सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साना छोराछोरीलाई यहोवाको सेवा गर्न तालिम दिनुहोस्‌

साना छोराछोरीलाई यहोवाको सेवा गर्न तालिम दिनुहोस्‌

‘हे परमप्रभु, तपाईंले पठाउनुभएका ती मानिसले जन्मने बालकको निम्ति हामीले के गर्नुपर्छ त्यो हामीलाई बताइदेऊन्‌।’—न्याय. १३:८.

गीत: ८८, १२०

१. आफ्नो सन्तान जन्मँदै छ भनेर थाह पाउँदा मानोहलाई कस्तो लाग्यो?

 मानोहको परिवारमा वर्षौंपछि खुसीको बहार छायो। स्वर्गदूतले मानोहकी पत्नीलाई उनले छोरा जन्माउनेछिन्‌ भन्‍ने सन्देश सुनाए। यो कुरा थाह पाउँदा उनीहरू दुवै जना छक्क परे होलान्‌। किनकि मानोहकी पत्नी बाँझी भएकीले यो कुरा सम्भवै थिएन। तर सन्तान जन्मँदै छ भन्‍ने खबर सुनेर मानोह पक्कै खुसी भए। आफ्नो काँधमा आइपरेको जिम्मेवारी कसरी पूरा गर्ने भनेर तिनलाई चिन्ता पनि लागिरहेको थियो होला। जताततै हिंसा अनि अपराधले भरिएको समाजमा सन्तान हुर्काउनु चानचुने कुरा थिएन। त्यसकारण मानोहले यहोवालाई यस्तो बिन्ती गरे: “हे परमप्रभु, . . . तपाईंले पठाउनुभएका . . . ती मानिस फेरि एकपल्ट आऊन्‌ र त्यो जन्मने बालकको निम्ति हामीले के गर्नुपर्छ त्यो हामीलाई बताइदेऊन्‌।”—न्याय. १३:१-८.

२. आमाबुबाको काँधमा कुन जिम्मेवारी छ? तिनीहरूले यो जिम्मेवारी कसरी पूरा गर्न सक्छन्‌? (“ तपाईंको सबैभन्दा महत्त्वपूर्ण बाइबल विद्यार्थी” भन्‍ने पेटी हेर्नुहोस्‌)

तपाईंको पनि छोराछोरी छन्‌ भने मानोहले यहोवालाई त्यस्तो बिन्ती गर्नुको कारण सजिलै बुझ्न सक्नुहुन्छ। तपाईंको काँधमा पनि छोराछोरीलाई साँचो परमेश्‍वर चिनाउने र उहाँलाई प्रेम गर्न सिकाउने महत्त्वपूर्ण जिम्मेवारी आइपरेको छ। (हितो. १:८) यो जिम्मेवारी पूरा गर्न ख्रीष्टियन आमाबुबाले पारिवारिक उपासनाको तालिका बनाउँछन्‌। त्यसका लागि पूर्व-तयारी गर्छन्‌ अनि छोराछोरीको आध्यात्मिक उन्‍नति हुने विषयमा छलफल गर्छन्‌। तर छोराछोरीको मनमा परमेश्‍वरको वचनले गहिरो जरा गाडेको चाहनुहुन्छ भने पारिवारिक उपासना गरेर मात्र पुग्दैन। (व्यवस्था ६:६-९ पढ्‌नुहोस्‌) त्यसोभए अरू के गर्नुपर्छ? आमाबुबाले येशूको अनुकरण गर्नुपर्छ। आमाबुबाले कसरी येशूको अनुकरण गर्न सक्छन्‌? यसबारे यो लेखमा र अर्को लेखमा छलफल गर्नेछौं। हुन त येशू अविवाहित हुनुहुन्थ्यो र उहाँको छोराछोरी थिएन। तैपनि उहाँले बसाल्नुभएको उदाहरणबाट आमाबुबाले लाभ उठाउन सक्छन्‌। चेलाहरूलाई शिक्षा र तालिम दिंदा उहाँले माया, नम्रता र अन्तरदृष्टि जस्ता गुणहरू प्रकट गर्नुभयो। आमाबुबाले कसरी यो गुण विकास गर्न सक्छन्‌, अब एक-एक गर्दै छलफल गरौं।

छोराछोरीलाई माया गर्नुहोस्‌

३. चेलाहरूलाई माया गर्छु भनेर येशूले कसरी देखाउनुभयो?

