सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पहरादारसँगै सेवा गर्ने

पहरादारसँगै सेवा गर्ने

पहरादारसँगै सेवा गर्ने

“हे परमप्रभु, म दिनभरि पहरा बस्ने धरहरामा उभिरहन्छु, र रातभरि पनि पहरामा बसिरहन्छु।”—यशैया २१:८.

१. कस्ता महान्‌ प्रतिज्ञाहरूको यहोवा स्वयम्‌ गवाही हुनुहुन्छ?

 यहोवा महान्‌ उद्देश्‍यकर्ता हुनुहुन्छ। आफूलाई शैतान अर्थात्‌ दियाबल बनाएको विद्रोही स्वर्गदूतले उहाँको नाउँ पवित्र बनाउने र प्रमोदवनरूपी पृथ्वीमा उहाँको महिमित राज्य शासन स्थापना गर्ने उहाँको महान्‌ उद्देश्‍यलाई विफल पार्न केही गर्न सक्दैन। (मत्ती ६:९, १०) त्यस राज्य शासनअन्तर्गत मानिसजातिले साँच्चै आशिष्‌ पाउनेछ। परमेश्‍वरले ‘मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ र परमप्रभु परमेश्‍वरले सबैका आँखाबाट आँसु पुछिदिनुहुनेछ।’ आनन्दित र एकताबद्ध मानिसहरूले अनन्तकालसम्म शान्ति अनि संवृद्धिको आनन्द उठाउनेछन्‌। (यशैया २५:८; ६५:१७-२५) यी महान्‌ प्रतिज्ञाहरूको यहोवा स्वयम्‌ गवाही हुनुहुन्छ!

२. यहोवाले कस्ता मानव गवाहीहरू खडा गर्नुभएको छ?

तथापि, महान्‌ सृष्टिकर्ताका मानव गवाहीहरू पनि छन्‌। मसीहीपूर्व समयमा हाबिलदेखि सुरु भएको “गवाहीका मेघले” कठिनभन्दा कठिन परिस्थितिको बावजूद धीरजको दौड दौडे। तिनीहरूको उत्कृष्ट उदाहरणहरूले आज वफादार मसीहीहरूलाई प्रोत्साहन दिन्छ। ख्रीष्ट येशू निर्भयी साक्षीको सर्वोत्कृष्ट उदाहरण हुनुहुन्छ। (हिब्रू ११:१–१२:२) उदाहरणका लागि, उहाँले पन्तियस पिलातससामु अन्तिम गवाही दिनुहुँदा के भन्‍नुभयो, सम्झनुहोस्‌। येशूले यस्तो घोषणा गर्नुभयो: “यसैको निम्ति म जन्मेको हुँ, र त्यसैको निम्ति गवाही दिऊँ भनेर म यस संसारमा आएको हुँ।” (यूहन्‍ना १८:३७) सा.यु. ३३ देखि आज सन्‌ २००० सम्म जोसिला मसीहीहरूले येशूको उदाहरण अनुसरण गर्दै “परमेश्‍वरका महाकार्यहरूका विषयमा” निर्भयता साथ घोषणा गर्दै गवाही दिइरहेका छन्‌।—प्रेरित २:११.

झूटा धर्मको स्रोत बेबिलोन

३. यहोवा अनि उहाँको इच्छाबारे दिइएको गवाहीको शैतानले कसरी विरोध गरेको छ?

सदियौंदेखि महान्‌ शत्रु, शैतान अर्थात्‌ दियाबलले दुष्ट्याइँ गरेर परमेश्‍वरका साक्षीहरूको गवाही बदनाम गर्ने कोसिस गरेको छ। त्यस “अजीङ्‌गरजस्तै . . . वृद्ध साँप” “झूटको पिता[ले]” ‘सारा संसारलाई ठग्दैछ।’ विशेष गरी यस आखिरी दिनमा “परमेश्‍वरको आज्ञा पालन गर्ने” मानिसहरू विरुद्ध क्रूर लडन्त लडिरहेको छ।—यूहन्‍ना ८:४४; प्रकाश १२:९, १७.

