चलनचल्तीका भाषाहरूमा “कुरा गर्ने” किताब
चलनचल्तीका भाषाहरूमा “कुरा गर्ने” किताब
जुन भाषामा किताब लेखियो त्यो भाषा नै हराएर गयो भने किताबको के नै मूल्य रह्यो र? बाइबल लेख्न प्रयोग गरिएका प्राचीन भाषा बुझ्ने मानिसहरू आज कमै होलान्। तर कालो अक्षर भैंसी बराबर भनेझैं बाइबल बुझ्न नसकिने भएको छैन। किनकि त्यसले मानिसजातिको चलनचल्तीका भाषाहरूमा “कुरा गर्न सिकेको छ।” तर यसरी बाइबललाई अरू भाषा बोल्न “सिकाउने” अनुवादकहरूले हेर्दा पारै नलाग्ला जस्तो बाधाहरू सामना नगरेका होइनन्।
एक हजार एक सय अध्याय अनि ३१,००० पदहरू भएको बाइबल अनुवाद गर्नु कम गाह्रो काम होइन। तथापि, शताब्दीयौंको दौडान समर्पित अनुवादकहरूले स्वेच्छापूर्वक त्यो चुनौतीलाई स्वीकारे। तिनीहरूमध्ये कति जना आफ्नो काममा कतिसम्म समर्पित थिए भने तिनीहरू कठिनाइ भोग्न अनि ज्यानसमेत दिन तयार थिए। वास्तवमा बाइबल कसरी मानवजातिका भाषाहरूमा अनुवाद भए भन्ने इतिहास लगन अनि चातुर्यको एउटा सिंगो कथा हो। यस प्रभावशाली विवरणको केही अंश अब विचार गर्नुहोस्।
अनुवादकहरूले सामना गर्नुपरेका चुनौतीहरू
लिपि नभएको भाषामा किताब अनुवाद गर्नुपऱ्यो भने तपाईं के गर्नुहुन्छ? बाइबल अनुवाद गर्ने थुप्रैले त्यस्तै चुनौतीको सामना गरे। उदाहरणका लागि, सा.यु. चौथो शताब्दीका उलफिलास भन्ने व्यक्तिले चलनचल्तीको तर लिपि नभएको भाषा—गथिकमा बाइबल अनुवाद गर्न कम्मर कसे। तिनले युनानी र ल्याटिन वर्णमालालाई आधार मानेर गथिक भाषाका २७ वटा अक्षरहरू आविष्कार गरे। अन्ततः, सा.यु. ३८१ मा तिनले लगभग पूरै बाइबल गथिक भाषामा अनुवाद गरे।
त्यस्तैगरि नवौं शताब्दीमा दुइ युनानी भाषी दाजुभाइ, सिरिल (खास नाउँ कन्सटनटाइन) अनि मेथोदियसले स्लोभेनियाली भाषामा बाइबल अनुवाद गर्ने सुर कसे। यी दुइ दाजुभाइ होनहार विद्वान अनि भाषाविद् थिए। तर वर्तमान स्लाभिक भाषाको पुर्खा स्लोभेनियाली भाषाको पनि कुनै लिपि थिएन। अतः बाइबल अनुवाद गर्न यी दुइ दाजुभाइले वर्णमालाको आविष्कार गरे र फलतः त्यसताक संसारका थुप्रै स्लोभेनियाली भाषीहरूसित बाइबलले “कुरा गर्न” सक्यो।
सोह्रौं शताब्दीमा विलियम टिन्डेलले मूल भाषाहरूबाट अंग्रेजी भाषामा बाइबल अनुवाद गर्न थाल्दा चर्च र राष्ट्र दुवैबाट घोर विरोधको सामना गर्नुपऱ्यो। अक्सफोर्ड विश्वविद्यालयबाट शिक्षा हासिल गर्ने टिन्डेल “हलो जोत्ने ठिटोले समेत बुझ्नसक्ने भाषामा” बाइबल अनुवाद गर्न चाहन्थे।१ तर आफ्नो लक्ष्य हासिल गर्न तिनी जर्मनी भाग्नुपऱ्यो र त्यहीं तिनले १५२६ मा अंग्रेजी भाषाको “नयाँ नियम” छपाए। यस नयाँ अनुवादका प्रतिहरू बेलाइतमा गैरकानुनी ढंगमा लुकीछिपी पठाइँदा अख्तियारमा हुनेहरू यति क्रुद्ध भए कि तिनीहरूले सार्वजनिक स्थलमा ती बाइबलहरू जलाए। पछि टिन्डेललाई विश्वासघात गरियो। घाँटी अँठ्याएर जलाउनअघि
