सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साँचो ख्रीष्टियनहरू परमेश्‍वरको वचनलाई आदर गर्छन्‌

साँचो ख्रीष्टियनहरू परमेश्‍वरको वचनलाई आदर गर्छन्‌

“तपाईंको वचन सत्य हो।”—यूह. १७:१७.

१. यहोवाका साक्षीहरू अरू धार्मिक समूहभन्दा फरक भएको एउटा महत्त्वपूर्ण पक्ष कुन हो, तपाईंको आफ्नै अनुभवबाट बताउनुहोस्‌।

 पहिलो पटक कुनै यहोवाको साक्षीसँग अर्थपूर्ण कुराकानी गरेको समयबारे सम्झनुहोस्‌। त्यसबारे तपाईंले के कुरा सम्झनुभएको छ? थुप्रैले यसरी जवाफ दिन्छन्‌, ‘मैले भेटेको साक्षीले मेरा सबै प्रश्‍नको जवाफ बाइबलबाटै दिंदा यसले मलाई प्रभाव पाऱ्‍यो।’ पृथ्वीको लागि परमेश्‍वरको उद्देश्‍य, मरेपछिको अवस्था र मरिसकेका प्रियजनहरूको भविष्यको आशाबारे थाह पाउँदा हामी कत्ति हर्षित भएका थियौं!

२. तपाईंले बाइबलको कदर गर्न थाल्नुका केही कारण बताउनुहोस्‌।

तर बाइबलले जीवन, मृत्यु अनि भविष्यबारे मात्र नभई अरू थुप्रै कुराहरू पनि बताउँछ भनी हामीले अध्ययन गर्दै जाँदा थाह पायौं। बाइबल संसारकै सबैभन्दा व्यावहारिक पुस्तक भएकोले हामीले यसको कदर गर्न थाल्यौं। यसले दिने सल्लाह कहिल्यै पुरानो हुँदैन र यसलाई होसियारीपूर्वक पछ्याउने व्यक्‍तिले सफल र आनन्दित जीवन प्राप्त गर्न सक्छ। (भजन १:१-३ पढ्‌नुहोस्‌) साँचो ख्रीष्टियनहरूले बाइबललाई “मानिसहरूको वचनको रूपमा होइन तर परमेश्‍वरकै वचनको रूपमा” सधैं स्वीकारेका छन्‌। (१ थिस्स. २:१३) परमेश्‍वरको वचनलाई साँचो आदर गर्ने र नगर्ने मानिसहरूबीचको भिन्‍नता बुझ्न इतिहासमा घटेको एउटा घटनाको छोटो पुनरावलोकनले मदत गर्नेछ।

एउटा जटिल विवाद साम्य पारिन्छ

३. कस्तो विवादले प्रथम शताब्दीको मण्डलीको एकतालाई खतरामा पाऱ्‍यो? यो किन जटिल विवाद थियो?

खतना नगरिएका अन्यजातिबाट ख्रीष्टियन बनेका पहिलो व्यक्‍ति कर्नीलियस थिए। तिनी ख्रीष्टियन बनेको १३ वर्ष बितिसकेको थियो। त्यसबेला मण्डलीको एकतालाई नै खतरामा पार्ने एउटा विवाद उत्पन्‍न भयो। अरू थुप्रै अन्यजातिले पनि ख्रीष्टियन विश्‍वासलाई अँगालिरहेका थिए। त्यहाँ खडा भएको प्रश्‍न थियो, के यस्ता व्यक्‍तिहरूले बप्तिस्मा गर्नुअघि यहूदी परम्पराअनुसारै खतना गर्नुपर्छ? यो कुनै पनि यहूदीको लागि एकदमै गाह्रो प्रश्‍न थियो। व्यवस्था पालन गर्ने यहूदीहरू अन्यजातिका मानिसहरूको घरभित्र समेत पस्दैन थिए, उनीहरूसित सरसङ्‌गत गर्नु त परै जाओस्‌। ख्रीष्टियन बनेका यहूदीहरू आफ्नो परम्परागत धर्म त्यागेकोले गर्दा पहिले नै सताइनुसम्म सताइएका थिए। झन्‌ अब खतना नगरिएका अन्यजातिहरूलाई आफूमाझ स्वागत गर्दा त यहूदी मत मान्‍नेहरू र ख्रीष्टियनहरूबीच झनै फाटो आउनेथियो र ती ख्रीष्टियनहरू झनै सताइने थिए।—गला. २:११-१४.

