सही र गलत: व्यावहारिक डोऱ्याइ
लाखौँ मानिसले जीवनका यी चार वटा क्षेत्रमा बाइबलको सल्लाह उपयोगी र भरपर्दो छ भनेर अनुभव गरेका छन्:
१. वैवाहिक जीवन
वैवाहिक जीवन र यसलाई कसरी सफल बनाउने भन्नेबारे मानिसहरूको धारणा फरक-फरक छ।
बाइबल भन्छ: “तिमीहरू हरेकले आ-आफ्नी पत्नीलाई आफैलाई जस्तै प्रेम गर्नुपर्छ अनि पत्नीले पनि आफ्नो पतिको गहिरो आदर गर्नुपर्छ।”—एफिसी ५:३३.
अर्थ: यहोवा विवाहको सुरुवातकर्ता हुनुहुन्छ। त्यसैले वैवाहिक जीवनलाई कसरी सुखी बनाउने भनेर उहाँलाई राम्ररी थाह छ। (मर्कुस १०:६-९) पतिपत्नीले वैवाहिक सम्बन्ध बलियो बनाउन आफ्नो जीवनसाथीबाट के पाउन सक्छु भन्ने कुरामा नभई तिनलाई के दिन सक्छु, त्यसमा ध्यान दिन सक्छन्। पतिले आफ्नी पत्नीको ख्याल राखेर अनि राम्रो व्यवहार गरेर उनलाई प्रेम गरेको देखाउन सक्छन्। पत्नीले पनि आफ्नो असल बोली र व्यवहारद्वारा पतिको आदर गरेको देखाउन सक्छिन्।
बाइबलको सल्लाहले पुऱ्याएको लाभ: भियतनाममा बस्ने क्वान र थी आफ्नो वैवाहिक जीवनदेखि खुसी थिएनन्। क्वान आफ्नी पत्नीसित अक्सर नराम्रो व्यवहार गर्थे। तिनी यसो भन्छन्: “म आफ्नो पत्नीको भावनाको कदर गर्दिनथेँ र उनको अपमान गर्थेँ।” त्यसैले थी सम्बन्धविच्छेद गर्न चाहन्थिन्। उनी यसो भन्छिन्: “म आफ्नो पतिलाई अब कहिल्यै भरोसा र आदर गर्न सक्दिनँ जस्तो लाग्थ्यो।”
पछि क्वान र थीले बाइबल पढे अनि एफिसी ५:३३ को सल्लाह आफ्नो वैवाहिक जीवनमा कसरी लागू गर्न सकिन्छ भनेर बुझे। क्वानले आफ्नी पत्नीलाई प्रेम गर्नुपर्छ भन्ने कुरा सिके। तिनले आफ्नी पत्नीलाई भौतिक, शारीरिक र भावनात्मक रूपमा ख्याल राख्नुपर्छ भन्ने कुरा पनि बुझे। यो सल्लाह लागू गर्दा तिनले आफ्नी पत्नीबाट प्रेम र आदर कमाउन सके। साथै थीले यो सल्लाह पालन गर्दा आफ्नो पतिको आदर गर्न सकिन्, जसले गर्दा उनले आफ्नो पतिबाट माया पाएको र उनको कुरा बुझिदिएको महसुस गरिन्। नतिजास्वरूप तिनीहरूको वैवाहिक सम्बन्ध सुध्रियो।
वैवाहिक सम्बन्धबारे थप जानकारीको लागि jw.org मा “पारिवारिक जीवन सफल बनाउने १२ रहस्य” शीर्षकको ब्यूँझनुहोस्! सङ्ख्या २ २०१८ पढ्नुहोस्।
२. व्यवहार
मानिसहरू जात, राष्ट्र, रूपरङ्ग र धर्मको आधारमा भेदभावपूर्ण व्यवहार गर्छन्। कतिपयले समलिङ्गीहरूलाई दुर्व्यवहार गर्छन्।
बाइबल भन्छ: “हरप्रकारका मानिसहरूको आदर गर।”—१ पत्रुस २:१७.