येशूले आफ्ना चेलाहरूलाई ‘म तिमीहरूलाई माया गर्छु’ भन्‍न कहिल्यै अप्ठेरो मान्‍नुभएन र आफूले बोलेको कुरा कामबाट पनि देखाउनुभयो। (यूहन्‍ना १५:९ पढ्‌नुहोस्‌) उहाँले चेलाहरूसित कामकै विषयमा मात्र कुरा गर्नुभएन। बरु उनीहरूसित रमाइलो गर्नुभयो र एकान्तमा समय बिताउनुभयो। (मर्कू. ६:३१, ३२; यूह. २:२; २१:१२, १३) त्यसकारण येशूले माया गर्नुहुन्छ भन्‍ने कुरामा चेलाहरू ढुक्क थिए। अहिले आमाबुबाहरूले कसरी येशूको अनुकरण गर्न सक्छन्‌?

४. तपाईं छोराछोरीलाई आफ्नो माया कसरी देखाउन सक्नुहुन्छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

आमाबुबा हो, ‘तिमीलाई माया गर्छु’ भनेर छोराछोरीलाई बताउनुहोस्‌। तपाईं उनीहरूलाई आफ्नो मुटुको टुक्रा ठान्‍नुहुन्छ भन्‍ने महसुस गराउनुहोस्‌। (मत्ती ३:१७; ती. २:४) अस्ट्रेलियाका सेमुएल यसो भन्छन्‌: “म सानो छँदा बुबाले मलाई हरेक साँझ बाइबलका कथाहरू भएको मेरो पुस्तक-बाट कथा सुनाउनुहुन्थ्यो। म उहाँलाई घरीघरी प्रश्‍न सोध्थें। तर उहाँले कहिल्यै झर्को मान्‍नुभएन। उहाँ मलाई आफ्नो न्यानो अङ्‌गालोमा बाँध्नुहुन्थ्यो र सुत्न जानुअघि म्वाइँ खानुहुन्थ्यो। पछि मैले थाह पाएँ, बुबाले आफ्नो परिवारबाट कहिल्यै त्यस्तो माया पाउनुभएको रहेनछ। तैपनि आफ्नो माया व्यक्‍त गर्न उहाँले धेरै कोसिस गर्नुभयो। म बुबासित घनिष्ठ भएँ। मैले सुरक्षित महसुस गरें र जीवनमा कुनै पनि कुराको अभाव महसुस गरिनँ।” तपाईंका छोराछोरीलाई पनि त्यस्तै महसुस गराउनुहोस्‌। मुखै खोलेर ‘म तिमीलाई माया गर्छु’ भन्‍नुहोस्‌। छोराछोरीलाई अँगालो हालेर, म्वाइँ खाएर आफ्नो स्नेह व्यक्‍त गर्नुहोस्‌। उनीहरूसित कुरा गर्नुहोस्‌, सँगै खाना खानुहोस्‌ र उनीहरूसित खेल्नुहोस्‌।

५, ६. (क) येशूले आफ्ना चेलाहरूलाई कसरी अनुशासन दिनुभयो? (ख) उचित तरिकामा अनुशासन दिंदा छोराछोरीले कस्तो महसुस गर्छन्‌? व्याख्या गर्नुहोस्‌।

येशूले यसो भन्‍नुभयो: “ज-जसलाई म माया गर्छु, तिनीहरू सबैलाई म सुधार्छु अनि अनुशासन दिन्छु।” a (प्रका. ३:१९) येशूका चेलाहरू सबैभन्दा ठूलो को हो भन्‍ने विषयमा वादविवाद गरिरहन्थे। तैपनि उहाँले तिनीहरूलाई सम्झाइ-बुझाइ गर्न छोड्‌नुभएन। अर्कोतर्फ चेलाहरूले उहाँको सल्लाह पालन नगर्दा त्यस कुरालाई हल्कासित पनि लिनुभएन। उहाँले तिनीहरूलाई मायालुपूर्वक, शान्त भएर सुधार्नुभयो। अनुशासन दिन उहाँले उपयुक्‍त ठाउँ र समय पनि रोज्नुभयो।—मर्कू. ९:३३-३७.