४. विवाद सुल्झाउन क-कसलाई बोलाइयो अनि यस सन्दर्भमा अरूको मनमा कस्ता प्रश्‍नहरू उठ्‌न सक्थ्यो?

इस्वी संवत्‌ ४९ मा प्रेषितहरू र यरूशलेमका एल्डरहरू, जो आफै पनि खतना गरिएका यहूदीहरू थिए, “यस विषयमा छलफल गर्न . . . एकै ठाउँमा भेला भए।” (प्रेषि. १५:६) तिनीहरू त्यहाँ धर्म-सिद्धान्तसम्बन्धी अर्थ न बर्थको विवाद गरेर बसेनन्‌ तर बाइबल शिक्षासम्बन्धी जीवन्त छलफल गरे। त्यस छलफलमा उपस्थित सबैले आ-आफ्नो राय जोडदार ढङ्‌गमा व्यक्‍त गरे। के तिनीहरूले व्यक्‍तिगत छनौट वा पूर्वाग्रहको आधारमा निर्णय गर्नेथिए? के ती जिम्मेवार एल्डरहरूले इस्राएलको धार्मिक अवस्था ख्रीष्टियनहरूको लागि अनुकूल नहोउन्जेल निर्णयलाई पछि सार्नेथिए? अथवा अन्तिम सहमतिमा त आउनै पऱ्‍यो भनेर आफूलाई चित्त नबुझे पनि कुनै एउटा कुरामा सहमति जनाउनेथिए?

५. इस्वी संवत्‌ ४९ मा यरूशलेममा भएको सभा कुन महत्त्वपूर्ण तरिकाहरूमा चर्च परिषद्‌को सभाभन्दा भिन्‍न थियो?

आज चर्च परिषद्‌हरूमा सम्झौता गर्नु र आफूलाई चित्त नबुझे तापनि निष्कर्ष निकाल्नकै लागि मात्र भए पनि सहमतिमा आउन दबाब दिनु सामान्य कुरा हो। तथापि यरूशलेममा भएको त्यो सभामा भने सम्झौता गरिएन; न त भोट दिनको लागि दबाब नै दिइयो। तैपनि सर्वसम्मत निर्णय गरियो। यो कसरी सम्भव भयो? सबैले आ-आफ्नो विचार जोडदार ढङ्‌गमा प्रस्तुत गरे तापनि त्यहाँ उपस्थित सबै जना परमेश्‍वरको वचनलाई आदर गर्थे र समस्याको समाधान पनि त्यही पवित्र शास्त्रमा थियो।—भजन ११९:९७-१०१ पढ्‌नुहोस्‌।

६, ७. खतनासम्बन्धी विवाद सुल्झाउन धर्मशास्त्रको प्रयोग कसरी गरियो?

आमोस ९:११, १२ का शब्दहरूले विवाद सुल्झाउन मदत गऱ्‍यो। प्रेषित १५:१६, १७ मा ती शब्दहरूलाई यसरी उद्धरण गरिएको छ: “म फर्कनेछु र दाऊदको भत्किएको बासस्थान पुनर्निर्माण गर्नेछु; त्यसको भग्नावशेषलाई पुनर्निर्माण गर्नेछु र त्यसलाई फेरि खडा गर्नेछु, ताकि बाँकी रहेका मानिसहरूले सबै गैर-यहूदीहरूसित मिलेर जोडतोडले यहोवाको खोजी गर्न सकून्‌, जसको विषयमा यी सबै काम गर्ने यहोवा भन्‍नुहुन्छ, यी मेरो नामद्वारा पुकारिने मानिसहरू हुन्‌।”

