना २:१७) येसुलाई “प्रभु” भनेर पुकार्नेजति सबैले उद्धार पाउनेछैनन् बरु “स्वर्गमा बस्नुहुने [उहाँको] बुबाको इच्छाअनुसार चल्नेहरू”-ले मात्र उद्धार पाउनेछन् भनेर उहाँले बताउनुभयो।—मत्ती ७:२१.
गाह्रो अवस्थाहरूको बाबजुद विश्वास प्रकट गरिरहनुपर्छ। येसुले स्पष्टसित यसो भन्नुभयो: “जसले अन्तसम्म सहन्छ, त्यसले उद्धार पाउनेछ।”—मत्ती २४:१३.