४. महान्‌ बेबिलोनको सुरुआत कसरी भयो?

झन्डै ४,००० वर्षअघि, नूहको दिनको जलप्रलयपछि शैतानले “परमप्रभुको सामु शक्‍तिशाली शिकारी” निम्रोद खडा गऱ्‍यो। (उत्पत्ति १०:९, १०, नयाँ संशोधित संस्करण) निम्रोदको सबैभन्दा ठूलो शहर बेबिलोन (बाबेल) पैशाचिक धर्मको केन्द्रबिन्दु भयो। यहोवाले बाबेलमा धरहरा बनाउने मानिसहरूको भाषा गोलमाल गर्नुभएपछि तिनीहरू संसारभरि तितरबितर भए र तिनीहरू जहाँ जहाँ गए, त्यहाँ त्यहाँ झूटो धर्म पनि लगे। यसरी बाबेल, झूटो धर्मको विश्‍व साम्राज्यको केन्द्र भयो र त्यसलाई प्रकाशको पुस्तकमा महान्‌ बेबिलोन भनिएको छ। प्रकाशको पुस्तकमा त्यस पुरातन धार्मिक व्यवस्थाको नाशको भविष्यवाणी गरिएको छ।—प्रकाश १७:५; १८:२१.

साक्षीहरूको राष्ट्र

५. यहोवाले आफ्नो साक्षी बनाउन कुन राष्ट्रलाई व्यवस्थित गर्नुभयो तर उहाँले तिनीहरूलाई किन निर्वासनमा जान दिनुभयो?

निम्रोदको समयभन्दा झन्डै ५०० वर्षपछि यहोवाले पृथ्वीमा उहाँको साक्षीको हैसियतमा सेवा गर्न विश्‍वासी अब्राहामको सन्तानलाई इस्राएल राष्ट्रको रूपमा व्यवस्थित गर्नुभयो। (यशैया ४३:१०, १२) त्यस राष्ट्रका थुप्रै मानिसहरूले वफादार साथ यहोवाको सेवा गरे। तथापि, शताब्दीयौंको दौडान छिमेकी राष्ट्रको झूटा विश्‍वासहरूले इस्राएललाई भ्रष्ट बनायो अनि यहोवाले करार बाँध्नुभएको जाति उहाँबाट तर्किएर झूटा देवहरूको उपासना गर्न लागे। तसर्थ, सा.यु.पू. ६०७ मा राजा नबूकदनेसरको नेतृत्वमा आएको बेबिलोनी सेनाले यरूशलेम अनि यसको मन्दिर नष्ट गऱ्‍यो र अधिकांश यहूदीहरूलाई बेबिलोन निर्वासनमा लगे।

६. यहोवाको भविष्यसूचक पहरादारले कस्तो सुसमाचार घोषणा गऱ्‍यो र यो कहिले पूरा भयो?

झूटा धर्मको लागि त्यो कत्रो ठूलो विजय थियो! तथापि, बेबिलोनको आधिपत्य लामो समयसम्म रहेन। त्यस घटना हुनुभन्दा लगभग २०० वर्षअघि यहोवाले यस्तो आज्ञा दिनुभयो: “जा, पहरादार राख्‌। त्यसले के देख्छ त्यो बताओस्‌।” पहरादारले कस्तो समाचार घोषणा गर्नु पर्नेथियो? “बाबेलको पतन भयो, पतन भयो, र त्यसका कुँदेर बनाएका देवताका सबै मूर्तिहरू जमीनमा चक्नाचूर पारिएका छन्‌।” (यशैया २१:६, ९) अनि साँच्चै त्यस्तै भयो, सा.यु.पू. ५३९ मा उक्‍त भविष्यसूचक घोषणा साँचो साबित भयो। शक्‍तिशाली बाबेलको पतन भयो र परमेश्‍वरले करार बाँध्नुभएको जाति चाँडै आफ्नो जन्मथलो फर्कन सक्यो।

७. (क) यहूदीहरूले यहोवाको अनुशासनबाट कस्तो पाठ सिके? (ख) निर्वासनबाट फर्केका यहूदीहरू कस्ता पासोहरूमा फसे र नतिजा के भयो?