कसै-कसैले यसो भन्‍न सक्छन्‌, ‘तर विश्‍वास गर्ने अन्यजातिहरूले खतना गर्नु जरुरी छैन भनेर त यो पदमा लेखिएको छैन नि।’ कुरा सही हो; तर यहूदी ख्रीष्टियनहरूले भने खतना गर्नु जरुरी छैन भनेर नै बुझ्थे। किन? किनकि खतना गरेका अन्यजातिहरूलाई यहूदी ख्रीष्टियनहरूले दाजुभाइको रूपमा हेर्थे, ‘गैर-यहूदीहरूको’ रूपमा होइन। (प्रस्थ. १२:४८, ४९) उदाहरणको लागि, सेप्टुआजिन्ट-को बाग्स्‌टर संस्करणमा एस्तर ८:१७ मा यस्तो लेखिएको छ: “अन्यजातिमध्येका थुप्रैले खतना गरे अनि यहूदी बने।” त्यसैले इस्राएलको घरानाको बाँकी रहेका मानिसहरू (यहूदीहरू र खतना गरेर यहूदी बनेकाहरू) “सबै गैर-यहूदीहरूसित” (खतना नगरेका अन्यजातिहरू) मिलेर परमेश्‍वरको नामको खातिर एकै जातिका हुनेछन्‌ भनी धर्मशास्त्रले गरेको भविष्यवाणीको अर्थ स्पष्ट थियो। ख्रीष्टियन बन्‍न चाहने अन्यजातिहरूले खतना गर्नु जरुरी थिएन।

८. ख्रीष्टियनहरूले गरेको निर्णयमा साहसले कस्तो भूमिका खेल्यो?

परमेश्‍वरको वचन र उहाँको शक्‍तिले साँचो ख्रीष्टियनहरूलाई “सर्वसम्मति”-मा पुऱ्‍यायो। (प्रेषि. १५:२५) यो निर्णयको कारण यहूदी ख्रीष्टियनहरूमाथि अझ धेरै सतावट आइपर्न सक्थ्यो। तैपनि वफादार जनहरूले बाइबलआधारित यस निर्णयलाई पूरापूर समर्थन गरे।—प्रेषि. १६:४, ५.

स्पष्ट भिन्‍नता

९. साँचो उपासना दूषित हुनुको एउटा प्रमुख कारण के थियो र कुन महत्त्वपूर्ण शिक्षालाई बङ्‌ग्याइयो?

प्रेषितहरूको मृत्युपछि झूटो शिक्षाले ख्रीष्टियनहरूको विश्‍वासलाई दूषित पार्नेछ भनी प्रेषित पावलले भविष्यवाणी गरे। (२ थिस्सलोनिकी २:३,  पढ्‌नुहोस्‌) “साँचो शिक्षालाई तिरस्कार गर्नेहरूमध्ये केही मण्डलीका जिम्मेवार व्यक्‍तिहरू नै हुनेथिए। (२ तिमो. ४:३) पावलले आफ्नो समयका एल्डरहरूलाई यस्तो चेतावनी दिए: “टेढोमेढो कुरा गरेर चेलाहरूलाई आफूतिर तान्‍ने मानिसहरू पनि तपाईंहरूकै बीचबाट उठ्‌नेछन्‌।” (प्रेषि. २०:३०) टेढोमेढो तर्कतिर डोऱ्‍याएको एउटा प्रमुख कारणबारे द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका यसरी बताउँछ: “ग्रीक दर्शनबारे केही ज्ञान हुने ख्रीष्टियनहरूले आफ्नो बौद्धिक सन्तुष्टिको लागि र शिक्षित गैर-ख्रीष्टियनहरूलाई ख्रीष्टियन बनाउनको लागि आफ्नो धार्मिक विश्‍वासलाई ग्रीक दर्शनअनुसार ढाल्नुपर्ने आवश्‍यकता महसुस गरे।” यसरी टेढोमेढो पारिएको एउटा महत्त्वपूर्ण शिक्षा येशूको चिनारीसँग सम्बन्धित थियो। बाइबलले येशूलाई परमेश्‍वरको छोरा भन्छ तर ग्रीक दर्शन मान्‍नेहरूले उहाँ नै परमेश्‍वर हुनुहुन्छ भनी जिद्दी गरे।

१०. ख्रीष्टको चिनारीसम्बन्धी विवाद कसरी सुल्झिन सक्थ्यो?

