सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के परमेश्‍वर मन परिवर्तन गर्नुहुन्छ?

के परमेश्‍वर मन परिवर्तन गर्नुहुन्छ?

के परमेश्‍वर मन परिवर्तन गर्नुहुन्छ?

परमेश्‍वरबारे बाइबल यसो भन्छ: “जसमा कहिल्यै अदल-बदल, हुने र फेरिने छायाँ छैन।” अनि आश्‍वासन दिंदै परमेश्‍वरले आफूबारे भन्‍नुभयो: “किनकि म परमप्रभु कहिल्यै परिवर्तन हुँदिनँ।” (याकूब १:१७; मलाकी ३:६) रिझाउन गाह्रो र आफ्नो मन सधैं परिवर्तन गरिरहने भएकोले भरोसा गर्न नसकिने मानिसहरूभन्दा यहोवा परमेश्‍वर कत्ति फरक हुनुहुन्छ!

तर केही बाइबल पाठकहरू परमेश्‍वरले मन परिवर्तन गर्नुभएको हो कि भन्ठान्छन्‌। उदाहरणका लागि कुनै समय यहोवा परमेश्‍वरले ख्रीष्टियानहरूलाई चमत्कार गर्ने शक्‍ति दिनुभयो तर अहिले दिनुहुन्‍न। प्राचीन समयमा परमेश्‍वरले बहुविवाहलाई सहनुभयो तर अहिले सहनुहुन्‍न। मोशाको व्यवस्थामा यहोवाले विश्राम दिन मान्‍नुपर्छ भन्‍नुभयो तर अहिले भन्‍नुहुन्‍न। के यी उदाहरणहरूले यहोवाको मन परिवर्तन भएको छ भनी देखाउँदैन र?

सबैभन्दा पहिला हामी ढुक्क हुन सक्छौं कि यहोवा आफ्नो प्रेम र न्यायको स्तर कहिल्यै परिवर्तन गर्नुहुन्‍न। साथै, मानिसजातिलाई उहाँको राज्यद्वारा आशिष्‌ दिने उहाँको “अनन्त उद्देश्‍य” पनि कहिल्यै परिवर्तन भएको छैन। (एफिसी ३:११, NRV ) तथापि तपाईंलाई कुनै व्यक्‍तिको व्यवहारले सधैं दुःखी बनाएको छ भने उक्‍त व्यक्‍तिप्रति तपाईंको मन परिवर्तन हुन सक्छ। त्यसैगरि यहोवाले पनि बद्‌लिंदो परिस्थितिहरूमा आफ्नो काम परिवर्तन गर्नुहुन्छ।

साथै परमेश्‍वर उहाँका निर्देशनहरू आफ्ना मानिसहरूको आवश्‍यकता र परिस्थितिअनुसार परिवर्तन गर्नुहुन्छ। यसमा हामीले अचम्म मान्‍नुपर्दैन। एक जना दक्ष टुर गाइडले अगाडि खतरा देखेपछि के गर्छ, विचार गर्नुहोस्‌। हो, उसले आफ्नो समूहलाई खतराबाट जोगाउन अर्कै बाटो समात्छ। त्यसको मतलब उसले गन्तव्यस्थान नै परिवर्तन गरेको चाहिं होइन, हो र? त्यसकारण आउनुहोस्‌, कतिपयलाई अलमलमा पार्ने माथिका तीन वटा उदाहरण जाँचेर हेरौं।

चमत्कारहरू किन बन्द भए?