निर्वासनबाट फर्केका यहूदीहरूले मूर्तिपूजा र प्रेतवादी धर्ममा लाग्नु हुँदैन रहेछ भनेर राम्रो पाठ सिकेका थिए। तथापि, त्यसपछिका वर्षहरूमा तिनीहरू अन्य पासोहरूमा फसे। कोही कोही युनानी दर्शनको प्रभावमा परे। अरू कतिपयले परमेश्‍वरको वचनभन्दा मानव परम्परालाई बढी जोड दिन थाले। अझ अरू कतिचाहिं राष्ट्रवादको बहकाउमा परे। (मर्कूस ७:१३; प्रेरित ५:३७) येशूको जन्म हुँदासम्म त्यस राष्ट्र साँचो उपासनाबाट फेरि तर्किसकेको थियो। केही यहूदीहरूले येशूले गर्नुभएको सुसमाचारको घोषणा सुने तापनि तिनीहरूले राष्ट्रको रूपमा उहाँलाई अस्वीकार गरे र यसकारण, परमेश्‍वरले तिनीहरूलाई तिरस्कार गर्नुभयो। (यूहन्‍ना १:९-१२; प्रेरित २:३६) इस्राएल अब परमेश्‍वरको साक्षी रहेन र सा.यु. ७० मा यरूशलेम अनि यसको मन्दिर रोमी सेनाको हातबाट फेरि तहसनहस हुनुपऱ्‍यो।—मत्ती २१:४३.

८. यहोवाको साक्षी को बन्यो अनि त्यो साक्षीलाई पावलको चेताउनी किन समय सुहाउँदो थियो?

त्यतिञ्जेल, “परमेश्‍वरका” मसीही “इस्राएल” राष्ट्रको जन्म भयो र यसले परमेश्‍वरको साक्षीको हैसियतमा राष्ट्रहरूको सेवा गर्न थाल्यो। (गलाती ६:१६) यस नयाँ आत्मिक राष्ट्रलाई पनि भ्रष्ट गर्ने योजना शैतानले तुरुन्तै बनायो। प्रथम शताब्दीको अन्ततिर मण्डलीहरूमा गुटबन्दीको प्रभाव देखिन थालिसकेको थियो। (प्रकाश २:६, १४, २०) पावलको यो चेताउनी एकदमै समय सुहाउँदो थियो: “होशियार बस, नत्रता कसैले ख्रीष्टअनुसारको होइन, तर मानिसहरूको कुलाचार, संसारको अनुसारका तत्त्वज्ञान, र फोस्रो छलले तिमीहरूलाई शिकार बनाउला।”—कलस्सी २:८.

९. पावलले चेताउनी दिएझैं कस्ता कुराहरूको कारण मसीहीजगत्‌को सुरुआत भयो?

अन्ततः युनानी दर्शन, बेबिलोनी धार्मिक विचार र पछि विकासवाद, बाइबलको आलोचनाजस्ता मानव “बुद्धिले” मसीही भनौंदाहरू थुप्रैको धर्म भ्रष्ट तुल्यायो। यो पावलले भविष्यवाणी गरेझैं भयो: “मलाई थाह छ, कि म गएपछि बगाललाई स्वाहा पार्ने डरलाग्दा ब्वाँसाहरू पस्नेछन्‌। औ तपाईंहरू आफैमध्ये पनि कुनै कुनै, मानिसहरू बराल्ने कुरा बोलेर चेलाहरूलाई आफ्ना पछिपछि लैजानालाई खड़ा हुनेछन्‌।” (प्रेरित २०:२९, ३०) यही धर्मत्यागले गर्दा मसीहीजगत्‌को सुरुआत भयो।

१०. मसीहीजगत्‌को भ्रष्ट उपासना सामु सबैले हार स्वीकारेका रहेनछन्‌ भनेर कस्ता कस्ता घटनाले प्रमाणित गरे?

