यहोसु ५:१-१५

  • गिलगालमा खतना (१-९)

  • निस्तार चाड मनाइन्छ; मन्‍न बन्द हुन्छ (१०-१२)

  • यहोवाको सेनाका राजकुमार (१३-१५)

५  इस्राएलीहरूले यर्दन नदी पार नगरुन्जेल यहोवा परमेश्‍वरले नदीको पानी सुकाइदिनुभयो भनेर यर्दनको पश्‍चिमपट्टिका सबै एमोरी+ राजा अनि समुद्रको किनाराका सबै कनानी+ राजाले सुने। यो कुरा सुनेपछि तिनीहरू असाध्यै डराए+ अनि इस्राएलीहरूले गर्दा तिनीहरूको हौसला टुट्‌यो।+ २  तब यहोवा परमेश्‍वरले यहोसुलाई भन्‍नुभयो: “ढुङ्‌गाका धारिला हतियारहरू* बनाऊ र इस्राएलका पुरुषहरूको खतना* गराऊ।”*+ ३  त्यसैले यहोसुले ढुङ्‌गाको धारिला हतियारहरू बनाए र गिबियथ-हाअरालोथमा* इस्राएली पुरुषहरूको खतना गराए।+ ४  यहोसुले तिनीहरूको खतना गराउनुको कारण यस्तो थियो: मिश्रबाट आउँदा जति पनि पुरुषहरू लडाइँमा भाग लिन योग्य थिए,* तिनीहरू निर्जनभूमिमा यात्राको बेला मरिसकेका थिए।+ ५  मिश्रबाट आएका सबै पुरुषको खतना गरिएको थियो तर मिश्रबाट निस्केर निर्जनभूमिमा यात्रा गरेको बेला जन्मेका छोराहरूको भने खतना गरिएको थिएन। ६  मिश्रबाट निस्केपछि लडाइँमा जान सक्ने उमेरका पुरुषहरू सबैले, भनौँ भने पूरै जातिले यहोवा परमेश्‍वरको आज्ञा पालन गरेनन्‌।+ त्यसैले तिनीहरू सबै नमरेसम्म इस्राएलीहरू ४० वर्षसम्म निर्जनभूमिमा भौँतारिनुपऱ्‍यो।+ यहोवा परमेश्‍वरले दूध र मह बग्ने+ जुन देश आफ्नो प्रजालाई* दिन्छु भनेर तिनीहरूका पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको थियो,+ त्यो देश ती अनाज्ञाकारी इस्राएलीहरूले कहिल्यै देख्न पाउनेछैनन्‌ भनी यहोवा परमेश्‍वरले तिनीहरूसित शपथ खानुभयो।+ ७  त्यसैले परमेश्‍वरले तिनीहरूको सट्टा तिनीहरूका छोराहरूलाई रोज्नुभयो।+ यहोसुले उनीहरूको खतना गराइदिए किनभने यात्राको बेला उनीहरूको खतना गरिएको थिएन। ८  सबै पुरुषको खतना गरेपछि घाउ निको नभएसम्म तिनीहरूले आ-आफ्नै पालमा आराम गरे। ९  त्यसपछि यहोवा परमेश्‍वरले यहोसुलाई भन्‍नुभयो: “मिश्रीहरूले तिमीहरूमाथि थोपरेको बदनामी आज मैले हटाइदिएको छु।”* त्यसैले आजसम्म पनि त्यस ठाउँलाई गिलगाल*+ भनिन्छ। १०  इस्राएलीहरू यरिहोको मरुभूमिमा पर्ने गिलगालमै पाल टाँगेर बसिरहे अनि त्यहाँ तिनीहरूले त्यस महिनाको १४ औँ दिनको साँझ निस्तार चाड* मनाए।+ ११  निस्तार चाडको भोलिपल्टदेखि तिनीहरूले त्यस ठाउँको उब्जनी खान थाले। त्यो दिन तिनीहरूले खमिर* नहालेको रोटी+ र भुटेको अन्‍न खाए। १२  तिनीहरूले त्यस देशको अन्‍न खान थालेको दिनदेखि मन्‍न* पाइन छोड्‌यो। त्यसपछि इस्राएलीहरूले कहिल्यै मन्‍न पाएनन्‌।+ त्यस वर्षदेखि तिनीहरूले कनान देशको उब्जनी खान थाले।+ १३  एकदिन, जब यहोसु यरिहोनजिकै थिए, तब तिनले एक जना मानिस+ हातमा तरबार लिएर उभिरहेको देखे।+ यहोसुले त्यस मानिसकहाँ गएर सोधे: “तपाईँ हाम्रो पक्षमा हुनुहुन्छ कि हाम्रा शत्रुहरूको?” १४  ती मानिसले यस्तो जवाफ दिए: “म कसैको पक्षमा छैनँ। म यहोवा परमेश्‍वरको सेनाको राजकुमार* हुँ।”+ यो सुनेपछि भुईँमा घोप्टो परेर दण्डवत्‌ गर्दै यहोसुले तिनलाई भने: “यस सेवकको लागि प्रभुको आज्ञा के छ?” १५  यहोवा परमेश्‍वरको सेनाको राजकुमारले यहोसुलाई भने: “तिम्रो जुत्ता फुकाल किनकि तिमी उभिरहेको ठाउँ पवित्र छ।” यो सुन्‍नेबित्तिकै यहोसुले जुत्ता फुकाले।+

फुटनोटहरू

वा “ढुङ्‌गाका चक्कुहरू।”
शब्दावली हेर्नुहोस्‌।
शा., “दोस्रो पटक खतना गराऊ।”
यसको अर्थ हो, “खलडीहरूको डाँडा।”
वा “लडाइँमा भाग लिने उमेर पुगेकाहरू थिए।”
शा., “हामीलाई।”
शा., “गुडाइदिएको छु।”
यसको अर्थ हो, “गुडाइदिनु।”
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
वा “प्रमुख।”