परमेश्वरले कहिले ब्रह्माण्ड सृष्टि गर्न सुरु गर्नुभयो?
बाइबलको जवाफ
परमेश्वरले ब्रह्माण्ड कहिले अनि कति समय लगाएर सृष्टि गर्नुभयो भनेर बाइबलले केही बताउँदैन। बाइबलमा यति बताइएको छ: “सुरुमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” (उत्पत्ति १:१) “सुरुमा” भनेको समय कहिले हो भनेर बाइबलमा बताइएको छैन। तर यो समय उत्पत्तिको किताबमा बताइएको सृष्टिको छ “दिन” वा अवधिभन्दा अघिको समय हो।
के सृष्टिका छ दिनहरू साँच्चैको २४ घण्टे दिन हो?
होइन। बाइबलमा “दिन” भन्ने शब्दले सन्दर्भअनुसार फरक-फरक समयावधिलाई बुझाउँछ। उदाहरणको लागि, सृष्टिको पूरै समयावधिलाई एक दिन भनेर उत्पत्तिको एउटा विवरणमा लेखिएको छ।—उत्पत्ति २:४.
सृष्टिका छ दिनमा के-के भए?
सुरुमा “पृथ्वीमा केही थिएन अनि त्यसको कुनै आकार पनि थिएन” तर परमेश्वरले त्यसलाई जीवन धान्ने ग्रहमा परिणत गर्नुभयो। (उत्पत्ति १:२) त्यसपछि उहाँले पृथ्वीमा जीवनको सुरुवात गर्नुभयो। सृष्टिका छ दिन वा समयावधिमा के-के भए भनेर बाइबलले बताउँछ:
पहिलो दिन: परमेश्वरले पृथ्वीको सतहसम्म प्रकाश पुग्न सम्भव तुल्याउनुभयो, जसले गर्दा पृथ्वीमा दिन र रात हुन थाल्यो।—उत्पत्ति १:३-५.
दोस्रो दिन: परमेश्वरले पृथ्वीको सतहमा भएको पानी र सतहमाथि भएको पानीबीच अन्तर छुट्ट्याउनुभयो।—उत्पत्ति १:६-८.
तेस्रो दिन: परमेश्वरले पृथ्वीको सतहमा भएको पानीलाई एक ठाउँमा जम्मा गर्नुभयो र सुक्खा जमिन देखा पऱ्यो। उहाँले बोटबिरुवा पनि सृष्टि गर्नुभयो।—उत्पत्ति १:९-१३.
चौथो दिन: परमेश्वरले पृथ्वीको सतहबाट सूर्य, चन्द्रमा र ताराहरू देख्न सक्ने वातावरण बनाउनुभयो।—उत्पत्ति १:१४-१९.
पाँचौँ दिन: परमेश्वरले पानीमा बस्ने र आकाशमा उड्ने जीवजन्तु सृष्टि गर्नुभयो।—उत्पत्ति १:२०-२३.
छैटौँ दिन: परमेश्वरले जमिनमा बस्ने जनावर र मानिस सृष्टि गर्नुभयो।—उत्पत्ति १:२४-३१.
छैटौँ दिनपछि परमेश्वरले सृष्टिको कामबाट विश्राम लिनुभयो।—उत्पत्ति २:१, २.
के उत्पत्तिको विवरण विज्ञानसित मेल खान्छ?
बाइबलमा सृष्टिसम्बन्धी लेखिएको विवरण विज्ञानको किताबमा लेखिने विस्तृत विवरणजस्तो छैन। बरु उत्पत्तिको विवरण परमेश्वरले विभिन्न कुराहरू कुन क्रमअनुसार सृष्टि गर्नुभयो भनेर बाइबलकालीन पाठकले पनि सजिलै बुझ्ने तरिकामा लेखिएको छ। उत्पत्तिको किताबमा पाइने सृष्टिको विवरण वैज्ञानिक तथ्यहरूसित बाझिँदैन। खगोल भौतिकशास्त्री रोबर्ट ज्यास्ट्रो यस्तो लेख्छन्: “जीवनको सुरुवात कसरी भयो भन्ने विषयमा खगोलशास्त्र र बाइबलको विवरणबीच थुप्रै कुरा फरक भए तापनि केही महत्त्वपूर्ण समानता भने पाइन्छ। जस्तै, विभिन्न घटनाहरूपछि कुनै निश्चित समयमा मानवजातिको उत्पत्ति अचानक भयो।”
सूर्य, चन्द्रमा र ताराहरू कहिले सृष्टि गरिए?
सूर्य, चन्द्रमा र ताराहरू “सुरुमा परमेश्वरले आकाश” सृष्टि गर्नुहुँदा अस्तित्वमा थिए। (उत्पत्ति १:१) तर पृथ्वीको वायुमण्डल एकदमै बाक्लो भएकोले तिनीहरूको प्रकाश पृथ्वीको सतहसम्म आइपुगेको थिएन। (उत्पत्ति १:२) त्यसैले पहिलो दिनमा प्रकाश पृथ्वीको सतहसम्म आइपुगे पनि त्यसको श्रोत भने अझै पनि देखिँदैन थियो। चौथो दिनमा पृथ्वीको वायुमण्डल सफा भइसकेको हुनुपर्छ। बाइबलले बताएअनुसार त्यसपछि भने सूर्य, चन्द्रमा र ताराहरूको प्रकाशले गर्दा “पृथ्वी उज्यालो” भयो। सृष्टिका विवरणहरू मानिसको दृष्टिकोणबाट लेखिएका थिए। सूर्य, चन्द्रमा र ताराहरू पृथ्वीबाट त्यही बेलादेखि मात्र देखिएको हुनुपर्छ।—उत्पत्ति १:१७.
बाइबलअनुसार पृथ्वीको आयु कति हो?
बाइबलले पृथ्वीको आयुबारे केही बताएको छैन। उत्पत्ति १:१ मा हाम्रो पृथ्वीलगायत भौतिक ब्रह्माण्डको सुरुवात छ भनेर मात्र बताइएको छ। यो कुरा वैज्ञानिक सिद्धान्त वा पृथ्वीको आयुबारे वैज्ञानिकहरूको धारणासित बाझिँदैन।