छोराछोरीलाई माया गर्नुहुन्छ भने अनुशासन पनि दिनुपर्छ। कहिलेकाहीं छोराछोरीलाई सम्झाइ-बुझाइ गरेपछि तिनीहरूले तपाईंले भनेको मान्छन्‌। तर मानेनन्‌ भने नि? (हितो. २२:१५) त्यस्तो अवस्थामा येशूको अनुकरण गर्नुहोस्‌। उनीहरूलाई उपयुक्‍त ठाउँ र समयमा नझर्कीकन अनि धीरजी भएर अनुशासन दिनुहोस्‌। उनीहरूलाई डोऱ्‍याउनुहोस्‌, तालिम दिनुहोस्‌ र सुधार्नुहोस्‌। दक्षिण अफ्रिकामा बस्ने इलेइन यसो भन्छिन्‌: “मेरो आनीबानीमा सुधारको खाँचो देख्ने बित्तिकै बुबाआमाले मलाई अनुशासन दिनुहुन्थ्यो। आनीबानी सुधारेन भने परिणाम कस्तो हुन्छ भनेर बताउनुहुन्थ्यो र त्यस्तो काम नदोहोऱ्‍याउन सल्लाह दिनुहुन्थ्यो। अनि मैले उहाँहरूको सल्लाहअनुसार गरेको छ कि छैन भनेर याद गरिरहनुहुन्थ्यो। उहाँहरू नरिसाइकन अनुशासन दिनुहुन्थ्यो र अनुशासन दिनुको कारण पनि बताउनुहुन्थ्यो। यसले गर्दा मैले सुरक्षित महसुस गर्न सकें, आफ्नो सीमा थाह पाएँ र बुबाआमाले मबाट के चाहनुहुन्छ भन्‍ने कुरा पनि बुझें।”

नम्र हुनुहोस्‌

७, ८. (क) प्रार्थना गर्दा येशूले कसरी नम्र भएको देखाउनुभयो? (ख) तपाईंको प्रार्थना सुन्दा छोराछोरीले तपाईंबाट के सिक्न सक्छन्‌?

जीवनको अन्तिम घडीतिर येशूले यसरी प्रार्थना गर्नुभएको थियो, “अब्बा, हे बुबा, तपाईंको लागि सबै कुरा सम्भव छ। यो कचौरा मेरो सामुन्‍नेबाट हटाइदिनुहोस्‌। तैपनि म जे चाहन्छु, त्यो होइन तर तपाईं जे चाहनुहुन्छ, त्यही होस्‌।” b (मर्कू. १४:३६) येशूले यहोवालाई यसरी बिन्ती गर्नुभएको कुरा पढ्‌दा वा सुन्दा चेलाहरूले कस्तो महसुस गरे होलान्‌, कल्पना गर्नुहोस्‌ त! त्रुटिरहित भए तापनि येशूले मदतको लागि यहोवालाई प्रार्थना गर्नुभयो। यो कुरा देखेर उहाँका चेलाहरू पनि त्यसै गर्न उत्प्रेरित भएको हुनुपर्छ।

तपाईंको प्रार्थना सुन्दा छोराछोरीले तपाईंबाट के सिक्न सक्छन्‌? हुन त तपाईंले प्रार्थना गर्नुको उद्देश्‍य छोराछोरीलाई सिकाउनु मात्र होइन। तैपनि तपाईंले नम्र भई प्रार्थना गरेको देख्दा छोराछोरीले यहोवामाथि भरोसा गर्न सिक्नेछन्‌। ब्राजिलमा बस्ने आना यसो भन्छिन्‌: “समस्या आइपर्दा, जस्तै: हजुरबुबा-हजुरआमा बिरामी पर्दा, मेरो आमाबुबाले त्यसको सामना गर्न बल दिनुहोस्‌ भनेर प्रार्थना गर्नुहुन्थ्यो अनि सही निर्णय गर्न बुद्धि पनि माग्नुहुन्थ्यो। सहनै नसक्ने परिस्थितिमा समेत उहाँहरू समस्यालाई यहोवाकै हातमा छोडिदिनुहुन्थ्यो। यो देख्दा मैले पनि यहोवामा भर पर्न सिकें।” सँगै प्रार्थना गर्दा छोराछोरीको लागि मात्र बिन्ती गर्ने नगर्नुहोस्‌; आफ्नै लागि पनि मदत माग्नुहोस्‌। जस्तै: अधिवेशनको लागि हाकिमसित छुट्टी माग्न वा छिमेकीलाई प्रचार गर्न साहस दिनुहोस्‌ भनेर बिन्ती गर्नुहोस्‌। आफ्नो सीमितता स्वीकार्दै यहोवासित मदत माग्नुभयो भने छोराछोरीले पनि त्यसै गर्न सिक्नेछन्‌।

