सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उहाँ हाम्रो सीमितताप्रति विचारशील हुनुहुन्छ

उहाँ हाम्रो सीमितताप्रति विचारशील हुनुहुन्छ

परमेश्‍वरको नजिक हुनुहोस्‌

उहाँ हाम्रो सीमितताप्रति विचारशील हुनुहुन्छ

लेवी ५:२-११

“सक्दो गरिसकें तर पनि सधैं के नपुगेको के नपुगेको जस्तो लाग्छ!” परमेश्‍वरलाई खुसी बनाउने प्रयासबारे एउटी स्त्रीले यस्तो भनेकी थिइन्‌। के यहोवा परमेश्‍वर आफ्ना उपासकहरूको सक्दो प्रयासलाई ग्रहण गर्नुहुन्छ? के उहाँ तिनीहरूको क्षमता र परिस्थितिप्रति विचारशील हुनुहुन्छ? यी प्रश्‍नहरूको जवाफ पाउन मोशाको व्यवस्थामा खास भेटीहरू चढाउने सन्दर्भमा के भनिएको थियो त्यसलाई विचार गर्नु मदतकारी हुनेछ। त्यो कुरा लेवी ५:२-११ मा पाउँछौं।

पापको प्रायश्‍चितको निम्ति परमेश्‍वरले व्यवस्थाअन्तर्गत विभिन्‍न बलिदान वा भेटी आवश्‍यक पर्छ भन्‍नुभएको थियो। लेवी ५:१-११ मा उल्लिखित परिस्थितिमा ती व्यक्‍तिले थाहै नपाई वा अनजानमै पाप गरेको थियो। (पद २-४) आफूले गरेको पापबारे थाह पाएपछि उसले आफ्नो पाप स्वीकार्नुपर्थ्यो र दोषबलि अर्थात्‌ “भेडा अथवा बाख्राको पाठी” चढाउनुपर्थ्यो। (पद ५, ६) तर गरीब भएकोले भेडा अथवा बाख्रा चढाउन सक्दैन भने नि? के व्यवस्थाले ती जनावरहरू ऋण लिएरै भए पनि ल्याउनुपर्छ भनेर माग गरेको थियो? आफ्नो पापको प्रायश्‍चित गर्न ढिलो भए पनि के उसले त्यो भेटी चढाउन नसकेसम्म काममा घोटिरहनुपर्थ्यो?

यहोवाको कोमल चासो झल्काउँदै व्यवस्थाले बतायो: “पाठी ल्याउने त्यसको औकात पुग्दैन भने, त्यसले आफूले गरेको त्यस पापको निम्ति दुइवटा ढुकुर कि परेवाका दुइवटा बच्चा दोषबलि स्वरूप परमप्रभुकहाँ ल्याओस्‌।” (पद ७) एकदमै गरीब भएकोले कुनै इस्राएलीले भेडा चढाउन सक्दैन र आफ्नो औकातअनुसार दुइटा ढुकुर कि परेवा चढाउँछ भने पनि परमेश्‍वरले खुसीसाथ ग्रहण गर्नुहुन्थ्यो।

ती व्यक्‍तिको दुइटा पक्षी चढाउने पनि औकात छैन भने नि? यदि त्यसो हो भने, “आफ्नो पापबलिको लागि एपाको दशांश [करिब एक किलोग्राम] मसिनो पीठो ल्याओस्‌” भनी व्यवस्थामा लेखिएको थियो। (पद ११) एकदमै गरीब व्यक्‍तिको लागि यहोवाले अपवादको रूपमा रगतविना नै पापबलि चढाउने स्वीकृति दिनुहुन्छ। a इस्राएलमा गरीबीले कसैलाई पनि प्रायश्‍चित गर्दा पाउने आशिष्‌बाट अथवा परमेश्‍वरसितको सम्बन्ध सुधार्ने सुअवसरबाट वञ्चित गरेन।

दोषबलि सम्बन्धी परमेश्‍वरले दिनुभएको व्यवस्थाबाट हामी उहाँबारे के सिक्न सक्छौं? उहाँ दयालु र बुझकी परमेश्‍वर हुनुहुन्छ र आफ्ना उपासकहरूको सीमितताप्रति विचारशील हुनुहुन्छ। (भजन १०३:१४) आफ्ना चुनौतीपूर्ण परिस्थितिहरू जस्तो कि ढल्कँदो उमेर, कमजोर स्वास्थ्यस्थिति, परिवार तथा अन्य दायित्वहरूको बाबजुद उहाँसित नजिक भएको र राम्रो सम्बन्ध विकास गरेको उहाँ चाहनुहुन्छ। औकातले भ्याउने सबै कुरा गर्दा यहोवा परमेश्‍वर खुसी हुनुहुन्छ भन्‍ने कुरा थाह पाउँदा हामीलाई सान्त्वना मिल्छ। (w09 6/1)

[फुटनोट]

a प्रायश्‍चितको मोल बलि चढाइएको जनावरको रगतमा हुन्थ्यो जसलाई परमेश्‍वरले पवित्र ठान्‍नुहुन्थ्यो। (लेवी १७:११) के त्यसोभए गरीबले चढाएको पीठोको केही मूल्य नै थिएन? त्यसो होइन। पक्कै पनि यहोवाले त्यस्तो बलिदान चढाउनेहरूको नम्रता, तिनीहरूभित्र लुकेको इच्छुक मनोभावको मोल गर्नुहुन्छ। साथै गरीब लगायत पूरै राष्ट्रको पाप वार्षिक प्रायश्‍चितको दिनमा परमेश्‍वरलाई चढाइने जनावरको रगतले ढाक्थ्यो।—लेवी १६:२९, ३०.