सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वासले तपाईंको जीवन परिवर्तन गर्नसक्छ

विश्‍वासले तपाईंको जीवन परिवर्तन गर्नसक्छ

विश्‍वासले तपाईंको जीवन परिवर्तन गर्नसक्छ

“असल मूल्यमान्यताहरूको लागि परमेश्‍वरमा विश्‍वास गर्नैपर्छ भन्‍ने छैन।” यो थियो, एक अज्ञेयवादीले गरेको ठोकुवा। तिनले परमेश्‍वरमा विश्‍वास नराखिकनै छोराछोरीलाई उच्च नैतिक स्तर सिकाएकी र फलस्वरूप तिनीहरूले पनि आफ्ना छोराछोरीलाई त्यस्तै उच्च नैतिक स्तर सिकाउन सकेको कुरा बताइन्‌।

के यसको अर्थ परमेश्‍वरमा विश्‍वास गर्नु आवश्‍यक छैन? त्यस स्त्रीको सोचाइ यस्तै थियो। अनि यो कुरा पनि साँचो हो कि परमेश्‍वरमा विश्‍वास नगर्ने सबै व्यक्‍ति खराब हुँदैनन्‌। प्रेरित पावलले परमेश्‍वर नचिनेका तर “आफ्ना निम्ति आफ्नै व्यवस्था” बनाएका “अन्यजातिहरू[बारे]” बताए। (रोमी २:१४) अज्ञेयवादीलगायत सबैको आफ्नो अन्तस्करण हुन्छ। अधिकांश मानिसले सही र गलत छुट्याउन सक्ने जन्मजात गुण दिनुहुने परमेश्‍वरलाई विश्‍वास नगरे तापनि तिनीहरूको अन्तस्करणले भनेजस्तो चाहिं गर्ने कोसिस गर्छन्‌।

तथापि, कुनै सहायता, डोऱ्‍याइ नपाएको अन्तस्करणभन्दा बाइबलमा आधारित परमेश्‍वरमाथिको ठोस विश्‍वास निकै प्रभावकारी हुन्छ। परमेश्‍वरको वचन बाइबलमा आधारित विश्‍वासले अन्तस्करणलाई सूचित गर्नुका साथै असल तथा खराब छुट्याउन झनै सजग बनाउँछ। (हिब्रू ५:१४) यसबाहेक, विश्‍वासले मानिसलाई भयंकर दबाबको समयमा पनि उच्चस्तर कायम राख्न बलियो बनाउँछ। उदाहरणका लागि, २० औं शताब्दीको दौडान थुप्रै देशहरू भ्रष्ट राजनैतिक परिपाटीको अधीनमा परेकाले असल मानिसहरू पनि घोर अत्याचार गर्न विवश भए। तथापि, परमेश्‍वरमा साँचो विश्‍वास भएकाहरूले आफ्नो ज्यानै खतरामा हुँदासमेत सिद्धान्तहरूको सम्झौता गरेनन्‌। साथै, बाइबल आधारित विश्‍वासले मानिसहरूलाई परिवर्तन गर्नसक्छ। यसले हरेस खाएर लाचार भएका अनि गम्भीर पापहरू गर्नदेखि टाढै बस्ने मानिसहरूलाई मदत गर्नसक्छ। केही उदाहरणहरू हेर्नुहोस्‌।

विश्‍वासले पारिवारिक जीवन परिवर्तन गर्नसक्छ

“तपाईंले आफ्नो विश्‍वासद्वारा असम्भव कुरालाई सम्भव गर्नुभएको छ।” यो, जोन र टान्याका छोराछोरीको हेरचाह गर्न कसको जिम्मा लगाउने भनी निर्णय गर्दा एक जना बेलाइती न्यायाधीशले बताएको कुरा हो। अधिकारीहरूले सुरुमा जोन र टान्यालाई भेट्‌दा तिनीहरू विवाहित थिएनन्‌ र तिनीहरूको गृहस्थी जीवन अत्यन्तै गोलमाल अवस्थामा थियो। लागू पदार्थका दुर्व्यसनी जोन जुवा पनि खेल्ने गर्थे र तिनी यस कुलतको निम्ति पैसा जुटाउन अपराधिक गतिविधिमा लागेका थिए। तिनले बच्चाहरू र बच्चाको आमाको वास्तै गर्दैनथे। त्यसोभए कसरी त्यस्तो “चमत्कार” भयो त?