अर्थ: बाइबलले विभिन्न जात र राष्ट्रका मानिसहरू अनि समलिङ्गीहरूलाई घृणा गर्न सिकाउँदैन। बरु बाइबलले सबै किसिमका मानिसहरूलाई आदर गर्न सिकाउँछ। (प्रेषित १०:३४) हामीले अरूको विश्वास र जीवनशैलीलाई समर्थन नगरे तापनि तिनीहरूलाई माया र आदर गर्न सक्छौँ।—मत्ति ७:१२.
बाइबलको सल्लाहले पुऱ्याएको लाभ: ड्यानिएलले एसियाका मानिसहरू तिनको देशको लागि खतरनाक हुन् भनेर सिकेका थिए। त्यसैले तिनले एसिया मूलका मानिसहरूलाई घृणा गर्थे र तिनीहरूलाई देख्नेबित्तिकै गाली गर्थे। तिनी यसो भन्छन्: “त्यतिबेला मलाई मैले जे गरिरहेको छु, देशको लागि गरिरहेको छु र त्यसो गर्नुमा कुनै खराबी छैन जस्तो लाग्थ्यो।”
पछि तिनले बाइबल पढे र आफ्नो सोचाइ पूरै परिवर्तन गरे। तिनले मानिसहरूलाई ईश्वरको दृष्टिकोणले हेर्न थाले, चाहे तिनीहरू जुनसुकै देशका किन नहोऊन्। अहिले तिनी अरू देशका मानिसहरूलाई भेट्दा के गर्छन्? तिनी भन्छन्: “अहिले मलाई मानिसहरू कुन देशको हो भन्ने कुरामा वास्ता लाग्दैन। म सबैलाई माया गर्छु र मैले विभिन्न देशका मानिसहरूलाई घनिष्ठ साथी बनाएको छु।”
थप जानकारीको लागि jw.org मा “के पूर्वाग्रह हटाउने कुनै उपाय छ?” शीर्षकको ब्यूँझनुहोस्! सङ्ख्या ३ २०२० पढ्नुहोस्।
३. पैसा
थुप्रै मानिस धनसम्पत्ति कमाउन मरिमेट्छन् किनभने तिनीहरूलाई आनन्दित भई जीवन बिताउन र आफ्नो भविष्य उज्ज्वल बनाउन पैसा नभई हुँदैन जस्तो लाग्छ।
बाइबल भन्छ: “जसरी रुपैयाँ-पैसाले सुरक्षा दिन्छ, त्यसरी नै बुद्धिले पनि सुरक्षा दिन्छ तर ज्ञान र बुद्धिले भने मानिसको जीवन बचाउँछ।”—उपदेशक ७:१२.
अर्थ: हामीलाई पैसा त चाहिन्छ तर पैसा हुँदैमा हामी आनन्दित हुन्छौँ र हाम्रो भविष्य उज्ज्वल हुन्छ भन्ने कुराको ग्यारेन्टी छैन। (हितोपदेश १८:११; २३:४, ५) बाइबलको सल्लाहअनुसार जीवन बिताउँदा हामी साँचो आनन्द पाउन सक्छौँ र हाम्रो भविष्य उज्ज्वल हुनेछ।—१ तिमोथि ६:१७-१९.