तिनले ठूल-ठूलो स्वरमा यसो भने: “हे प्रभु, बेलाइती नरेशको आँखा खोलिदिनुहोस्।”२यी सबका बावजूद बाइबल अनुवाद भई नै रह्यो। किनकि यी अनुवादकहरूलाई कुनै कुराले रोक्न सकिएन। अतः, १८०० सम्ममा बाइबलले ६८ भाषा “बोल्न सिकिसकेको” थियो। तत्पश्चात् बाइबल सोसाइटीहरूको स्थापना हुन थालेपछि—तिनीहरूमध्ये अझ विशेषगरि १८०४ मा बेलाइती अनि विदेशी बाइबल सोसाइटी स्थापित भएपछि बाइबलले छिटछिटो थुप्रै नयाँ भाषाहरू “सिक्यो।” बाइबल अनुवाद गर्ने उद्देश्य लिएर सयौं युवकहरू मिसनरी भएर विदेशी भूमिहरूमा उत्रन राजी भए।
अफ्रिकी महादेशका भाषाहरू सिक्ने
सन् १८०० मा अफ्रिकी महादेशका लगभग एक दर्जन भाषाहरूको मात्र लिपि थियो। चलनचल्तीका अरू सयौं भाषाहरूले वर्णमालाको आविष्कार नहोउञ्जेल पर्खनुपऱ्यो। समयमा मिसनरीहरू आए र वर्णमाला वा शब्दकोशहरूको मदतबिना भाषाहरू सिके त्यसपछि घोटिघोटिकन लिपि तयार पारे अनि मानिसहरूलाई पढ्न सिकाए। कुनै दिन त्यहाँका मानिसहरूले आ-आफ्नै भाषामा बाइबल पढ्न सकोस् भनेर तिनीहरूले त्यति बिघ्न मेहनत गरे।३
स्कटल्यान्डका रबर्ट मोफट त्यस्तै एक जना मिसनरी थिए। सन् १८२१ तिर २५ वर्षको कलिलो उमेरमा मोफटले दक्षिण अफ्रिकाको स्वाना भाषी मानिसहरूबीच आफ्नो मिसन सुरु गरे। लिपि नभएको भाषा सिक्न मोफट मानिसहरूसित घुलमिल गरे र तिनीहरूसँगै जीवन बिताउन कहिलेकाहीं एक कुनादेखि अर्को कुनासम्म यात्रा गरे। “मानिसहरू दयालु थिए,” तिनले पछि लेखे, “अनि मैले अशुद्ध बोल्दा प्रायः सबै गलल्ल हाँस्थे। तैपनि, मेरो बोल्ने ढंग नक्कल गरेर अरूलाई हँसाउन सक्ने नभएसम्म तिनीहरूमध्ये कसैले कहिल्यै मेरो बोली सच्याउँदैनथ्यो।”४ तैपनि, मोफट डटिरहे र अन्ततः भाषा सिकेरै छाडे अनि लिपि पनि तयार पारे।
स्वानाहरूसित झन्डै आठ वर्षजति काम गरिसकेपछि १८२९ मा मोफटले लूकारचित सुसमाचार अनुवाद गरे। आफ्नो अनुवाद छपाउन तिनले वैलगाडा चढेर समुद्री किनारासम्म लगभग ९०० किलोमिटर लामो यात्रा गरे। त्यसपछि जहाज चढेर केप टाउन लागे। केप टाउनका गभर्नरले तिनलाई सरकारी प्रेस चलाउने अनुमति त दिए तर टाइपसेट गर्ने अनि छपाउने जिम्मा मोफट आफैले लिनुपऱ्यो। अन्ततः १८३० मा तिनले सुसमाचारको पुस्तक छपाइ छाडे। पहिलो पटक स्वानाहरूले बाइबलको एउटा अंश मात्र भए पनि आफ्नै भाषामा पढ्न पाए। सन् १८५७ मा मोफटले सम्पूर्ण बाइबल स्वाना भाषामा अनुवाद गरे।
आफ्नै भाषामा लूकारचित सुसमाचारको पुस्तक पाउँदा स्वानाहरूले कस्तो प्रतिक्रिया देखाए त्यसबारे पछि मोफटले यसरी वर्णन गरे: “सन्त लूकाका प्रतिहरू लिन मानिसहरू सयौं किलोमिटर परदेखि आउँथे। . . . मानिसहरूले सन्त लूकाको किताबलाई छातीमा लगाएर रोएको, खुशीले आँखा भरिएको मैले देखें। कतिलाई त मैले ‘भैगो अब धेरै नरोओ, नत्रता तिम्रो किताब आँसुले भिजेर खत्तम हुनेछ,’ भन्नुपऱ्यो।”५