१० शुद्ध उपासनाप्रति साँच्चै समर्पित व्यक्‍तिहरूले “पवित्र जनहरूलाई सधैंको निम्ति दिएको त्यो विश्‍वासको निम्ति उत्कटसाथ कम्मर” कस्नुपऱ्‍यो। (यहूदा ३) शुद्ध उपासना र यहोवाको पक्षमा दिइने गवाही यस पृथ्वीबाट के सधैंको लागि हराउनेछ त? अहँ, हराउनेछैन। जसै विद्रोही शैतान तथा त्यसका सबै कार्यहरू नाश हुने समय नजिकिंदै गयो, सबै मानिसहरूले मसीहीजगत्‌को धर्मत्यागी उपासनाको अगाडि हार मानेका छैनन्‌ भन्‍ने कुरा स्पष्ट भयो। उन्‍नाइसौं शताब्दीको अन्ततिर पिट्‌सबर्ग, पेन्सिल्भेनिया, सं.रा.अ.-मा निष्कपट हृदय भएका बाइबल विद्यार्थीहरूको एक समूह संगठित गरियो र त्यो समूह नै यहोवाका आधुनिक साक्षीहरूको गतिविधिको केन्द्रबिन्दु भयो। यी मसीहीहरूले यस वर्तमान रीतिरिवाजको अन्त नजिकै छ भन्‍ने धर्मशास्त्रीय प्रमाणतिर ध्यानाकर्षण गरे। बाइबलको भविष्यवाणीअनुसार नै यस संसारको “अन्त” १९१४ सुरु भयो र प्रथम विश्‍वयुद्धको सुरुआतले यो स्पष्ट भयो। (मत्ती २४:३, ७) शैतान अनि त्यसका प्रेतहरू सोही वर्ष स्वर्गबाट फ्याँकिएको ठोस प्रमाणहरू छन्‌। समस्याग्रस्त २० औं शताब्दी, शैतानिक गतिविधि र स्वर्गीय राज्य शक्‍तिमा ख्रीष्टको राजकीय उपस्थितिका चिह्नहरूको स्पष्ट प्रमाण भएको छ।—मत्ती अध्याय २४ र २५; मर्कूस अध्याय १३; लूका अध्याय २१; प्रकाश १२:१०, १२.

११. शैतानले कस्तो दुष्प्रयास गर्न खोज्यो तर त्यो कसरी विफल भयो?

११ जून १९१८ मा शैतानले त्यतिबेला केही देशहरूमा प्रचार गर्न थालिसकेका बाइबल विद्यार्थीहरूलाई नामेट पार्न भरसक प्रयास गऱ्‍यो। त्यसले तिनीहरूको कानुनी संस्था वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी पनि खत्तम पार्ने प्रयास गऱ्‍यो। सोसाइटीका जिम्मेवार अधिकारीहरू प्रथम शताब्दीका येशूजस्तै देशद्रोहीको झूटो आरोपमा पक्राउ परे। (लूका २३:२) तर १९१९ मा ती अधिकारीहरूलाई मुक्‍त गरियो र पुनः तिनीहरू सेवकाईमा लाग्न सके। पछि तिनीहरू पूर्णतया दोषमुक्‍त भए।

“होशियार बस”

१२. आज ‘होसियार बस्ने’ वा यहोवाको पहरादार वर्ग को हो र तिनीहरूले कस्तो मनोभाव देखाएका छन्‌?