१० यस विषयमा थुप्रै चर्च परिषद्‌मा विवाद भयो। धर्मशास्त्रले येशूबारे बताएको कुरालाई विचार गरेको भए सजिलैसित त्यस विवादको समाधान हुनेथियो तर त्यहाँ उपस्थित अधिकांशले त्यसो गरेनन्‌। वास्तवमा त्यहाँ उपस्थित अधिकांशले त्यहाँ आउनुभन्दा अगाडि नै आ-आफ्नो धारणा बनाइसकेका थिए र तिनीहरूको निर्णयलाई कुनै पनि कुराले परिवर्तन गर्न सक्दैनथ्यो। ती सभाहरूमा गरिएको निर्णयमा बाइबलबारे उल्लेखसमेत गरिएन।

११. चर्चका पादरी भनौंदाहरूको अख्तियारलाई कुन हदसम्म महत्त्व दिइयो र किन?

११ धर्मशास्त्रबाट किन विस्तृत छलफल गरिएन? शास्त्रविद्‌ चार्ल्स्‌ फ्रिम्यानअनुसार येशू नै परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्नेहरूले “येशू परमेश्‍वरको अधीनमा हुनुहुन्छ भनी सङ्‌केत गर्ने येशूका थुप्रै भनाइलाई खण्डन गर्न सकेनन्‌।” फलस्वरूप, सुसमाचारका पुस्तकहरूलाई भन्दा चर्चका परम्परा र विचारधाराहरूलाई नै महत्त्वपूर्ण मान्‍न थालियो। आज पनि धेरैजसो धर्म-गुरुहरू परमेश्‍वरको वचनलाई भन्दा चर्चका पादरी भनौंदाहरूको निराधार भनाइलाई बढी महत्त्व दिन्छन्‌! यदि तपाईंले धर्मपीठको विद्यार्थीसँग त्रिएकको शिक्षाबारे छलफल गर्नुभएको छ भने यो कुरा तपाईंले पनि महसुस गर्नुभएको हुनुपर्छ।

१२. सम्राट्‌ कन्स्टेन्टाइनले कस्तो नकारात्मक प्रभाव पारे?

१२ चर्च परिषद्‌को सभाहरूमा रोमी सम्राट्‌हरूको अत्यन्तै ठूलो प्रभाव हुन्थ्यो। यस सन्दर्भमा, नाइसी परिषद्‌बारे प्राध्यापक रिचार्ड ई. रूबेन्सटाइनले यस्तो लेखे: “सम्राट्‌ कन्स्टेन्टाइनले [विशपहरूको] जस्तोसुकै चाहनालाई समर्थन गर्नुका साथै पूरा पनि गरेका थिए। यी नयाँ सम्राट्‌ले विशपहरूले गुमाएका सम्पूर्ण कुराहरू जस्तै:- चर्च, जागिर र मानसम्मान एक वर्षभन्दा कम समयमै फिर्ता दिलाए। . . . पहिले-पहिले अरू धर्मका गुरुहरूले मात्र पाइरहेका सुविधा र अवसरहरू ती विशपहरूलाई पनि दिए।” नतिजास्वरूप, “नाइसी परिषद्‌का निर्णयहरूमा प्रभाव पार्ने मात्र होइन तर निर्णय नै बदल्न सक्नेसम्मको अख्तियार कन्स्टेन्टाइनले पाए।” यस कुरालाई पुष्टि गर्दै चार्ल्स्‌ फ्रिम्यानले यसो भने: “अब त सम्राट्‌ले चर्चलाई बलियो पार्ने मात्र होइन, यसका शिक्षाहरूमा प्रभाव पार्ने अधिकारसमेत पाइसकेका थिए।”—याकूब ४:४ पढ्‌नुहोस्‌।

१३. तपाईंको विचारमा, बाइबलको स्पष्ट शिक्षालाई समेत चर्चका धर्म-गुरुहरूले किन बेवास्ता गरे?

