सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येशूको मृत्युले तपाईंलाई कसरी बचाउन सक्छ

येशूको मृत्युले तपाईंलाई कसरी बचाउन सक्छ

येशूको मृत्युले तपाईंलाई कसरी बचाउन सक्छ

लगभग २,००० वर्षअघि इस्वी संवत्‌ ३३ मा यहूदीहरूको निस्तार चाडको बेला अरू मानिसहरू बाँचून्‌ भनेर एक जना निर्दोष व्यक्‍तिले आफ्नो जीवन दियो। त्यो व्यक्‍ति को थियो? नासरतका येशू। अनि त्यस महान्‌ कार्यबाट क-कसले लाभ उठाउन सक्छन्‌? सम्पूर्ण मानवजातिले। यस जीवनदायी बलिदानको विषयमा एउटा चिरपरिचित बाइबल पद यसो भन्छ: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।”—यूहन्‍ना ३:१६.

धेरै व्यक्‍तिहरू यस पदबारे जानकार भए तापनि यसको वास्तविक अर्थ भने कमैलाई मात्र थाह छ। तिनीहरू यस्तो अन्योलमा छन्‌: ‘हामीलाई ख्रीष्टको बलिदान किन चाहियो? एउटा मान्छे मर्दैमा सम्पूर्ण मानवजाति मृत्युको चङ्‌गुलबाट कसरी उम्कन सक्छ र?’ बाइबलले यसको स्पष्ट र चित्तबुझ्दो जवाफ दिन्छ।

मृत्युले कसरी मानिसहरूमाथि राज्य गर्न थाल्यो

कसै-कसैको विश्‍वासअनुसार मानिसहरू केही समयको लागि यस पृथ्वीमा बसेर दुःख-सुखका दिन बिताएपछि अर्को कुनै अझ राम्रो ठाउँमा जान सृष्टि गरिएका थिए। यसको अर्थ यस्तो हुन जान्छ, मृत्यु मानिसजातिका लागि परमेश्‍वरको उद्देश्‍यको भाग हो। तथापि, बाइबलले भने मानिसजातिलाई मृत्युले पिरोल्नुको बेग्लै कारण प्रस्तुत गर्छ। बाइबल यसो भन्छ: “एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्‌।” (रोमी ५:१२) यस पदअनुसार पाप नै मानव-मृत्युको कारक हो। तर सम्पूर्ण मानवजातिलाई पापका दुःखद परिणामहरूको भारी बोकाउने त्यो “एउटै मानिस” को हो?

द वर्ल्ड बूक इन्साइक्लोपीडिया-ले बताएअनुसार सबै मानिसहरू एउटै स्रोतबाट आएका हुन्‌ भनेर अधिकांश वैज्ञानिकहरू विश्‍वास गर्छन्‌ अनि बाइबलले त्यो एउटै स्रोत अर्थात्‌ “एउटै मानिस”-को स्पष्ट चिनारी दिन्छ। उत्पत्ति १:२७ मा हामी यस्तो लेखिएको पाउँछौं: “परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्‍वरकै स्वरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारीनै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।” यसरी बाइबलले बताएअनुसार सर्वशक्‍तिमान्‌ परमेश्‍वरले पृथ्वीमा सृष्टि गर्नुभएका प्राणीहरूमध्ये प्रथम मानव जोडी सर्वोत्कृष्ट थिए।

उत्पत्तिको विवरणले यहोवा परमेश्‍वरले प्रथम मानव सृष्टि गरिसक्नुभएपछिको मानव-जीवनबारे पनि थप जानकारी दिएको छ। अर्थपूर्ण कुरा के छ भने, उत्पत्तिको सम्पूर्ण विवरणमा परमेश्‍वरले मृत्युलाई अनाज्ञाकारिताको परिणामको रूपमा बाहेक अरू कुनै किसिमले चित्रण गर्नुभएको छैन। (उत्पत्ति २:१६, १७) मानिसहरू सुखी र स्वस्थ भएर सुन्दर बगैंचारूपी पृथ्वीमा सधैंभरि बाँचिरहून्‌ भन्‍ने उहाँको चाहना थियो। तिनीहरूले बुढ्यौलीको असर भोगेको अनि अन्तमा गएर मरेको उहाँ चाहनुहुन्‍नथ्यो। त्यसोभए, मृत्युले सबै मानिसहरूमाथि कसरी कब्जा जमायो त?