१२ अतः “अन्तको समय” सुरु हुँदा यहोवाले पहरादार फेरि खडा गर्नुभयो र मानिसहरूलाई उहाँका उद्देश्‍यसित सम्बन्धित घटनाहरू पूरा हुँदा सजग गराउनुभयो। (दानियल १२:४; २ तिमोथी ३:१) अहिलेसम्म यस पहरादार वर्ग अर्थात्‌ परमेश्‍वरको इस्राएलका अभिषिक्‍त मसीहीहरू, यशैयाले बयान गरेको भविष्यसूचक पहरादारअनुरूप काम गर्दैछन्‌: “त्यसले खूबै ध्यान लगाएर सुनोस्‌। त्यो सिंहझैं गर्ज्यो, ‘हे परमप्रभु, म दिनभरि पहरा बस्ने धरहरामा उभिरहन्छु, र रातभरि पनि पहरामा बसिरहन्छु।’ ” (यशैया २१:७, ८) यो पहरादारले आफ्नो कार्य गम्भीरतापूर्वक लिन्छ!

१३. (क) यहोवाको पहरादारले कस्तो सन्देश घोषणा गरेको छ? (ख) महान्‌ बेबिलोनको पनि पतन भइसक्यो भनेर कसरी भन्‍नसक्छौं?

१३ यस पहरादारले के देखे? यहोवाको पहरादार अर्थात्‌ उहाँको त्यो साक्षी वर्गले पुनः यस्तो घोषणा गऱ्‍यो: “बाबेलको पतन भयो, पतन भयो, र त्यसका कुँदेर बनाएका देवताका सबै मूर्तिहरू [यहोवाले] जमीनमा चक्नाचूर पारिएका छन्‌।” (यशैया २१:९) प्रथम विश्‍वयुद्धपछि महान्‌ बेबिलोन अर्थात्‌ झूटा धर्मको विश्‍व साम्राज्य यसको उच्च स्थानबाट पदच्युत गरियो। (यर्मिया ५०:१-३; प्रकाश १४:८) छक्क नहोस्‌ पनि किन! त्यतिबेला मसीहीजगत्‌मा महान्‌ युद्ध भनिने युद्ध सुरु भयो जब दुवै पक्षका पादरीहरूले आ-आफ्ना उत्कृष्ट युवाहरूलाई युद्धमा जान उस्काएर आगोमा घ्यू थपे। कस्तो बेइज्जतीपूर्ण कुरा! सन्‌ १९१९ मा महान्‌ बेबिलोनले त्यतिबेला बाइबल स्टुडेन्ट्‌सको नाउँले चिनिने यहोवाका साक्षीहरूलाई आफ्नो निष्क्रिय अवस्थाबाट पुनः सक्रिय हुनदेखि रोक्न सकेन र तिनीहरूले थालेको विश्‍वव्यापी प्रचार अभियान अहिलेसम्म चलिरहेको छ। (मत्ती २४:१४) सा.यु.पू. छैठौं शताब्दीमा इस्राएलीहरूको छुटकाराले पुरातन बेबिलोनको पतनको संकेत गरेझैं यो महान्‌ बेबिलोनको पतनको संकेत हो।

१४. यहोवाको पहरादार वर्गले कुन पत्रिका व्यापक रूपमा प्रयोग गरेको छ र यहोवाले कसरी यसको प्रयोगमा आशिष्‌ दिनुभएको छ?