१३ चर्चका उच्च पदाधिकारीहरूलाई येशूको वास्तविक चिनारी बुझ्न गाह्रो भए तापनि धेरैजसो आम मानिसहरूमा भने त्यस्तो समस्या थिएन। किनकि चर्चका धर्म-गुरुहरू सम्राट्‌बाट पैसा र शक्‍ति पाउन चाहन्थे। त्यसैले तिनीहरूले बाइबलको कुरालाई बेवास्ता गरे। तर आम मानिसहरूले भने धर्मशास्त्रमा पढेका कुराहरूलाई स्पष्टसँग बुझेका र स्वीकारेका थिए। त्यस समयका धर्मविद्‌ नीसका ग्रेगोरीले आम मानिसहरूबारे यस्तो उपहासपूर्ण टिप्पणी गरे: “लुगा पसले, पैसा साट्‌ने अनि किराना पसले सबै नै धर्मविद्‌ हुन्‌। पैसाको दरबारे सोध्नुभयो भने छोरा बुबाभन्दा भिन्‍नै हुनुहुन्छ भनी जवाफ दिएर दार्शनिक भई टोपल्छन्‌। रोटीको मूल्य सोध्नुभयो भने छोराभन्दा बुबा ठूलो हुनुहुन्छ भन्‍ने जवाफ पाउनुहुन्छ। नुहाउने ठाउँ तयार भयो कि भएन भनेर सोध्नुभयो भने छोरालाई सृष्टि गरिएको हो भन्‍ने जवाफ पाउनुहुन्छ।” चर्चका पदाधिकारीहरू जस्तो नभई थुप्रै आम मानिसले परमेश्‍वरको वचन प्रयोग गरेर सत्यलाई समर्थन गरिरहेका थिए। ग्रेगोरी र तिनका समर्थकहरूले पनि ती आम मानिसको कुरा सुनेको भए राम्रो हुनेथियो।

“गहुँ” र “सामा” सँगसँगै बढ्‌छन्‌

१४. प्रथम शताब्दीदेखि यता पृथ्वीमा सधैं केही साँचो अभिषिक्‍त ख्रीष्टियनहरू छन्‌ भन्‍ने निष्कर्षमा हामी किन पुग्न सक्छौं?

१४ प्रथम शताब्दीदेखि यता केही साँचो अभिषिक्‍त ख्रीष्टियनहरू पृथ्वीमा सधैं हुनेछन्‌ भनी येशूले एउटा दृष्टान्तमार्फत सङ्‌केत गर्नुभयो। उहाँले तिनीहरूलाई “सामा” सँगसँगै बढ्‌दै गरेका “गहुँ”-सित तुलना गर्नुभयो। (मत्ती १३:३०) कुन व्यक्‍ति अथवा समूह अभिषिक्‍त गहुँ वर्गका थिए भनेर हामी यकिनका साथ भन्‍न त सक्दैनौं। तैपनि परमेश्‍वरको वचनलाई साहसी भई समर्थन गर्ने र चर्चको गैर-धर्मशास्त्रीय शिक्षाहरूको पर्दाफास गर्ने केही मानिसहरू सधैं थिए भनी हामी पक्का हुन सक्छौं। केही उदाहरण विचार गरौं।