एक दिन जोनले आफ्नो भतिजले प्रमोदवनबारे कुरा गरिरहेको सुने। कौतूहल लागेर तिनले भतिजको आमाबाबुलाई सोधे। आमाबाबु यहोवाका साक्षी हुन्‌ र तिनीहरूले त्यसबारे जोनलाई बाइबलबाट सिक्न मदत गरे। बिस्तारै बिस्तारै जोन र टान्याले बाइबल आधारित विश्‍वास विकास गर्न थाले र तिनीहरूको जीवनमा परिवर्तन आउन थाल्यो। तिनीहरूले कानुनी तवरमा विवाह गरे र आफ्ना दुर्गुणहरू हटाउन थाले। अधिकारीहरूले तिनीहरूको घरमा केही समयअघि कल्पनासमेत गर्न नसक्ने परिवर्तनहरू देखे। जस्तै, बच्चाहरू हुर्काउन उपयुक्‍त र सफासुग्घर घरमा बसिरहेको सुखमय परिवार। त्यस न्यायाधीशले यो “चमत्कार” हुनुको कारण जोन र टान्याको नयाँ विश्‍वास हो भन्‍नु एकदमै सही थियो।

बेलाइतबाट एक हजारभन्दा बढी किलोमिटर टाढा नेर इस्टमा एक जवान पत्नी एउटा अत्यन्तै दुःखलाग्दो तथ्यांकमा थपिन लागेकी थिइन्‌। वर्षेनी लाखौं विवाहहरूको सम्बन्धविच्छेद हुन्छ र उनी पनि यही समूहमा सामेल हुने तरखरमा थिइन्‌। उनको एउटा बच्चा थियो तर उनी र श्रीमान्‌बीच धेरै वर्षको फरक थियो। यसैकारण उनका नातेदारहरूले उनलाई सम्बन्धविच्छेद गर्न उक्साइरहेका थिए। अनि उनले पनि प्रबन्धहरू मिलाउन थालिसकेकी थिइन्‌। तथापि, उनी यतिबेला यहोवाको साक्षीसित बाइबल अध्ययन गर्दै थिइन्‌। साक्षीले उनको परिस्थिति थाह पाएपछि विवाहबारे बाइबलले के भन्छ, बताइन्‌। जस्तै, विवाह परमेश्‍वरको वरदान हो र यो ख्यालठट्टाको कुरा होइन। (मत्ती १९:४-६, ९) त्यस स्त्रीले मनमनै सोचिन्‌, ‘मैले चिन्दै नचिनेको मानिसले चाहिं मेरो परिवार नटुक्रोस्‌ भनेर मदत गर्न खोज्नु तर अर्कोतिर आफ्नै नजिकका मानिसहरूले चाहिं टुक्राउन खोज्नु, यो के अचम्म हो।’ यो नयाँ विश्‍वासले उनको विवाहलाई जोगाउन मदत गऱ्‍यो।

पारिवारिक जीवनलाई असर गर्ने अर्को कहालीलाग्दो तथ्यांक गर्भपातसित सम्बन्धित छ। संयुक्‍त राष्ट्र संघको रिपोर्टअनुसार वर्षेनी कम्तीमा पनि ४.५ करोड भ्रूणको जानाजानी गर्भपात गरिन्छ। हरेक भ्रूण हत्या एउटा दुःखद्‌ घटना हो। यस तथ्यांकमा थप योगदान नपुऱ्‍याउन फिलिपिन्सकी एउटी महिलालाई बाइबल ज्ञानले मदत गऱ्‍यो।

यहोवाका साक्षीहरूले उक्‍त महिलालाई भेटे, बाइबल अध्ययन पुस्तिका परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? a स्वीकारिन्‌ र बाइबल अध्ययन गर्न थालिन्‌। उनले बाइबल अध्ययन स्वीकार्नुको कारण महिनौंपछि बताइन्‌। साक्षीहरूलाई पहिलो चोटि भेट्‌दा उनी गर्भवती थिइन्‌ तर उनी र उनको पतिले गर्भ तुहाउने निर्णय गरिसकेका थिए। तथापि, पुस्तिकाको पृष्ठ २४ मा गर्भको शिशुको चित्रले त्यस स्त्रीको हृदय छोयो। जीवन पवित्र छ भनी देखाइएको बाइबल आधारित व्याख्याले उनलाई बच्चा नतुहाउन प्रेरित गऱ्‍यो किनभने ‘परमेश्‍वर जीवनको मूल’ हुनुहुन्छ। (भजन ३६:९) अहिले उनले एक हृष्टपुष्ट बच्चा जन्माएकी छिन्‌।