बाइबलको सल्लाहले पुऱ्याएको लाभ: इन्डोनेसियाका कार्डोको अनुभव विचार गरौँ। तिनी धनी हुन चाहन्थे। त्यसैले तिनले रातदिन नभनी काम गरेर प्रशस्त धन कमाए। तिनले विलासी जीवन बिताए। तिनी रमाइला-रमाइला ठाउँहरूमा घुम्न जान्थे। तिनले महँगा-महँगा सामानहरू, गाडीहरू र घरहरू किने। तर तिनी ठगीमा परे अनि दस नङ्ग्रा खियाएर कमाएको धन छिनभरमै गुमाए। त्यसपछि तिनले खोक्रो महसुस गरे र निराश भए।
पछि तिनले पैसासम्बन्धी बाइबलको सल्लाह लागू गरेर सरल जीवन बिताउन थाले। तिनी भन्छन्: “ईश्वरसित घनिष्ठ सम्बन्ध गाँस्न सकेकोले म अहिले साँचो अर्थमा धनी भएको महसुस गर्दै छु। मलाई हरेक रात मीठो निद्रा लाग्छ र म साँच्चै आनन्दित छु।”
पैसासम्बन्धी बाइबलको दृष्टिकोणबारे थप जानकारीको लागि jw.org मा प्रहरीधरहरा सङ्ख्या ३ २०२१ को “के शिक्षा र पैसाले भविष्य उज्ज्वल बनाउँछ?” लेख पढ्नुहोस्।
४. यौन
यौनबारे मानिसहरूको धारणा फरक-फरक छ।
बाइबल भन्छ: “अवैध यौनसम्बन्धबाट अलग रहो। तिमीहरू हरेकले आफ्नो शरीरलाई पवित्रता र आदरसाथ वशमा राख्न सिक्नुपर्छ। तिमीहरू परमेश्वरलाई नचिन्ने ती अन्यजातिका मानिसहरूजस्तो नहोओ, जो लोभी र अनियन्त्रित भएर आफ्नो कामवासना पूरा गर्छन्।”—१ थिस्सलोनिकी ४:३-५.
अर्थ: यौन मानिसजातिलाई ईश्वरले दिनुभएको उपहार हो। उहाँले यससम्बन्धी एउटा स्तर तोकिदिनुभएको छ। उहाँ विवाहित दम्पतीले मात्र यसबाट आनन्द उठाएको चाहनुहुन्छ। (हितोपदेश ५:१८, १९) त्यसैले बाइबलमा “अवैध यौनसम्बन्ध”-बाट अलग रहनुपर्छ भनेर बताइएको छ। यसमा व्यभिचार, वेश्यावृत्ति, विवाह नगरी राखिने यौनसम्बन्ध, समलिङ्गी यौनसम्बन्ध र पशु सम्भोग समावेश छ।—१ कोरिन्थी ६:९, १०.
बाइबलको सल्लाहले पुऱ्याएको लाभ: अस्ट्रेलियामा बस्ने काइलीको अनुभव विचार गरौँ। तिनलाई विवाह नगरी यौनसम्बन्ध राख्नु ठीकै हो जस्तो लाग्थ्यो किनभने तिनी यसो गर्दा एकअर्कासितको सम्बन्ध बलियो हुन्छ र माया पनि प्रगाढ हुन्छ भन्ठान्थिन्। तिनी भन्छिन्: “तर वास्तवमा त्यस्तो हुँदैन रहेछ। त्यस्तो सम्बन्ध राखेकीले मलाई उल्टै डर र चिन्ताले सतायो।”
केही समयपछि तिनले बाइबलबाट यौनसम्बन्धी ईश्वरले तोक्नुभएको स्तरबारे सिकिन् र त्यसअनुसार चल्दा कस्तो फाइदा हुन्छ भनेर बुझ्न सकिन्। त्यसैले तिनी भन्छिन्: “ईश्वरले दिनुभएको स्तरअनुसार चल्दा म आनन्दित हुन सकेकी छु र ढुक्क महसुस गर्छु। यसले मलाई दुःख भोग्नदेखि पनि जोगाएको छ।”
थप जानकारीको लागि jw.org मा “बाइबलले विवाह नगरी सँगै बस्नेबारे के भन्छ?” लेख पढ्नुहोस्।
हाम्रो सृष्टिकर्ताले के सही र के गलत भन्ने कुरा बुझ्न मदत गर्नुहुन्छ। उहाँको नैतिक स्तर पालन गर्नु सधैँ सजिलो नहोला तर त्यस्तो प्रयास कहिल्यै खेर जाँदैन। यसले चिरकालीन आनन्द ल्याउँछ भन्ने कुरामा दुई मत छैन।