९. (क) नम्र भएर अरूको सेवा गर्न येशूले चेलाहरूलाई कसरी सिकाउनुभयो? (ख) अरूको सेवा गर्न सधैं तयार हुँदा छोराछोरीले तपाईंबाट के सिक्नेछन्‌?

चेलाहरूलाई नम्र भएर अरूको सेवा गर्न येशूले सल्लाह दिनुभयो र उहाँ आफैले पनि अरूको सेवा गर्नुभयो। (लूका २२:२७ पढ्‌नुहोस्‌) उहाँले चेलाहरूलाई यहोवाको इच्छालाई पहिलो स्थानमा राख्न र आफ्नो होइन अरूको फाइदा खोज्न सिकाउनुभयो। तपाईंले पनि त्यस्तै मनोभाव देखाउनुभयो भने छोराछोरीले तपाईंबाट सिक्नेछन्‌। दुई छोराछोरीकी आमा डेबी यसो भन्छिन्‌: “मेरो पति एल्डर हुनुभएकोले मण्डलीका दाजुभाइ दिदीबहिनीलाई मदत गर्न उहाँले समय दिनुपर्थ्यो। तर मेरो मनमा कहिल्यै ईर्ष्या जागेन। किनकि उहाँ परिवारलाई पनि समय दिनुहुन्थ्यो, हामीलाई मदत गर्न सधैं तयार हुनुहुन्थ्यो।” (१ तिमो. ३:४, ५) उनका पति प्रणास पनि यसो भन्छन्‌, “हाम्रो अनुकरण गर्दै छोराछोरीले पनि सम्मेलनमा र अरू क्षेत्रमा आफूले पाएको जिम्मेवारी तनमनले पूरा गर्न थाले। तिनीहरू खुसी छन्‌, थुप्रै साथी बनाएका छन्‌ र मण्डलीका दाजुभाइ दिदीबहिनीमाझ हुन पाउँदा रमाउँछन्‌।” अहिले प्रणासको सपरिवार आनन्दित भएर पूर्ण-समय सेवा गरिरहेका छन्‌। तपाईंले नम्र भएर अरूको सेवा गर्दा र अरूको हित हुने काम गर्दा छोराछोरीले पनि त्यसै गर्न सिक्नेछन्‌।

अन्तरदृष्टि चलाउनुहोस्‌

१०. येशूले कसरी अन्तरदृष्टि चलाउनुभयो?

१० मानिसहरूले कुनै काम गर्नु पछाडिको खास कारण के हो भनेर बुझ्न येशूले अन्तरदृष्टि चलाउनुभयो। एकपटकको कुरा हो, येशूको शिक्षा सुनेका गालीलका केही मानिसहरूले उहाँलाई फेरि भेट्‌न खोजे। (यूह. ६:२२-२४) तर उहाँ तिनीहरूको मन पढ्‌न सक्नुहुन्थ्यो। ती मानिसहरूले आफूलाई भेट्‌न खोज्नुको कारण उहाँले खुट्ट्याउनुभयो। तिनीहरू शिक्षा लिन नभई खानेकुरा पाउने आशामा उहाँलाई खोज्दै छन्‌ भन्‍ने कुरा उहाँले बुझ्नुभयो। (यूह. २:२५) हो, येशूले तिनीहरूको मनसाय बुझ्नुभयो, तिनीहरूमा भएको कमजोरी देखाइदिनुभयो र त्यस्तो कमजोरी हटाउन तिनीहरूले के गर्नुपर्छ, स्पष्ट बताउनुभयो।यूहन्‍ना ६:२५-२७ पढ्‌नुहोस्‌।

के तपाईंका छोराछोरीले प्रचारमा जान रमाइलो मान्छन्‌? (अनुच्छेद ११ हेर्नुहोस्‌)

११. (क) छोराछोरीलाई प्रचार गर्न मन पर्छ कि पर्दैन भनेर बुझ्न तपाईं कसरी अन्तरदृष्टि चलाउन सक्नुहुन्छ? (ख) छोराछोरीसँगै प्रचारमा जाँदा तपाईं प्रचारकार्यलाई अझ रमाइलो कसरी बनाउन सक्नुहुन्छ?