प्रथम मानव जोडीले आफ्नो जीवनदाता यहोवा परमेश्‍वरप्रति जानाजानी अनाज्ञाकारी हुने निर्णय कसरी गरे भनी उत्पत्तिको अध्याय ३ ले बताउँछ। फलस्वरूप, अनाज्ञाकारिताको परिणामबारे परमेश्‍वरले पहिल्यै जानकारी दिएअनुसारै उहाँले तिनीहरूलाई सजाय दिनुभयो। उहाँले मानिसलाई यसो भन्‍नुभयो: “तँ माटै होस्‌ र माटैमा फर्किजानेछस्‌।” (उत्पत्ति ३:१९) परमेश्‍वरले भन्‍नुभएझैं ती दुई अनाज्ञाकारी मानव अन्तमा मरे।

तर यो क्षति प्रथम मानव जोडीमा मात्र सीमित रहेन। तिनीहरूको अनाज्ञाकारिताले गर्दा तिनीहरूका सन्ततिले पनि सिद्ध जीवनको प्रत्याशा गुमाए। यहोवाले आदम र हव्वालाई निम्न आशिष्‌ दिंदा जन्मिंदै नजन्मेका मानिसहरूलाई पनि आफ्नो उद्देश्‍यमा समावेश गर्नुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ। औ समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।” (उत्पत्ति १:२८) समय बित्दै जाँदा, यो पृथ्वी मानिसहरूले भरिने थियो र तिनीहरूले कहिल्यै पनि नमरीकन अत्यन्तै सुखी जीवन बिताउने थिए। तर “एउटै मानिस” अर्थात्‌ तिनीहरूको पुर्खा आदमले तिनीहरूलाई पापको दासत्वमा बेचिदियो जसले गर्दा मृत्यु तिनीहरूको जीवनको अभिन्‍न भाग बन्‍न पुग्यो। प्रथम मानिसकै सन्तान, प्रेरित पावलले यस्तो लेखे: “म चाहिं शारीरिक हुँ, र पापमा बेचिएको छु।”—रोमी ७:१४.

हुल्याहाहरूले आजकल अनमोल कलाकृतिहरू बिगारिदिएझैं पाप गरेर आदमले पनि परमेश्‍वरको अद्‌भुत सृष्टि अर्थात्‌ मानवजातिलाई नराम्ररी बिगारिदियो। आदमका छोरा, नाति, पनाति जन्मँदै गए। पुस्ताहरू बित्दै गए, जन्मने, हुर्कने, सन्तान जन्माउने अनि मर्ने प्रक्रिया पनि चलिनै रह्‍यो। तिनीहरू सबै किन मरेका? किनकि तिनीहरू सबै आदमबाटै आएका हुन्‌। बाइबल भन्छ: “एउटैको अपराधले धेरै मरे।” (रोमी ५:१५) बिरामी, वृद्धावस्था, गलत काम गर्ने झुकाव र मृत्यु, यी सबै आदमले आफ्नो परिवारमाथि गरेको विश्‍वासघातका दुःखद परिणामहरू हुन्‌। हामी सबै त्यही परिवारका सदस्य हौं।

रोमका मसीहीहरूलाई लेखेको पत्रमा प्रेरित पावलले आफूलगायत सबै असिद्ध मानिसहरूको दयनीय अवस्थाबारे लेखे। साथै, पापका असरहरू विरुद्धको हरेसलाग्दो संघर्षबारे पनि तिनले उल्लेख गरे। तिनले यस्तो दुखेसो पोखे: “हाय, म कस्तो दुःखी मानिस! यस मृत्युको शरीरबाट मलाई कसले बचाउला?” कत्ति महत्त्वपूर्ण प्रश्‍न, हैन त? पावललगायत पाप र मृत्युको दासत्वबाट उद्धार खोजिरहेका अरू सबैलाई कसले छुटकारा देला? यसको जवाफ पावल आफैले दिएका छन्‌: “येशू ख्रीष्ट, हाम्रा प्रभुद्वारा परमेश्‍वरमा धन्यवाद होस्‌।” (रोमी ७:१४-२५) हो, हाम्रो सृष्टिकर्ताले आफ्नो पुत्र येशू ख्रीष्टमार्फत हामीलाई उद्धार गर्ने प्रबन्ध मिलाउनुभएको छ।

मानिसजातिको उद्धार गर्न परमेश्‍वरले मिलाउनुभएको प्रबन्धमा येशूको भूमिका

मानिसजातिलाई पापको विनाशकारी दासत्वबाट उद्धार गर्न मिलाइएको प्रबन्धमा आफ्नो भूमिकाबारे येशूले बताउनुभयो। उहाँले यसो भन्‍नुभयो: “मानिसको पुत्र . . . धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनलाई आयो।” (मत्ती २०:२८) येशूको जीवनले कसरी फिरौतीको काम गर्छ? उहाँको मृत्युले हामीलाई कसरी फाइदा पुऱ्‍याउँछ?