अपहेलितहरूलाई विश्‍वासले मदत गर्छ

इथियोपियामा दुई जना झुत्रेझाम्रे लुगा लगाएका मानिसहरू यहोवाका साक्षीहरूको उपासना गर्ने सभामा आए। सभा अन्त भएपछि एक जना साक्षीले मित्रैलो ढंगमा तिनीहरूसित चिनापर्ची गरे। ती मानिसहरूले भीख मागे। तर साक्षी भाइले तिनीहरूलाई पैसा होइन, तर त्योभन्दा उत्तम कुरा दिए। साक्षी भाइले तिनीहरूलाई “सुनभन्दा ज्यादै किम्मिती” कुरा अर्थात्‌ परमेश्‍वरमा विश्‍वास गर्न प्रोत्साहन दिए। (१ पत्रुस १:७) तिनीहरूमध्ये एक जनाले कुरा सुने र बाइबल अध्ययन गर्न थाले। यसपछि तिनको जीवनले नयाँ मोड लियो। तिनको विश्‍वास बढ्‌दै जाँदा धूम्रपान, अत्यधिक पिउने बानी, अनैतिकता र खट (लत लाग्ने उत्तेजक तत्त्व) प्रयोग गर्न छोडे। तिनले मागेर हिंड्‌नुभन्दा काम गरेर पेट पाल्न सिके र अहिले तिनी स्वच्छ, सन्तोषजनक जीवन बिताइरहेका छन्‌।

इटालीका एक ४७ वर्षीय मानिसले दस वर्ष कैद सजाय पाए र तिनलाई मानसिक अस्पतालमा राखिएको थियो। कैदीहरूलाई आध्यात्मिक मदत दिन जेलमा जाने अनुमति पाएका यहोवाका एक साक्षीले तिनीसित बाइबल अध्ययन गरे। त्यस मानिसले चाँडचाँडो प्रगति गर्न थाले। विश्‍वासले गर्दा तिनको जीवनमा यस्तो परिवर्तन आयो कि अहिले अरू कैदीहरू आफ्नो समस्या लिएर तिनीकहाँ आउँछन्‌। बाइबल आधारित विश्‍वासको कारण तिनले जेलका अधिकारीहरूबाट आदर, सम्मान र विश्‍वास कमाएका छन्‌।

हालैका वर्षहरूमा खबरपत्रहरूले अफ्रिकाका गृहयुद्धहरूबारे रिपोर्ट गरेका छन्‌। विशेष गरी सिपाही बनाउन तालिम दिइने स-साना केटाहरूको विवरण भयावह छ। आफ्नो सेनाप्रति शतप्रतिशत वफादार होऊन्‌ भन्‍ने हेतुले यी केटाहरूलाई लागू औषधी खुवाएर लट्ठ पारिन्छ, सास्ती दिइन्छ अनि आफ्नै नातेदारहरूप्रति अमानवीय व्यवहार गर्न लगाइन्छ। के त्यस्ता बाइबल आधारित विश्‍वासले यी जवानहरूको जीवन परिवर्तन गर्नसक्छ? यहाँ उल्लिखित दुइटा अवस्थामा यस्तै भयो।

लाइबेरियामा एलेक्स क्याथोलिक चर्चको पूजाआजामा सघाउने काम गर्थे। तर १३ वर्षको उमेरमा तिनी युद्धरत्‌ सैन्यदलमा सामेल भए र कुख्यात बाल सेना बन्‍न पुगे। युद्धको लागि साहसी हुन तिनी बोक्सीविद्यामा लाग्न थाले। आफ्नैअगाडि एलेक्सका थुप्रै साथीहरू मरे तर तिनी भने बचे। सन्‌ १९९७ मा तिनको यहोवाका साक्षीहरूसित भेट भयो र साक्षीहरूले तिनलाई हेला नगरेको महसुस गरे। बरु, बाइबलले हिंसाबारे के भन्छ भनी बुझ्न साक्षीहरूले मदत गरे। एलेक्सले सेना छोडे। तिनको विश्‍वास बढ्‌दै जाँदा बाइबलको यो आज्ञा पालन गरे: “त्यो खराबीबाट फर्कोस्‌ र असल गरोस्‌, त्यसले शान्तिको खोजी गरोस्‌ र त्यसको पछि लागोस्‌।”—१ पत्रुस ३:११, नयाँ संशोधित संस्करण।