११ तपाईंले छोराछोरीको मन पढ्‌न नसके पनि उनीहरूलाई प्रचार गर्न मन पर्छ कि पर्दैन भनेर बुझ्न अन्तरदृष्टि चलाउन सक्नुहुन्छ। थुप्रै आमाबुबाले छोराछोरीसँगै प्रचारमा जाँदा बीच-बीचमा आराम गर्न र केही खाँदै रमाइलो गर्न पनि समय छुट्ट्याउँछन्‌। त्यतिबेला आमाबुबाले अन्तरदृष्टि चलाउँदै यसरी विचार गर्न सक्छन्‌: ‘मेरो छोराछोरीलाई के गर्न बढी मन पर्छ? प्रचार गर्न कि यसरी रमाइलो गर्न?’ छोराछोरीलाई प्रचार गर्न त्यत्ति मन पर्दैन जस्तो तपाईंलाई लाग्यो भने प्रचारकार्यलाई अझ रमाइलो बनाउन सक्नुहुन्छ। कसरी? उनीहरूले पनि प्रचारकार्यमा योगदान दिइरहेका छन्‌ भन्‍ने महसुस गराउन उनीहरूले गर्न सक्ने काम दिएर।

१२. (क) अन्तरदृष्टि चलाउँदै येशूले चेलाहरूलाई कस्तो चेतावनी दिनुभयो? (ख) येशूको चेतावनी किन समय सुहाउँदो थियो?

१२ येशूले अर्को क्षेत्रमा पनि अन्तरदृष्टि चलाउनुभयो। उहाँका चेलाहरूले अवैध यौनसम्बन्ध राख्नु गलत हो भनेर बुझेका थिए। तर उहाँले तिनीहरूलाई अवैध यौनसम्बन्धसम्म पुऱ्‍याउने कदमहरूबारे पनि चेतावनी दिनुभयो। उहाँले यसो भन्‍नुभयो: “जसले कुनै स्त्रीलाई हेरिरहन्छ र आफूमा कामवासना जगाउँछ, त्यसले मनमनै ऊसित यौनसम्बन्ध राखिसकेको हुन्छ। यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फालिदेऊ।” (मत्ती ५:२७-२९) छाडा जीवन बिताउने रोमीहरूमाझ बसिरहेका ख्रीष्टियनहरूको लागि येशूको यो चेतावनी समय सुहाउँदो थियो। एक जना इतिहासकारअनुसार रोमका रङ्‌गमञ्चमा देखाइने नाटकमा “अश्‍लील दृश्‍यहरू र छाडा संवाद समावेश गरिएको हुन्थ्यो। नाटकको दृश्‍य जत्ति अश्‍लील भयो, मान्छेहरू उत्ति नै चिच्याउँदै ताली पिट्‌थे।” त्यसकारण येशूले चेलाहरूलाई नैतिक रूपमा स्वच्छ रहने सन्दर्भमा चेतावनी दिएर अन्तरदृष्टि चलाउनुभयो।

१३, १४. छोराछोरीलाई हानिकारक मनोरञ्जनबाट कसरी जोगाउन सक्नुहुन्छ?