बाइबलले येशूलाई “पापरहित” र “पापीहरूबाट अलग” व्यक्‍तिको रूपमा चिनाउँछ। येशूले आफ्नो जीवनभर परमेश्‍वरको नियम पूर्णतया पालन गर्नुभयो। (हिब्रू ४:१५; ७:२६) त्यसैले येशूको मृत्यु आदमको मृत्युजस्तो पाप र अनाज्ञाकारिताको परिणाम थिएन। (इजकिएल १८:४) बरु, येशूले आफूले भोग्नै नपर्ने मृत्युसमेत स्वीकार्नुभयो किनकि उहाँ मानिसजातिलाई पाप र मृत्युबाट उद्धार गर्ने आफ्नो पिताको इच्छा पूरा गर्न चाहनुहुन्थ्यो। माथि बताइएझैं, “उद्धारको निम्ति आफ्नो प्राण दिनलाई” येशू खुसीसाथ पृथ्वीमा आउनुभयो। अभूतपूर्व प्रेम देखाउँदै येशूले राजीखुसीसाथ ‘हरेक मानिसको निम्ति मृत्युको स्वाद चाख्नुभयो।’—हिब्रू २:९.

पाप गरेको कारण आदमले गुमाएको जीवन र येशूले बलिदान चढाउनुभएको जीवन ठ्याक्कै बराबर थियो। येशूको मृत्युको परिणाम कस्तो भयो? यहोवाले त्यस बलिदानलाई “सबैको छुटकाराको मोलको” रूपमा स्वीकार्नुभयो। (१ तिमोथी २:६) यसरी परमेश्‍वरले येशूको जीवनको मोल चलाएर मानिसजातिलाई पाप र मृत्युको दासत्वबाट किन्‍नुभयो अर्थात्‌ छुटाउनुभयो।

सृष्टिकर्ताले गर्नुभएको यस महान्‌ कामबारे बाइबल बारम्बार बताउँछ। “तिमीहरू दाम तिरेर किनिएका हौ” भनेर पावलले मसीहीहरूलाई सम्झाए। (१ कोरिन्थी ६:२०; ७:२३) मृत्युमा गएर टुङ्‌गिने जीवनबाट मसीहीहरूलाई छुटाउन परमेश्‍वरले सुन-चाँदी त होइन तर आफ्नो पुत्रको रगत चलाउनुभयो भनेर पत्रुसले लेखे। (१ पत्रुस १:१८, १९) ख्रीष्टले फिरौतीस्वरूप चढाउनुभएको बलिदानद्वारा यहोवाले मानिसहरूलाई मर्नै पर्ने अवस्थाबाट उद्धार गर्ने प्रबन्ध मिलाउनुभयो।

ख्रीष्टले तिर्नुभएको फिरौतीबाट के तपाईंले लाभ उठाउनुहुनेछ?

ख्रीष्टले तिर्नुभएको फिरौतीले कति धेरै मानिसलाई लाभ पुऱ्‍याउँछ भन्‍ने विषयमा प्रेरित यूहन्‍नाले यस्तो लेखे: “[येशू ख्रीष्ट] हाम्रा पापको निम्ति प्रायश्‍चित हुनुहुन्छ, औ हाम्रा निम्ति मात्र होइन, तर सबै संसारका निम्ति पनि।” (१ यूहन्‍ना २:२) हो, ख्रीष्टले तिर्नुभएको फिरौतीबाट सबै मानिसहरूले लाभ उठाउन सक्छन्‌। यसको मतलब त्यस अनमोल प्रबन्धबाट सबैले स्वतः लाभ उठाउँछन्‌ भनेको हो? पक्कै होइन। अघिल्लो लेखमा बताइएको उद्धारकार्यलाई सम्झनुहोस्‌। खानीभित्र थुनिएका कामदारहरूलाई बचाउन प्रयासरत उद्धारकर्मीहरूले एउटा पिंजडा भित्र छिराइदिए। तर जो बाहिर निस्कन चाहन्थ्यो ऊ पिंजडाभित्र पस्नै पर्थ्यो। त्यसै गरी, ख्रीष्टले चढाउनुभएको छुटकाराको मोलबाट ज-जसले लाभ उठाउन चाहन्छन्‌, तिनीहरूले हात बाँधेर बसेमा परमेश्‍वरको आशिष्‌ पाउन सक्दैनन्‌। तिनीहरूले कदम चाल्नै पर्छ।