१४ पहरादार वर्गले आफ्नो काम जोसका साथ गर्नुका साथै कामकुरा सही ढंगमा गर्ने बलियो इच्छा सधैं प्रकट गरेको छ। जुलाई १८७९ मा बाइबल स्टुडेन्ट्‌सले यो पत्रिका प्रकाशित गर्न थाले र त्यतिबेला यसलाई जायन्स वाच टावर एण्ड हेराल्ड अफ क्राइस्ट प्रेजेन्स भनिन्थ्यो। सन्‌ १८७९ देखि डिसेम्बर १५, १९३८ सम्मको प्रत्येक अंकको आवरणमा यी शब्दहरू हुन्थे “ ‘ए पहरादार, रात कति रहेको छ?’—यशैया २१:११.” a प्रहरीधरहरा-ले विश्‍व घटनाहरूमाथि दृष्टि राख्दै र तिनीहरूको भविष्यसूचक महत्त्वबारे अटुट रूपमा जोड दिंदै आएको १२० वर्ष भइसक्यो। (२ तिमोथी ३:१-५, १३) परमेश्‍वरको पहरादार वर्ग र यसको “अरू भेड़ा[का]” सँगीहरूले ख्रीष्टको राज्य मार्फत यहोवाको सार्वभौमिकता उच्च पार्ने समय नजिकै छ भनी जोडतोडका साथ उद्‌घोषणा गर्न यस पत्रिका चलाउँदै आएका छन्‌। (यूहन्‍ना १०:१६) के यस पत्रिकाले यहोवाको आशिष्‌ पाएको छ? सन्‌ १८७९ मा प्रहरीधरहरा-को पहिलो अंक ६,००० प्रति मात्र छापिएको थियो भने अहिले यो वृद्धि भएर विश्‍वभरि १३२ भाषाहरूमा २,२०,००,००० भन्दा बढी प्रतिहरू वितरण हुन्छन्‌ र त्यसमध्ये १२१ भाषाहरूमा अंग्रेजी सँगसँगै प्रकाशित हुन्छन्‌। संसारमा सबैभन्दा व्यापक रूपमा वितरित धार्मिक पत्रिकाले साँचो परमेश्‍वर यहोवाको नाउँ महिमा गर्नु कस्तो उपयुक्‍त कुरा हो!

क्रमिक रूपमा सफाइ कार्य

१५. सन्‌ १९१४ अघिदेखि नै कस्ता क्रमिक सफाइ कार्यहरू सुरु भइसकेका थिए?

१५ सन्‌ १९१४ मा स्वर्गमा ख्रीष्टको राज्य सुरु हुनुअघि झन्डै ४० वर्षको दौडान बाइबल स्टुडेन्ट्‌स, मसीहीजगत्‌का थुप्रै गैर मसीही सिद्धान्तहरूबाट मुक्‍त भइसकेका थिए। जस्तै शिशुहरूको बप्तिस्मा, मानव प्राणको अमरत्व, पापमोचन स्थान, नरकको आगोमा सास्ती र त्रिएक ईश्‍वर। तर सबै झूटा विचारहरूबाट खारिन थप केही समय लाग्यो। उदाहरणका लागि, १९२० को दशकमा थुप्रै बाइबल स्टुडेन्ट्‌सले क्रस र राजमुकुट भएको पिन लाउँथे र तिनीहरूले क्रिसमस तथा अन्य गैरधर्मशास्त्रीय उत्सवहरू मनाउँथे। तथापि, उपासना शुद्ध हुन मूर्तिपूजासित सन्बन्धित सबै कुराहरू हटाइनुपर्छ। परमेश्‍वरको वचन, पवित्र बाइबल मसीही विश्‍वास तथा जीवनशैलीको एक मात्र आधार हुनुपर्छ। (यशैया ८:१९, २०; रोमी १५:४) परमेश्‍वरको वचनमा थपघट गर्नु गलत कुरा हो।—व्यवस्था ४:२; प्रकाश २२:१८, १९.

१६, १७. (क) केही दशकसम्म पहरादार वर्गको कस्ता गलत धारणाहरू थिए? (ख) “मिश्र[मा]” “वेदी” र “खामा[को]” सही अर्थ के हो?