१३ तपाईंले अन्तरदृष्टि चलाउनुभयो भने छोराछोरीलाई यहोवासित घनिष्ठ भइरहन मदत गर्न सक्नुहुन्छ। अहिले अश्‍लील सामग्रीहरू छ्यास्छ्यास्ती छन्‌। साना बालबालिकाहरू समेत त्यस्ता कुराहरूबाट अछुतो छैनन्‌। ख्रीष्टियन आमाबुबाले छोराछोरीलाई छाडा कुराहरू हेर्नु वा सुन्‍नु हुँदैन भनेर सिकाउँछन्‌। तर के कारणले गर्दा छोराछोरी छाडा कुराहरू हेर्न वा सुन्‍न उत्सुक हुन सक्छन्‌ भनेर बुझ्न आमाबुबाले अन्तरदृष्टि चलाउनुपर्छ। आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘केले गर्दा मेरा छोराछोरी अश्‍लील सामग्री हेर्न लालायित हुन सक्छन्‌? अश्‍लील सामग्री हेर्नु भनेको खतरा मोल्नु हो भनेर के उनीहरूलाई थाह छ? अश्‍लील सामग्री हेर्ने खुलदुली लाग्यो भने के उनीहरू मसित त्यस्तो विषयमा कुरा गर्न सजिलो मान्लान्‌?’ तपाईंका छोराछोरी सानै छन्‌ भने पनि तिनीहरूलाई यसो भन्‍न सक्नुहुन्छ: “तिमीले इन्टरनेट चलाउँदा लुगा नलगाएको फोटो वा भिडियो देखा पऱ्‍यो र तिमीलाई त्यो हेरूँ-हेरूँ लाग्यो भने त्यो साइट तुरुन्तै बन्द गर्नू है। अनि त्यस विषयमा मसित कुरा गर्न आउनू। अप्ठेरो मान्‍नु पर्दैन।”

१४ अन्तरदृष्टिले तपाईं आफैलाई पनि मनोरञ्जन छान्दा विचार पुऱ्‍याउन मदत गर्छ। माथि उल्लेख गरिएको प्रणास यसो भन्छन्‌: “हामी आमाबुबाहरूले कस्तो सङ्‌गीत सुन्छौं, कस्तो किताब पढ्‌छौं र कस्तो फिल्म हेर्छौं, छोराछोरीले त्यो याद गरिरहेका हुन्छन्‌ र त्यसैको आधारमा तिनीहरूले मनोरञ्जन छान्छन्‌। मुखले जति नै फलाके पनि आखिरमा तपाईंले जे गर्नुहुन्छ, छोराछोरीले त्यही गर्छन्‌।” विचार पुऱ्‍याएर मनोरञ्जन छान्‍नुभयो भने छोराछोरी पनि त्यसै गर्न हौसिन्छन्‌।—रोमी २:२१-२४.

परमेश्‍वरले तपाईंको प्रार्थना सुन्‍नुहुन्छ

१५, १६. (क) छोराछोरीलाई तालिम दिन यहोवाले तपाईंलाई मदत गर्नुहुन्छ भनेर किन ढुक्क हुन सक्नुहुन्छ? (ख) अर्को लेखमा कुन कुरा छलफल गर्नेछौं?

१५ मानोहले यहोवासित आफ्नो छोरालाई राम्ररी हुर्काउन मदत माग्दा “परमेश्‍वरले मानोहको प्रार्थना सुन्‍नुभयो।” (न्याय. १३:९) आमाबुबा हो, यहोवाले तपाईंको पनि प्रार्थना सुन्‍नुहुन्छ। उहाँले प्रार्थनाको जवाफ दिनुहुन्छ र छोराछोरीलाई तालिम दिन मदत गर्नुहुन्छ। माया, नम्रता र अन्तरदृष्टि जस्ता गुणहरू विकास गर्नुभयो भने छोराछोरीलाई तालिम दिन सफल हुनुहुनेछ।

१६ साना छोराछोरीलाई मात्र होइन, किशोरावस्थाका छोराछोरीलाई तालिम दिन पनि यहोवाले आमाबुबालाई मदत गर्नुहुन्छ। त्यसोभए किशोरावस्थाका छोराछोरीलाई यहोवाको सेवा गर्न तालिम दिंदा माया, नम्रता र अन्तरदृष्टि जस्ता गुणहरू कसरी देखाउन सकिन्छ, यसपछिको लेखमा छलफल गर्नेछौं।

a बाइबलमा प्रयोग गरिएको अनुशासन शब्दले डोऱ्‍याउनु, तालिम दिनु, सुधार्नु र कहिलेकाहीं सजाय दिनुलाई पनि बुझाउँछ, तर रिसको आवेगमा आएर भने होइन।

b बाइबलसम्बन्धी एउटा शब्दकोश (दी इन्टरनेसनल स्टाण्डर्ड बाइबल इन्साइक्लोपीडिया) यसो भन्छ: “येशूको समयमा बालबालिकाले आफ्नो बुबालाई अब्बा भनेर बोलाउँथे। यो घनिष्ठ सम्बन्ध बुझाउने र आदर झल्काउने स्नेहपूर्ण सम्बोधन हो।”