सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आफ्ना छोराछोरीलाई सिकाउनुहोस्‌

पत्रुस र हननियाले झुट बोले—हामी कस्तो पाठ सिक्न सक्छौं?

पत्रुस र हननियाले झुट बोले—हामी कस्तो पाठ सिक्न सक्छौं?

झुट बोल्नु भनेको नभएको कुरा भन्‍नु हो। के तिमीले कहिल्यै झुट बोलेको छौ? a बच्चाहरू मात्र होइन परमेश्‍वरलाई प्रेम गर्ने ठूला व्यक्‍तिहरूले समेत झुट बोलेका छन्‌। झुट बोल्ने मान्छेबारे बाइबलमा बताइएको छ। तिमीलाई तिनको नाम थाह छ? तिनको नाम पत्रुस हो। तिनी येशूका १२ जना प्रेषितमध्ये एक थिए। तिनले किन झुट बोले, अब बुझौं।

येशूलाई पक्रिंदा राती अबेर भइसकेको छ। त्यसपछि उहाँलाई प्रधान पुजारीको घरमा लगिन्छ। पत्रुसचाहिं पुजारीको घरको चोकमा लुकेर बस्छन्‌। आगोको उज्यालोले गर्दा प्रधान पुजारीको नोकर्नीले पत्रुसलाई चिन्छ। उसले यसो भन्छिन्‌: “तपाईं पनि . . . येशूसँगै हुनुहुन्थ्यो नि।” पत्रुस एकदम डराएर उसको कुरालाई नकार्छन्‌।

पछि “अर्की केटीले तिनलाई देखी” भनेर बाइबल बताउँछ। उनी यसो भन्छिन्‌: “यो मानिस . . . येशूसँगै थियो।” पत्रुस फेरि नकार्छन्‌। केही बेरपछि वरपरका अरू मानिसहरू पत्रुसकहाँ आएर यसो भन्छन्‌: “तिमी पक्कै पनि तिनीहरूमध्येकै हौ।”

पत्रुस आत्तिन्छन्‌। तेस्रो पटक पनि तिनी यसरी झुट बोल्छन्‌: “मैले त्यो मानिसलाई चिनेकै छैन।” त्यतिखेरै भाले बास्छ। येशूले पत्रुसलाई पुलुक्क हेर्नुहुन्छ। केही घण्टाअगाडि येशूले भन्‍नुभएको यो कुरा पत्रुस सम्झन्छन्‌: “भाले बास्नुअघि तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।” पत्रुसको मन छियाछिया हुन्छ र तिनी धुरुधुरु रुन्छन्‌। बिचरा पत्रुस!

तिमी यस्तो अप्ठ्यारो अवस्थामा पऱ्‍यौ भने नि? — स्कूलमा तिम्रो साथीहरू यहोवाका साक्षीहरूबारे कुरा गर्न थाल्छन्‌। एक जनाले यसो भन्छ: “तिनीहरू राष्ट्रिय गीत गाउँदैनन्‌।” अर्कोले यसो भन्छ: “तिनीहरू सेनामा भर्ती हुँदैनन्‌।” फेरि अर्को साथी भन्छ: “तिनीहरू ख्रीष्टियन भएर पनि क्रिसमस मनाउँदैनन्‌।” त्यसपछि अर्को साथीले सोध्छ: “तिमी यहोवाको साक्षी होइन?” तिमी के जवाफ दिन्छौ?

राम्ररी जवाफ कसरी दिने भनेर पहिल्यै तयारी गर्नुपर्छ। पत्रुस तयार थिएनन्‌। त्यसैले दबाब आउँदा तिनले झुट बोले। तर तिनी आफ्नो कामप्रति एकदमै दुःखी भए र परमेश्‍वरले तिनलाई माफी दिनुभयो।

प्रथम शताब्दीका अर्को एक जना ख्रीष्टियन, हननियाले पनि झुट बोले। तर परमेश्‍वरले उसलाई र उसकी श्रीमती सफीरालाई माफी दिनुभएन। किनभने झुट बोल्न दुवैले पहिल्यै सल्लाह गरिसकेका थिए। परमेश्‍वरले हननिया र सफीरालाई किन माफी दिनुभएन, अब बुझौं।

येशू आफ्ना चेलाहरूलाई छोडेर स्वर्ग जानुभएको दस दिनपछि यरूशलेममा लगभग ३,००० मानिसहरूले बप्तिस्मा गर्छन्‌। तिनीहरूमध्ये थुप्रै पेन्तिकोसको चाड मनाउन टाढा-टाढाबाट आएका छन्‌। अनि ख्रीष्टियन भइसकेपछि आफ्नो नयाँ विश्‍वासबारे थप कुरा सिक्न तिनीहरू अझै केही समय त्यहीं बस्न चाहन्छन्‌। त्यसैले येशूका केही चेलाले आफ्नो पैसा खर्च गरेर उनीहरूको हेरचाह गर्छन्‌।

भर्खरै बप्तिस्मा गरेकाहरूलाई मदत गर्न हननिया र सफीराले आफ्नो केही सम्पत्ति बेच्छन्‌। त्यसपछि तिनले जम्मा पैसा यति नै हो भन्दै प्रेषितहरूलाई दिन्छन्‌। तर त्यो झुट हो! तिनले केही पैसा आफ्नो लागि राखेका थिए। परमेश्‍वरले पत्रुसलाई यसबारे थाह दिनुहुन्छ। अनि पत्रुसले हननियालाई यसो भन्छन्‌: “तिमीले मानिसहरूलाई होइन तर परमेश्‍वरलाई ढाँटेका छौ।” यो कुरा सुनेर हननिया भुइँमा पछारिन्छन्‌ र मर्छन्‌। करिब तीन घण्टापछि तिनकी श्रीमती त्यहाँ आइपुग्छिन्‌। श्रीमान्‌लाई के भयो भनेर सफीरालाई थाह छैन। त्यसैले उनले पनि झुट बोल्छिन्‌ र पछारिएर मर्छिन्‌।

कस्तो राम्रो पाठ: सत्य बोल्नु महत्त्वपूर्ण छ। हामी सबैले यो पाठ सिक्नुपर्छ। हामी सबैले गल्ती गर्छौं, सानो छँदा अझ धेरै गर्छौं। पत्रुसलाई जस्तै यहोवा तिमीलाई पनि माया गर्नुहुन्छ र माफी दिनुहुन्छ भनेर थाह पाउँदा तिमीलाई खुसी लाग्दैन र? — तर हामीले सत्य बोल्नुपर्छ भनेर बिर्सनु हुँदैन। झुट बोल्यौं भने परमेश्‍वरसित माफी माग्नुपर्छ। पत्रुसले पक्कै त्यसो गरेको हुनुपर्छ, त्यसैले तिनले माफी पाए। अबदेखि झुट नबोल्न सक्दो प्रयास गऱ्‍यौं भने परमेश्‍वरले हामीलाई पनि माफी दिनुहुनेछ! (w13-E 03/01)

a केटाकेटीसँगै बसेर तपाईं यो लेख पढ्‌दै हुनुहुन्छ भने धर्सोले एकछिन रोकिन र बच्चालाई आफ्नो कुरा बताउने प्रोत्साहन दिन सम्झाउँछ।