किन परमेश्‍वरले प्रथम शताब्दीका केही ख्रीष्टियानहरूलाई चमत्कार गर्ने अद्‌भुत शक्‍ति दिनुभयो? जब इस्राएल परमेश्‍वरले चुनेको राष्ट्र थियो तब उहाँले तिनीहरूको साथमा छु भनेर देखाउन चमत्कार गरेको कुरा तपाईंलाई थाह होला। मोशामार्फत परमेश्‍वरले उदेकलाग्दो शक्‍ति चलाएर इस्राएलीहरूलाई मिश्रबाट उद्धार गर्नुभयो र उजाडस्थानबाट डोऱ्‍याउँदै प्रतिज्ञा गरेको देशसम्म पुऱ्‍याउनुभयो। तर दुःखको कुरा इस्राएलीहरूले पटक-पटक उहाँलाई विश्‍वास गरेनन्‌। यहोवाले ख्रीष्टियान मण्डली स्थापना गर्नुभएपछि इस्राएलीहरूलाई त्याग्नुभयो अनि उहाँले प्रेरितहरू र अन्य केहीलाई चमत्कार गर्ने शक्‍ति दिनुभयो। उदाहरणका लागि प्रेरित पत्रुस र यूहन्‍नाले जन्मैदेखिको लङ्‌गडोलाई निको पारे अनि पावलले मरेको व्यक्‍तिलाई ब्यूँताए। (प्रेरित ३:२-८; २०:९-११) तिनीहरूको चमत्कारले गर्दा थुप्रै ठाउँहरूमा ख्रीष्टियान धर्म स्थापित गर्न टेवा पुग्यो। त्यसपछि चमत्कारहरू किन बन्द भए?

यसको जवाफ प्रेरित पावलले दृष्टान्तसहित यसरी दिए: “जब म बालक थिएँ, तब बालकले जस्तै बोल्थें, बालकले जस्तै सोच्थें, बालकले जस्तै विचार गर्थें, तर अब म जवान भएको छु, र केटा-केटीको कुरो छोडिदिएको छु।” (१ कोरिन्थी १३:११) आमाबाबुले साना छोराछोरी र जवान छोराछोरीलाई गर्ने व्यवहार फरक भए जस्तै यहोवाले पनि ख्रीष्टियान मण्डली “बालक” नरहेको कारण तिनीहरूप्रति गर्ने व्यवहारमा परिवर्तन ल्याउनुभयो। अन्य भाषाहरू बोल्न सक्ने र भविष्यवाणी गर्न सक्ने जस्ता चमत्कारी वरदानहरू “टली जान्छन्‌” भनी प्रेरित पावलले बताए।—१ कोरिन्थी १३:८.

बहुविवाहलाई किन अनुमति दिइयो?

प्रथम मानव जोडीलाई “मानिसले आफ्ना आमाबाबुलाई छोडेर आफ्नी स्वास्नीसँग मिलिरहन्छ, र ती दुई जना एक शरीर हुनेछन्‌” भन्‍नुहुँदा परमेश्‍वरले विवाहको लागि स्तर तोक्नुभयो भनी येशूले देखाउनुभयो। (मत्ती १९:५) विवाह दुई व्यक्‍तिबीचको अनन्त बन्धन हुनुपर्ने थियो। तर परमेश्‍वरले इस्राएलीहरूलाई राष्ट्रको रूपमा संगठित गरून्जेल र व्यवस्था दिउन्जेलसम्म त बहुविवाह एउटा सामान्य प्रचलन भइसकेको थियो। त्यसकारण परमेश्‍वरले बहुविवाह सुरु गर्नुभएको वा त्यसलाई प्रोत्साहन दिनुभएको थिएन। तैपनि त्यसलाई व्यवस्थित गर्न नियमहरू दिनुभयो। ख्रीष्टियान मण्डली स्थापित भएपछि परमेश्‍वरको वचनले स्पष्टसँग बहुविवाहलाई निषेध गऱ्‍यो।—१ तिमोथी ३:२.

आफ्नो सुधार्ने समय नआइन्जेल यहोवा परमेश्‍वर केही कुरालाई सहनुहुन्छ। (रोमी ९:२२-२४) इस्राएलको “हृदयको कठोरताले” गर्दा केही समयको लागि यहोवाले अनुचित वैवाहिक परम्परालाई “मन्जूरी” अर्थात्‌ छुटको रूपमा सहनुभयो भनेर येशूले प्रकट गर्नुभयो।—मत्ती १९:८; हितोपदेश ४:१८.

विश्राम दिन मान्‍नु अस्थायी थियो, किन?