१६ यो सिद्धान्त कत्तिको महत्त्वपूर्ण छ भनी एउटा उदाहरणले प्रस्ट देखाउनेछ। सि. टि. रसलले १८८६ मा युगानुयुगका ईश्‍वरीय योजना नामक पुस्तक प्रकाशित गरे र यस पुस्तकको एउटा रेखाचित्रमा मानिसजाति सुरु भएको समयलाई मिश्रको महान्‌ स्तूपसित तुलना गरियो। फिरऊन कुफुको यस स्मारक नै यशैया १९:१९, २० मा बताइएको खामो भन्ठानिन्थ्यो। त्यहाँ यसो भनिएको छ: “त्यस दिन मिश्र देशको बीचमा परमप्रभुको निम्ति एउटा वेदी हुनेछ, र त्यसका सीमानामा परमप्रभुको निम्ति त्यो एउटा खामो खड़ा गरिनेछ। मिश्र देशमा सेनाहरूका परमप्रभुको निम्ति त्यो एउटा चिन्ह र साक्षीको लागि हुनेछ।” त्यस स्तूपको बाइबलसित के सम्बन्ध हुनसक्छ? महान्‌ स्तूपमा कुँदिएको केही विवरणले मत्ती २४:२१ मा उल्लिखित “महा संकष्ट[को]” सुरुआतलाई संकेत गर्छ भन्‍ने सोचाइ राखिन्थ्यो। केही बाइबल स्टुडेन्ट्‌स तिनीहरू स्वर्गमा जाने दिन जस्ता कुराहरू थाह पाउन स्तूपका विभिन्‍न पक्षहरू नाप्न व्यस्त हुन थाले!

१७ नोभेम्बर १५ र डिसेम्बर १, १९२८ को प्रहरीधरहरा-ले यहोवालाई बाइबलमा दिइएको साक्षीको पुष्टि दिन मूर्तिपूजक फिरऊनले बनाएको प्रेतवादी ज्योतिष चिह्नहरू भएको स्मारक आवश्‍यक छैन भनी स्पष्ट पारिएपछि मात्र दशकौंसम्म निकै सम्मान दिइएको महान्‌ स्तूपको आदर गर्न छोडियो। बरु, यशैयाको भविष्यवाणीको आध्यात्मिक पूर्ति भएको प्रस्ट भयो। शैतानको संसारलाई बुझाउन प्रकाश ११:८ मा प्रतीकात्मक अर्थमा “मिश्र” शब्द प्रयोग गरिएको छ। अभिषिक्‍त मसीहीहरूले यस संसारको अस्थायी बासिन्दा होउञ्जेल चढाएका स्वीकार योग्य बलिदानहरूलाई ‘परमप्रभुको निम्ति वेदीले’ बुझाउँछ। (रोमी १२:१; हिब्रू १३:१५, १६) मिश्रको सिमानामा खामोले अभिषिक्‍त मसीहीहरूको मण्डलीलाई बुझाउँछ जुन “जीवित परमेश्‍वरको मण्डली, सत्यको खामा” हो र तिनीहरूले त्याग्नै लागेको संसार अर्थात्‌ “मिश्र[मा]” साक्षीको रूपमा उभिन्छ।—१ तिमोथी ३:१५.

१८. (क) निष्कपट बाइबल स्टुडेन्ट्‌सलाई यहोवाले विभिन्‍न विषयहरूमा कसरी स्पष्टीकरण दिइरहनुभएको छ? (ख) मसीहीलाई कुनै धर्मशास्त्रीय स्पष्टीकरण बुझ्न गाह्रो भयो भने कस्तो मनोभाव देखाउनु बेस हुनेछ?