अफ्रिकाका कतिपय मानिसहरूले सुरु-सुरुमा लिखित भाषाको आवश्यकता नदेखे तापनि मोफट जस्ता समर्पित अनुवादकहरूले गर्दा तिनीहरूले अक्षर पढ्न सके। यद्यपि, यी अनुवादकहरू अफ्रिकाका मानिसहरूलाई उनीहरूको आफ्नै भाषामा बाइबल दिनसक्नु नै सबैभन्दा अमूल्य उपहार ठान्थे। आज पूरै वा आंशिक बाइबलले झन्डै ६०० अफ्रिकी भाषाहरूमा “कुरा” गर्नसक्छ।
एसियाका भाषाहरू सिक्ने
अनुवादकहरू अफ्रिकामा लिखित भाषाहरूको विकास गर्न संघर्ष गरिरहेकै बेला पृथ्वीको अर्को भागमा अन्य अनुवादकहरू भिन्नै किसिमको चुनौतीको सामना गर्दैथिए। त्यो हो, जटिल लिपिहरू भएका भाषाहरूमा बाइबल अनुवाद गर्ने। हो, एसियाली भाषाहरूमा बाइबल अनुवाद गर्नेहरूले त्यस्तै चुनौतीको सामना गरे।
उन्नाइसौं शताब्दीको प्रारम्भतिर विलियम क्यारी अनि जशुवा मार्समन भारततर्फ लागे र थुप्रै लिखित
भाषाहरू सिके। विलियम वार्ड भन्ने मुद्रकसित मिलेर तिनीहरूले झन्डै ४० भाषाहरूमा बाइबलका केही अंशहरू भए पनि छपाए।६ विलियम क्यारीको सन्दर्भमा ग्रन्थकार जे. हर्बट केन यसो भन्छन्: “तिनले [बंगाली भाषाको] पुरानो लेखन शैलीलाई हटाएर मीठो, सरर बग्ने बोलीचालीका भाषा समेटेर नयाँ लेखनशैली विकास गरे। फलतः त्यस समयका आधुनिक पाठकहरूले आफूले बुझ्नसक्ने अनि आकर्षक भाषामा पढ्न पाए।”७त्यस्तैगरि संयुक्त राज्यमै जन्मेका, हुर्केका अर्का अनुवादक अडोनिराम जडसन बर्मा पुगे र १८१७ मा बर्मेली भाषामा बाइबल अनुवाद गर्न थाले। बाइबल अनुवाद गर्न स्थानीय पूर्वी भाषा त सिक्नैपऱ्यो। तर त्यसो गर्न कत्तिको कठिन थियो तिनको आफ्नै शब्दमा सुन्नुहोस्: ‘पृथ्वीको अर्को कुनामा बसोबास गर्ने मानिसहरूले बोल्ने भाषा सिक्न चानचुने मेहनत गरेर पुग्ने कुरा होइन। किनकि तिनीहरूको सोचाइ र हाम्रो सोचाइमा आकाश जमीनको फरक हुन्छ। अनि नता तिनीहरूको भाषा हामीले पहिले कतै कहिल्यै सुनेका हुन्छौं। अक्षर र शब्दहरू हाम्रोलागि अत्यन्त नौला हुन्छन् नै त्यसमाथि हामी विदेशीहरूलाई मदत गर्न एउटै शब्दकोश वा उल्थाकारसमेत नभएकोले रैथाने भाषा गुरुहरूको मदत लिनसमेत एक दुइ अक्षर भए पनि आफ्नै बलबर्कतमा सिक्नैपर्ने हुन्छ।’८
जडसनकै कुरा गर्ने हो भने, तिनले १८ वर्षसम्म दिनरात मेहनत गर्नुपऱ्यो। अन्ततः १८३५ मा तिनले बर्मेली बाइबलको अन्तिम अंश छपाउन भ्याए। तथापि, बर्मामा रहँदा बस्दा तिनले कम जोखिम उठाउनु परेन। अनुवादकै काममा तल्लीन हुँदा एकपल्ट जासुसी गरेको अभियोगमा झन्डै दुइ वर्षजति तिनी स्याउँस्याउँती लामखुट्टे भएको जेलमा कोचिनुपऱ्यो। अनि जेलबाट छुटेका मात्र के थिए, केही दिन नबित्दै तिनकी पत्नी र छोरी ज्वरोले थलिएर मरे।