यति नै बेला स्यामसन नाउँ गरेको भूतपूर्व बाल सेना अहिले एलेक्स बस्ने शहरमा आइपुगे। तिनी पहिला चर्चको गायन टोलीमा थिए तर १९९३ मा तिनी सेनामा भर्ती भए र लागू पदार्थ, प्रेतवाद र अनैतिकतामा मुछिन पुगे। सन्‌ १९९७ मा तिनलाई सेनाबाट हटाइयो। स्यामसन विशेष सुरक्षा दलमा भर्ती हुन मनरोभिया जाने तर्खरमा थिए तर तिनको एक जना साथीले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न आग्रह गरे र फलस्वरूप तिनले बाइबल आधारित विश्‍वास विकास गरे। फलस्वरूप तिनले आफ्नो जंगली व्यहोरा त्याग्ने साहस पाए। एलेक्स र स्यामसन दुवै अहिले शान्तमय, नैतिक जीवन बिताउँछन्‌। त्यस्तो क्रूरताले भरिएको जीवन परिवर्तन गर्न बाइबल आधारित विश्‍वासबाहेक अरू केले मदत गर्नसक्थ्यो र?

सही प्रकारको विश्‍वास

बाइबल आधारित साँचो विश्‍वासको शक्‍ति चित्रण गर्न थुप्रै उदाहरण उल्लेख गर्न सकिन्छ र यी त केही मात्र हुन्‌। निस्सन्देह, परमेश्‍वरमा विश्‍वास गर्छौं भनी दाबी गर्ने सबै व्यक्‍तिहरूले बाइबलको उच्चस्तरअनुसार जीवन बिताइरहेका हुँदैनन्‌। साँच्चै भन्‍ने हो भने, केही मसीही भनौंदाहरूले भन्दा कतिपय नास्तिकहरूले असल जीवन बिताइरहेका हुनसक्छन्‌। किनभने बाइबल आधारित विश्‍वास भनेको परमेश्‍वरलाई विश्‍वास गर्छौं भन्‍नु मात्र होइन।

प्रेरित पावलले “विश्‍वासचाहिं आशा राखेका कुराको निश्‍चयता, र नदेखेका कुराको प्रमाण हो” भने। (हिब्रू ११:१) यसर्थ, अकाट्य प्रमाणको आधारमा नदेखेका कुराहरू पत्याउनु भनेको विश्‍वास हुनु हो। विशेष गरी परमेश्‍वरको अस्तित्व छ, उहाँ हाम्रो चासो राख्नुहुन्छ र उहाँको इच्छाअनुरूप गर्नेहरूलाई आशिष्‌ दिनुहुन्छ भन्‍ने कुरामा पटक्कै शंका नराख्नु यसमा समावेश छ। प्रेरित पावलले यसो पनि भने: “जो परमेश्‍वरकहाँ आउँछ, त्यसले उहाँको अस्तित्व छ भन्‍ने, र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्‍ने अवश्‍य विश्‍वास गर्नुपर्छ।”—हिब्रू ११:६.

यस्तै प्रकारको विश्‍वासले नै जोन, टान्या र यस लेखमा उल्लिखित अरूको जीवनमा परिवर्तन ल्यायो। निर्णय गर्न डोऱ्‍याइको निम्ति परमेश्‍वरको वचन बाइबलमा पूरा भरोसा राख्न तिनीहरूलाई विश्‍वासले उत्प्रेरित गऱ्‍यो। यसले तिनीहरूलाई सजिलो तर गलत मार्ग नअपनाउन, सांसारिक कुराहरू त्याग्न मदत गऱ्‍यो। माथि उल्लिखित सबै अनुभवहरू बेग्लाबेग्लै भए तापनि ती सबैको सुरुआत एउटै तरिकामा भयो। तिनीहरू सबैले यहोवाको साक्षीसित बाइबल अध्ययन गरे र बाइबलको सत्यता महसुस गर्न थाले। बाइबलमा यसो भनिएको छ: “परमेश्‍वरको वचन जीवित र प्रबल” छ। (हिब्रू ४:१२) परमेश्‍वरको वचनको शक्‍तिले ती सबैलाई बलियो विश्‍वास विकास गर्न मदत गऱ्‍यो र यसले तिनीहरूको जीवनमा नयाँ मोड ल्यायो।

यहोवाका साक्षीहरू २३० भन्दा बढी देश तथा टापुहरूमा सक्रिय छन्‌। तिनीहरू तपाईंलाई बाइबल अध्ययन गर्न निम्तो दिन्छन्‌। किन? किनभने बाइबल आधारित विश्‍वासले तपाईंको जीवनमा पनि ठूलठूला परिवर्तनहरू गर्नसक्छ भनी तिनीहरू विश्‍वस्त छन्‌।

[फुटनोट]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।

[पृष्ठ ३-मा भएका चित्रहरू]

बाइबल आधारित विश्‍वासले जीवनमा असल परिवर्तनहरू गर्छ

[पृष्ठ २-मा भएको चित्रको स्रोत]

Title card of Biblia nieświeska by Szymon Budny, 1572