१ के ईश्वरले गर्दा दुःखकष्ट भएको हो?
यस विषयमा किन चासो राख्नुपर्छ?
धेरैजसो मानिसहरू ईश्वरको उपासना गर्न चाहँदैनन् किनभने तिनीहरू दुःखकष्टको दोष उहाँलाई दिन्छन्।
यसबारे सोच्नुहोस्:
धेरैजसो धर्मगुरुले सीधै होस् या घुमौरो पाराले, दुःखकष्टको दोष ईश्वरलाई दिन्छन्। उदाहरणको लागि, कसै-कसैले यसो भन्ने गर्छन्:
-
ईश्वरले प्राकृतिक प्रकोप ल्याएर सजाय दिनुहुन्छ।
-
ईश्वरलाई स्वर्गमा अझ धेरै स्वर्गदूत चाहिएकोले साना केटाकेटीको मृत्यु हुन्छ।
-
युद्धहरूमा ईश्वरले कसै न कसैको पक्ष लिनुहुन्छ।
तर धर्मगुरुहरूले ईश्वरबारे सिकाइरहेका कुरा गलत पो हो कि? यदि ईश्वरले नै तिनीहरूलाई अस्वीकार गर्नुभएको छ भने के तिनीहरूको कुरा सही होला?
थप जानकारी पाउनुहोस्
jw.org/ne मा बाइबल किन पढ्नुपर्छ? भिडियो हेर्नुहोस्।
बाइबल के भन्छ?
ईश्वरले गर्दा दुःखकष्ट भएको होइन।
उहाँले गर्दा दुःखकष्ट भएको हो भने यो कुरा बाइबलमा उल्लेख गरिएको उहाँका असल गुणहरूसित बाझिने थियो। उदाहरणको लागि,
“[ईश्वरका] सबै काम न्यायसङ्गत छन्। . . . उहाँ सत्य र न्यायी हुनुहुन्छ।”—व्यवस्था ३२:४.
“साँचो परमेश्वरले कहिल्यै कसैलाई दुःख दिनुहुन्न, सर्वशक्तिमान् परमेश्वरले कसैको हानि गर्नुहोला भनेर सोच्न समेत सकिँदैन।”—अय्युब ३४:१०.
“सर्वशक्तिमान् परमेश्वरले कहिल्यै कसैमाथि अन्याय गर्नुहुन्न।”—अय्युब ३४:१२.
ईश्वर आफूबारे गलत कुरा सिकाउने धर्महरूलाई स्विकार्नुहुन्न।
ती धर्महरूमा ईश्वरले गर्दा दुःखकष्ट भोग्नुपरेको हो भनी सिकाउने अनि युद्ध र हिंसामा मुछिएका धर्महरू समावेश छन्।
“ती भविष्यवक्ताहरूले [ईश्वरको] नाममा झूटो भविष्यवाणी गरिरहेका छन्। मैले उनीहरूलाई पठाएको होइनँ। मैले उनीहरूलाई कुनै आदेश दिएको वा उनीहरूलाई केही बताएको पनि छैनँ। उनीहरू झूटो भविष्यवाणी गर्छन् . . . र आफ्नै छली विचार बताउँछन्।”—यर्मिया १४:१४.
येसुले कपटी धर्मगुरुहरूलाई धिक्कार्नुभयो।
“मलाई ‘प्रभु, प्रभु’ भन्नेहरूमध्ये सबै जना स्वर्गको राज्यमा पस्नेछैनन् तर स्वर्गमा बस्नुहुने मेरो बुबाको इच्छाअनुसार चल्नेहरू मात्र त्यहाँ पस्नेछन्। त्यस दिन धेरैले मलाई यसो भन्नेछन्: ‘हे प्रभु, हे प्रभु, के हामीले तपाईँको नाममा भविष्यवाणी गरेनौँ र? तपाईँको नाममा प्रेतहरूलाई धपाएनौँ र? अनि के हामीले तपाईँको नाममा थुप्रै शक्तिशाली काम गरेनौँ र?’ त्यतिबेला म तिनीहरूलाई प्रस्टै यसो भन्नेछु: ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ! ए कुकर्मी हो, मबाट पर हटिहाल!’”—मत्ति ७:२१-२३.