कस्तो कदम चालेको परमेश्‍वर चाहनुहुन्छ? यूहन्‍ना ३:३६ यसो भन्छ: “जसले पुत्रमाथि विश्‍वास गर्छ, त्यसमा अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन, त्यसले जीवन देख्नेछैन, तर परमेश्‍वरको क्रोध त्यसमाथि रहन्छ।” हामीले ख्रीष्टको बलिदानमा विश्‍वास राखेको परमेश्‍वर चाहनुहुन्छ। तर त्यति गरेर मात्र पुग्दैन। येशूका “आज्ञा पालन गऱ्‍यौं भने यसैबाट हामीले उहाँलाई चिन्दारहेछौं भन्‍ने हामी थाह पाउँछौं।” (१ यूहन्‍ना २:३) स्पष्ट छ, पाप र मृत्युबाट उद्धार पाउन ख्रीष्टले तिर्नुभएको फिरौतीमा विश्‍वास राख्नु र उहाँको आज्ञा पालन गर्नु अत्यावश्‍यक छ।

येशूले तिर्नुभएको फिरौतीप्रति विश्‍वास देखाउने एउटा महत्त्वपूर्ण तरिका उहाँले आज्ञा दिएझैं उहाँको मृत्युको सम्झना गरेर कृतज्ञता देखाउनु हो। मर्नुभन्दा केही समयअघि आफ्ना विश्‍वासी प्रेरितहरूसँग छँदा येशूले एउटा भोजको सुरुवात गर्नुभयो, जसको एउटा प्रतीकात्मक अर्थ थियो। त्यतिबेला उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “मेरो सम्झनामा यो गर्नेगर।” (लूका २२:१९) यहोवाका साक्षीहरूले परमेश्‍वरको पुत्रसितको आफ्नो सम्बन्धलाई निकै मूल्यवान्‌ ठान्छन्‌ र तिनीहरू यो आज्ञा पालन गर्छन्‌। यो वर्ष मार्च २२, शनिबार सूर्यास्तपछि येशू ख्रीष्टको मृत्युको सम्झना गरिनेछ। येशूको आज्ञा पालन गर्दै उक्‍त विशेष सभामा उपस्थित हुन हामी तपाईंलाई हार्दिक निमन्त्रणा दिन्छौं। तपाईंको इलाकामा बस्ने यहोवाका साक्षीहरूले उक्‍त समारोह हुने समय र स्थानबारे तपाईंलाई बताउनेछन्‌। ख्रीष्टले तिर्नुभएको फिरौतीले तपाईंलाई आदमको पापका घातक परिणामहरूबाट मुक्‍त गर्ने हो भने तपाईंले के गर्नुपर्छ भन्‍ने विषयमा त्यहाँ थप कुरा सिक्न पाउनुहुनेछ।

मानिसहरूलाई मृत्युको मुखबाट उद्धार गर्न हाम्रो सृष्टिकर्ता र उहाँको पुत्रले गर्नुभएको महान्‌ त्यागबारे राम्ररी बुझ्ने अनि त्यसप्रति कृतज्ञता देखाउनेहरू अहिले कमै मात्र छन्‌। ज-जसले यस बलिदानमा विश्‍वास राख्छन्‌ तिनीहरूले आनन्दित हुने विशेष कारण पाउँछन्‌। आफ्ना सँगी मसीहीहरूबारे प्रेरित पत्रुसले यस्तो लेखे: “[येशूमा] विश्‍वास गरेर अवर्णनीय आनन्द र महिमाको भरपूरीले तिमीहरू उहाँमा अत्यन्त रमाउँछौ, र तिमीहरूका विश्‍वासको फल, अर्थात्‌ तिमीहरूको आत्माको मुक्‍ति पाउँछौ।” (१ पत्रुस १:८, ९) येशू ख्रीष्टप्रतिको प्रेम अनि उहाँले चढाउनुभएको बलिदानप्रतिको विश्‍वास अझ बढाउँदा तपाईंको जीवन अहिले पनि आनन्दित हुन्छ भने भविष्यमा पाप र मृत्युबाट बच्ने आशा पनि गर्न सक्नुहुन्छ। (w08 3/1)

[पृष्ठ ६-मा भएको चित्र]

आदमको पापको असरलाई निष्फल तुल्याउन येशूले आफ्नो जीवन दिनुभयो