इस्राएलीहरूलाई मिश्र देशबाट छुटाएपछि परमेश्‍वरले साप्ताहिक विश्राम दिन मान्‍ने चलन स्थापित गर्नुभयो। उहाँले यसलाई पछि तिनीहरूको राष्ट्रिय व्यवस्थाको भाग बनाउनुभयो। (प्रस्थान १६:२२-३०; २०:८-१०) येशूले आफैलाई बलिदानको रूपमा अर्पण गर्नुभयो र ‘धार्मिक विधानहरूमा भएका आज्ञाहरूको व्यवस्था . . . खारिज गर्नुभयो’ साथै ‘लेख-पत्र मेटिदिनुभयो’ भनी पावलले बताए। (एफिसी २:१५; कलस्सी २:१४) ‘खारिज गरिने’ र ‘मेटिदिने’ कुरामा विश्रामको व्यवस्था समावेश थियो किनभने बाइबल अझै यसो भन्छ: “यसकारण कुनै मानिसले तिमीहरूलाई खानमा, अथवा पिउनमा, या पर्वको दिन, वा औंसी, कि विश्रामको दिन मान्‍ने विषयमा इन्साफ गर्न नपाओस्‌।” (कलस्सी २:१६) त्यसोभए सुरुमा परमेश्‍वरले किन विश्राम दिन समावेश भएको व्यवस्था दिनुभयो?

प्रेरित पावलले यस्तो लेखे: “ख्रीष्टमा ल्याउनलाई व्यवस्था ता हाम्रा जिम्मावाल भएको हो।” त्यसपछि उनले थपे: “तर अब विश्‍वास आएको हुनाले हामी अझै जिम्मावालको अधीनमा छैनौं।” (गलाती ३:२४, २५) परमेश्‍वरले मन परिवर्तन गर्नुभएको होइन बरु उहाँले केही समयको लागि विश्राम दिनको प्रयोग गरी मानिसलाई सिकाउनु भएको हो जसले गर्दा तिनीहरूले आध्यात्मिक कुराहरूमा मनन गर्न नियमित समय दिन सक्थे। विश्राम दिनको व्यवस्था अस्थायी भएता पनि यसले भविष्यमा मानिसजातिको शारीरिक र आध्यात्मिक समस्याहरू अन्त हुने समयलाई संकेत गऱ्‍यो।—हिब्रू ४:१०; प्रकाश २१:१-४.

भरोसायोग्य र मायालु परमेश्‍वर

माथि बताइएका बाइबल उदाहरणहरूबाट देखिन्छ, यहोवा परमेश्‍वरले फरक समयमा फरक डोऱ्‍याइ र फरक निर्देशन दिनुभयो। तर यसको अर्थ उहाँले मन परिवर्तन गर्नुभएको होइन। बरु विभिन्‍न परिस्थितिमा उहाँले आफ्ना मानिसहरूको आवश्‍यकताप्रति प्रतिक्रिया दिनुभएको हो, तिनीहरूकै फाइदाको निम्ति। आज पनि यही कुरा लागू हुन्छ।

के गर्दा यहोवा खुसी हुनुहुन्छ त्यो हामी सधैं थाह पाउन सक्छौं किनकि उहाँ कहिल्यै पनि आफ्ना स्तरहरू परिवर्तन गर्नुहुन्‍न। साथै हामी पक्का हुन सक्छौं, उहाँले प्रतिज्ञा गरेको हरेक कुरा पूरा हुनेछ। उहाँ यसो भन्‍नुहुन्छ: “म आफ्नो सबै इच्छा पूरा गर्नेछु . . . मैले यो अभिप्राय गरेको छु। र म त्यो गर्नेनै छु।”—यशैया ४६:१०, ११. (w09 6/1)

[पृष्ठ ३०-मा भएको ठूलो अक्षरको क्याप्सन]

परमेश्‍वर कहिल्यै पनि आफ्नो प्रेम र न्यायको स्तर परिवर्तन गर्नुहुन्‍न

[पृष्ठ ३०-मा भएको ठूलो अक्षरको क्याप्सन]

चमत्कार गर्ने वरदान समयको दौडान ‘टली जान्छ’ भनेर पावलले उल्लेख गरे

[पृष्ठ ३१-मा भएको ठूलो अक्षरको क्याप्सन]

विवाह दुई व्यक्‍तिबीचको अनन्त बन्धन हुनुपर्ने थियो