१५, १६. परमेश्‍वरको वचनलाई आदर गरेका केही व्यक्‍तिको नाम बताउनुहोस्‌।

१५ फ्रान्सको लियोन्सका आर्कबिशप एगोबार्डले (इस्वी संवत्‌ ७७९-८४०) मूर्तिपूजा, सन्तहरूमा अर्पित चर्चहरू र चर्चका गैर-धर्मशास्त्रीय संस्कार र प्रचलनहरूविरूद्ध आवाज उठाए। तिनका समकालीन विशप क्लौडियसले पनि चर्चका प्रचलनहरूलाई इन्कार गरे र सन्तहरूलाई प्रार्थना गर्ने अनि धार्मिक अवशेषको उपासना गर्ने कुराको विरोध गरे। एघारौं शताब्दीमा, फ्रान्सको टुअर्सका आर्कडिकन बेरेनगारसले पनि ट्रान्स-सब्स्‌टेन्सीएशन अर्थात्‌ रोटी र दाखमद्य येशूको शरीर र रगतमा परिणत हुन्छ भन्‍ने क्याथोलिक शिक्षालाई इन्कार गरे। त्यसैले तिनलाई चर्चबाट बहिष्कार गरियो। साथै तिनले चर्चका प्रचलनहरूलाई भन्दा बाइबलले बताएको कुरालाई नै मान्यता दिनुपर्छ भनी बताए।

१६ बाह्रौं शताब्दीमा, बाइबल सत्यलाई प्रेम गर्ने दुई व्यक्‍तिहरू देखा परे। उनीहरू ब्रुज भन्‍ने ठाउँका पिटर र लोजान भन्‍ने ठाउँका हेन्री थिए। शिशु-बप्तिस्मा, ट्रान्स-सब्स्‌टेन्सीएशन, मृतकहरूका लागि गरिने प्रार्थना र क्रस-उपासनाजस्ता शास्त्रसँग मेल नखाने क्याथोलिक शिक्षाहरूको कारण पिटरले पादरी पदबाट राजीनामा दिए। आफ्नो यस्तो अडानको कारण सन्‌ ११४० मा तिनले आफ्नो ज्यान गुमाउनुपऱ्‍यो। हेन्री एक भिक्षु थिए र तिनले चर्चका भ्रष्ट प्रचलन तथा गैर-धर्मशास्त्रीय संस्कारविरुद्ध आवाज उठाए। सन्‌ ११४८ मा तिनी पक्राउ परे र आफ्नो बाँकी जीवन थुनामै बिताए।

१७. वाल्डो र तिनका समर्थकहरूले कस्तो महत्त्वपूर्ण कदम चाले?

१७ चर्चको विरोध गर्ने आँट गरेकोमा ब्रुजका पिटरलाई जिउँदै जलाइयो। त्यसै समयतिर एक जना यस्तो व्यक्‍तिको जन्म भयो जसले पछि गएर बाइबल सत्य फैलाउन ठूलो भूमिका निर्वाह गर्नेथिए। तिनको अन्तिम नाम वाल्डेस अर्थात्‌ वाल्डो थियो। a ब्रुजका पिटर र लोजानका हेन्रीले जस्तो धार्मिक प्रशिक्षण त तिनले पाएका थिएनन्‌। तैपनि तिनी परमेश्‍वरको वचनलाई यति आदर गर्थे कि आफूसँग भएका भौतिक चिजबीजबाट तिनले आफूलाई अलग राखे र दक्षिण-पूर्वी फ्रान्सका मानिसहरूले बोल्ने भाषामा बाइबलका केही अंश अनुवाद गर्न लागिपरे। आफ्नै भाषामा बाइबल सन्देश सुन्‍न पाउँदा केही मानिसहरू यति रोमाञ्चित भए कि तिनीहरूले पनि आफूसँग भएका चिजबीजहरू अरूलाई दिए र बाइबल सत्य सिकाउन आफ्नो जीवन अर्पण गरे। चर्चका पादरीहरूका लागि यो कुरा सहिनसक्नु भयो। पछि गएर वाल्डोवादी भनेर चिनिएका यी जोसिला पुरुष तथा स्त्रीलाई सन्‌ ११८४ मा पोपले बर्खास्त गरे र विशपले तिनीहरूलाई घरनिकाला गरिदिए। यसले गर्दा अरू इलाकामा पनि बाइबल सन्देश फैलियो। समयको दौडान वाल्डो, ब्रुजका पिटर र लोजानका हेन्रीका समर्थकहरू अनि चर्चका शिक्षाहरू चित्त नबुझेका अन्य मानिस युरोपका विभिन्‍न ठाउँमा फैलिए। त्यसपछिका शताब्दीमा बाइबल सत्यलाई समर्थन गर्ने यी मानिसहरू देखा परे: जोन विक्लिफ (करिब १३३०-१३८४), विलियम टिन्डेल (करिब १४९४-१५३६), हेन्री ग्रू (१७८१-१८६२) र जर्ज स्टोर्स (१७९६-१८७९)।