संसारका सबैभन्दा जटिल लिखित भाषाहरूमध्ये एक, चिनियाँ भाषामा बाइबल अनुवाद गर्ने धोको बोकेर १८०७ मा २५ वर्षीय रबर्ट मरिसन चीन पुगे। काम पहाड बोक्नु सरह गाह्रो थियो त्यसमाथि दुइ वर्षजति अघि मात्र चिनियाँ भाषा सिक्न थालेको हुँदा तिनीसित चिनियाँ भाषाको ज्ञान सीमित थियो। लहरो तान्दा पहरो भनेजस्तै तिनले भाषाको सीमित ज्ञानसँगसँगै चीनलाई बाहिरी संसारदेखि टाढा राख्न खोज्ने चिनियाँ कानुनको पनि सामना गर्नुपऱ्यो। त्यसताक विदेशीलाई चिनियाँ भाषा सिकाउनु निषेध थियो र कुनै चिनियाँले विदेशीलाई भाषा सिकाएको वा विदेशीले चिनियाँ भाषामा बाइबल अनुवाद गरेको भेट्टिएमा मृत्युदण्ड पाउन सक्थ्यो।
तथापि, त्यस्ता खतरादेखि निडर तर सजग भएर मोरिसनले छिटछिटो चिनियाँ भाषा सिके। दुइ वर्षभित्र तिनले इस्ट इन्डिया कम्पनीमा अनुवादकको जागिर पनि पाइसकेका थिए। दिउँसो तिनी कम्पनीको काम गर्थे। तर लुकीछिपी बाइबल पनि अनुवाद गर्थे। पक्राउ पर्ने सम्भावना हरबखत हुन्थ्यो। चीन पुगेको सात वर्षपछि
१८१४ मा तिनले मसीही युनानी धर्मशास्त्रको अनुवाद गरेर छाप्न तयार पारे।९ अनि त्यसको पाँच वर्षपछि विलियम मिल्नेको मदत लिएर हिब्रू धर्मशास्त्र पनि अनुवाद गरे।बाइबलका लागि यो असाध्यै ठूलो उपलब्धि थियो। किनकि अब भने बाइबलले सबैभन्दा धेरै मानिसहरूले बोल्ने भाषामा “कुरा गर्न” सक्थ्यो। मोरिसन जस्ता होनहार अनुवादकहरूले गर्दा समयमा अन्य एसियाली भाषाहरूमा पनि बाइबल अनुवाद भए। आज पूर्ण वा आंशिक रूपमा एसियाका झन्डै ५०० भाषाहरूमा बाइबल उपलब्ध छ।
मानिसहरूले कहिल्यै नदेखे नसुनेको किताब अनि कतिपय स्थानमा लिपिसमेत नभएका भाषाहरूमा अनुवाद गर्न किन टिन्डेल, मोफट, जडसन अनि मोरिसनजस्ता मानिसहरूले वर्षौं मेहनत गरे अनि ज्यानसमेत खतरामा मोले? निस्सन्देह, आफ्नै महिमा वा भौतिक लाभका लागि होइन। बाइबल परमेश्वरको वचन हो र सबै मानिसजातिसित तिनीहरूको आफ्नै भाषामा बाइबलले “कुरा गर्न” सक्नुपर्छ भनेर तिनीहरू विश्वास गर्थे।
तपाईंलाई बाइबल परमेश्वरको वचन हो भनेर विश्वास नलाग्ला, त्यो अर्कै कुरा हो। तर यी समर्पित अनुवादकहरूले देखाएको आत्मत्यागी भावना आज संसारमा विरलै पाइने भावना हो भन्ने कुरामा तपाईं दुइ मत हुन सक्नुहुन्न। यस्तो निःस्वार्थ भावना जगाउनसक्ने किताब के केलाएर हेर्न योग्य नहोला?
[पृष्ठ १२-मा भएको तालिका]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
सन् १८०० यता बाइबलका केही अंशहरू अनुवाद भएका भाषाहरूको संख्या
६८ १०७ १७१ २६९ ३६७ ५२२ ७२९ ९७१ १,१९९ १,७६२ २,१२३
१८०० १९०० १९९५
[पृष्ठ १०-मा भएको चित्र]
बाइबल अनुवाद गरिरहेका टिन्डेल
[पृष्ठ ११-मा भएको चित्र]
रबर्ट मोफट
[पृष्ठ १२-मा भएको चित्र]
अडोनिराम जडसन
[पृष्ठ १३-मा भएको चित्र]
रबर्ट मोरिसन