तिनीहरूले मदतको हात अघि बढाए
क्यानाडाको अल्बर्टामा कठ्याङ्ग्रिने मौसम थियो। त्यो ठाउँमा बब नाम गरेका व्यक्ति प्रतिघण्टा १०० किलोमिटरको हिसाबले गाडी चलाउँदै थिए। अचानक तिनको गाडीको पछाडिको टायर पड्कियो। के भयो भनेर बबलाई सुरुमा त थाहै भएन। त्यसैले घर पुग्न अझै पाँच किलोमिटर बाँकी भएकोले तिनले खुरुखुरु गाडी चलाइरहे।
स्थानीय सभाभवनलाई सम्बोधन गरेर लेखेको पत्रमा बबले त्यसपछि के भयो, त्यसबारे बताएका छन्। तिनले लेखे: “आफ्नो गाडीको स्पिड कम गर्दै मेरो गाडीको नजिकै अर्को एउटा गाडी आयो। त्यहाँ पाँच जना जवान केटाकेटी थिए। तिनीहरूले झ्याल खोलेर मलाई मेरो गाडीको टायर पड्केको जानकारी दिए। त्यसपछि हामीले छेउतिर लगेर गाडी रोक्यौँ। तिनीहरूले मेरो गाडीको टायर फेरिदिन्छु भने। मसँग जगेडा टायर अनि गाडी उठाउने ज्याक थियो कि थिएन, थाह थिएन। म हाइवेको छेउमा आफ्नो ह्वीलचेयरमा बसिरहेँ। तिनीहरूले गाडी मुन्तिर गएर हेरे अनि जगेडा टायर अनि ज्याक निकालेर टायर फेरिदिए। मौसम कठ्याङ्ग्रिने थियो; हिउँ नि परिरहेको थियो। सफासुकिलो लुगा लगाएको भए तापनि तिनीहरूले मेरो गाडीको टायर फेरिदिए अनि म घर पुग्न सकेँ। म एक्लै भएको भए त विजोग हुन्थ्यो।
“मलाई मदत गर्ने ती पाँच जना साक्षी केटाकेटीलाई मुरीमुरी धन्यवाद! तिनीहरू त्यो इलाकामा घरघरको प्रचार जान आएका रहेछन्। साँच्चै, तिनीहरूले आफूले प्रचार गर्ने कुरा कामबाट पनि देखाउँदा रहेछन्। तिनीहरूले मदत नगरेको भए मलाई त आपत् पर्ने थियो। त्यसैले म तिनीहरूप्रति मनैदेखि आभारी छु। हाइवेमा त्यसरी देवताजस्तो नानीबाबुहरू भेट्छु भनेर सोचेको पनि थिइनँ।”