“परमेश्‍वरको वचन . . . बन्धनमा परेको छैन”

१८. उन्‍नाइसौं शताब्दीका निष्कपट बाइबल विद्यार्थीहरूले बाइबल अध्ययन गर्न अपनाएको तरिकाबारे बताउनुहोस्‌। त्यो तरिका किन प्रभावकारी थियो?

१८ जतिसुकै कोसिस गरे तापनि बाइबल सत्यका शत्रुहरूले यसलाई फैलनदेखि रोक्न सकेका छैनन्‌। दोस्रो तिमोथी २:९ भन्छ: “परमेश्‍वरको वचन . . . बन्धनमा परेको छैन।” सन्‌ १८७० मा बाइबल विद्यार्थीहरूको एउटा निष्कपट समूहले सत्य खोजी गर्न सुरु गऱ्‍यो। तिनीहरूले कस्तो तरिका अपनाए? एक जनाले कुनै विषयसँग सम्बन्धित एउटा प्रश्‍न उठाउँथ्यो र सबै जना मिलेर त्यसबारे छलफल गर्थे। सम्बन्धित सबै शास्त्रपदहरू हेर्थे। सबै शास्त्रपदहरू दाँजेपछि निस्किएको निष्कर्षलाई तिनीहरू लिखित रूपमा राख्थे। प्रथम शताब्दीका प्रेषित र एल्डरहरूले जस्तै उन्‍नाइसौं शताब्दीका यी वफादार मानिसहरूले आफ्नो विश्‍वासलाई पूर्णतया परमेश्‍वरको वचनमै आधारित बनाए। यो कुरा थाह पाउनु साँच्चै प्रोत्साहनदायी छ।

१९. सन्‌ २०१२ को वार्षिकपद के हो र यो किन सुहाउँदो छ?

१९ आज पनि हाम्रो विश्‍वासको आधार बाइबल नै हो। यो कुरालाई विचार गर्दै यहोवाका साक्षीहरूको परिचालक निकायले येशूको यो दृढ भनाइलाई सन्‌ २०१२ को वार्षिकपदको रूपमा रोजेको छ: “तपाईंको वचन सत्य हो।” (यूह. १७:१७) परमेश्‍वरको अनुमोदन पाउन चाहने जोसुकै पनि सत्यबमोजिम हिंड्‌नुपर्ने भएकोले हामी सबै जना नै परमेश्‍वरको वचनको डोऱ्‍याइअनुसार चल्न कोसिस गरिरहौं।

[फुटनोट]

a वाल्डेसलाई कहिलेकाहीं पिएर वाल्डेस अथवा पिटर वाल्डो पनि भनिएको छ। तर तिनको पहिलो नाम भने पक्का छैन।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ८-मा भएको ठूलो अक्षरको क्याप्सन]

सन्‌ २०१२ को हाम्रो वार्षिकपद: “तपाईंको वचन सत्य हो।”—यूहन्‍ना १७:१७

[पृष्ठ ७-मा भएको चित्र]

वाल्डो

[पृष्ठ ७-मा भएको चित्र]

विक्लिफ

[पृष्ठ ७-मा भएको चित्र]

टिन्डेल

[पृष्ठ ७-मा भएको चित्र]

ग्रू

[पृष्ठ ७-मा भएको चित्र]

स्टोर्स