१८ समयको दौडान यहोवाले आफ्नो भविष्यसूचक वचनलगायत सत्यबारे अन्य थप स्पष्टीकरणहरू दिइरहनुभएको छ। (हितोपदेश ४:१८) हालका वर्षहरूमा पनि हामीलाई अन्त आउनुअघि बिति नजाने पुस्ता, भेडा तथा बाख्राको दृष्टान्त, घिनलाग्दा कुरा तथा यो कहिले पवित्र स्थानमा उभिनेछ, नयाँ करार, येशूको रूप परिवर्तन र इजकिएलको पुस्तकको मन्दिरको दर्शनजस्ता कुराहरू गहिरिएर हेर्न प्रोत्साहित गरिएको छ। कहिलेकाहीं यस्ता थप ज्ञानको अर्थ बुझ्न गाह्रो होला तर तिनीहरूको अर्थ समयमा प्रस्ट हुनेछ। यदि कुनै मसीहीले धर्मशास्त्रको नयाँ ज्ञान पूर्णतया बुझ्दैनन्‌ भने तिनले नम्रतापूर्वक अगमवक्‍ता मीकाका निम्न शब्दहरू सम्झनु बेस हुनेछ: “मलाई बचाउनुहुने परमेश्‍वरको बाटो म हेर्नेछु।”—मीका ७:७.

१९. अभिषिक्‍त शेष जनहरू तथा तिनीहरूका अरू भेडाका सहकर्मीहरूले यस आखिरी दिनमा कसरी सिंहको जस्तो साहस प्रदर्शित गरेका छन्‌?

१९ स्मरण रहोस्‌, पहरादार यसरी “सिंहझैं गर्ज्यो, ‘हे परमप्रभु, म दिनभरि पहरा बस्ने धरहरामा उभिरहन्छु, र रातभरि पनि पहरामा बसिरहन्छु।’ ” (यशैया २१:८) शेष अभिषिक्‍त जनहरूले झूटा धर्मको पर्दाफास गर्न र मानिसहरूलाई स्वतन्त्रताको मार्ग देखाउन सिंहको जस्तो साहस देखाएका छन्‌। (प्रकाश १८:२-५) “विश्‍वासी र बुद्धिमान दास[को]” हैसियतमा तिनीहरूले “ठीक ठीक समयमा खान” विभिन्‍न भाषामा बाइबल, पत्रिका तथा अन्य साहित्यहरूको प्रबन्ध गरेका छन्‌। (मत्ती २४:४५) तिनीहरूले “हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़” जम्मा गर्न नेतृत्व लिएका छन्‌। तिनीहरू पनि येशूको छुडौतीको बलिदानको रगतले पखालिन्छन्‌ र “दिन-रात उहाँको मन्दिरमा उहाँको सेवा” गर्न सिंहको जस्तो साहस देखाउँछन्‌। (प्रकाश ७:९, १४, १५) गत वर्ष यहोवाका अभिषिक्‍त मसीहीहरूको बाँकी रहेको सानो समूह र तिनीहरूको सँगी, ठूलो भीडले कस्तो फल फलाएका छन्‌? यसपछिको लेखले बताउनेछ।

[फुटनोट]

a जनवरी १, १९३९ देखि यो परिवर्तन गरेर “ ‘मनै परमप्रभु हुँ भनी मानिसहरूले जान्‍नेछन्‌’—इजकिएल ३५:१५” राखियो।

के तपाईंलाई सम्झना छ?

वर्षौंको दौडान यहोवाले कस्ता साक्षीहरू खडा गर्नुभएको छ?

महान्‌ बेबिलोनको सुरुआत कसरी भयो?

यहोवाले आफ्ना साक्षीहरूको राष्ट्रको राजधानी यरूशलेम सा.यु.पू. ६०७ र सा.यु. ७० मा किन नाश हुन दिनुभयो?

यहोवाको पहरादार वर्ग र तिनीहरूका सँगीहरूले कस्तो मनोभाव देखाएका छन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ ७-मा भएको चित्र]

“हे परमप्रभु, म दिनभरि पहरा बस्ने धरहरामा उभिरहन्छु”

[पृष्ठ १०-मा भएका चित्रहरू]

यहोवाको पहरादार वर्गले आफ्नो कार्य गम्भीरतापूर्वक लिन्छ